दलाल संसदीय व्यवस्था टिकाउने अन्तिम प्रयास : मधेसवादी दलको ठाकुर पक्षको सरकारमा सामेली

दलाल संसदीय व्यवस्था टिकाउने अन्तिम प्रयास : मधेसवादी दलको ठाकुर पक्षको सरकारमा सामेली

काठमाडौँ : नेपालीमा एउटा प्रचलित भनाइ छ– सर्पले आधा निलिसकेको भ्यागुताले आफू अघिल्तिरबाट उड्दै गरेको झिँगा खान जिब्रो निकाल्छ रे ! नेपालको दलाल पुँजीवादी सत्ता, त्यसले सञ्चालन गरेको केपी ओली सरकारका गतिविधि र चाला हेर्दा यो भनाइ सत्य साबित भइरहेको देखिन्छ ।

मक्किएर ढल्नै लागिसकेको दलाल पुँजीवादी सत्ताको स्याहार गरिरहेका केपी ओलीले शुक्रबार मधेसी दलको एउटा चिरालाई सरकारमा सामेल गरेर सत्ता बचाउने अन्तिम प्रयास गरेका छन् तर नेपाली श्रमिक जनताको अन्तरहृदयमै वैज्ञानिक समाजवादी सत्ताको भ्रूण जन्मिइसकेकाले केपी ओली सरकारको यो कदम सत्ता जोगाउने अन्तिम असफल र व्यर्थ प्रयासभन्दा अरू बढी केही हुने देखिँदैन ।

सरकार बनाउनु, ढाल्नु, मन्त्री फेर्नु, हटाउनु सरकार र संसदीय व्यवस्थाको आन्तरिक खिचातानीको विषय हो । यो उसको मूल प्रवृत्ति पनिहो । यसप्रति नेपाली जनताको कुनै सरोकार छैन । यसले जनताको समस्याको समाधान दिने पनि हैन । जनताका मुद्दा र मागमा दलाल संसदीय व्यवस्था उत्तरदायी रहँदैन पनि । दलाल संसदीय व्यवस्थाप्रति जनताको पूर्णतः विश्वास गुमिसकेको छ । देशलाई चाहिएको सही निकास केवल जनमतद्वारा व्यवस्था चुन्न पाउनु हो ।

नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय व्यवस्था ठीक कि वैज्ञानिक समाजवादी व्यवस्था ठीक भनेर जनमतसङ्ग्रह गराउन माग गरेको छ । दुई वर्षसम्म केपी ओली सरकारको प्रतिबन्ध झेलेको नेकपा र सरकारबीच गत फागुन २१ गते तीनबुँदे सहमति भएको छ । सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरी जेल र हिरासतमा राखिएका नेकपाका सबै राजनीतिक आस्थाका बन्दी रिहा गर्ने र झूट्टा मुद्दाहरू फिर्ता लिने प्रतिबद्धता जनाएपछि नेकपाले शान्तिपूर्ण वातावरणमा आफ्ना राजनीतिक विषय जनतामा लग्ने सहमति गरेको थियो । सरकार आफ्नो प्रतिबद्धतामा दृढ नदेखिए पनि नेकपाले आफ्ना मागहरू शान्तिपूर्ण तरिकाले जनतासामु पुर्याउँदै आएको छ । शोषण, विभेद र जालझेलको सहारामा टिकेको दलाल पुँजीवादी संसदीय व्यवस्थाभन्दा समानता र सम्मानमा आधारित वैज्ञानिक समाजवाद हजारौँ गुणा सही छ भन्ने निष्कर्ष जनताले निकालिसकेका छन् । यस्तो अवस्थामा सरकारले सत्ता जोगाउन गरेका सबै षड्यन्त्र पानीका फेकासरह हुनेमा कुनै द्विविधा छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :