क्रन्तिको उर्वर भूमि रोल्पा

क्रन्तिको उर्वर भूमि रोल्पा

राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरु गरेदेखि २०१८ सालबाट ३४ जिल्लालाई ७५ जिल्ला बनाउँदा प्युठान जिल्लाको केही क्षेत्र र सल्यान जिल्लाको केही क्षेत्र मिलाई सल्यानको रोल्पा भन्ने ठाउँको नामबाट रोल्पा जिल्ला स्थापना गरियो । रोल्पाको जम्मा क्षेत्रफल १८७९ वर्गकिलोमिटर रहेको छ । समुद्री सतहदेखि ७०१ मिटरमा रहेकोे खुङ्ग्री रोल्पाको सबैभन्दा होचो भाग हो भने ३६३९ मिटर उचाइमा रहेको जलजला हिमाल रोल्पाकै सबैभन्दा अग्लो भाग हो । यही अग्लो हिमालबाट बगेको चिसो पानी माडी खोला हुँदै होचो भाग खुङ्ग्रीमा गएर अर्को लुङ्ग्री खोलासँग मिसिएर प्युठान पुग्दा मान्डबी खोला भन्निन्छ । यो प्युठान हुँदै तराईतिर जान्छ ।

२०६८ सालको जनगणनाअनुसार रोगको जनसङ्ख्या २,२४,५०६ रहेको छ । त्यसमा ४३.२१% प्रतिशत मगरहरूको बाहुल्य रहेको छ । नेपालकै पाल्पापछि मगरहरूको बाहुल्य भएको दोस्रो जिल्ला हो रोल्पा । जिल्लाको केही भागमा तराईको हावापानीको प्रभाव छ भने केही भागमा हिमाली हावापानीको प्रभाव छ । प्राकृतिक दृष्टिकोणले विविधता भएपछि त्यसको प्रभाव अन्य जीवजन्तु र रूखबिरुवामा पर्ने नै भयो । रोल्पा भौगोलिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको जिल्ला हो ।

रोल्पा जिल्ला बन्नुभन्दा पहिले जतिबेला नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भयो त्यति बेलादेखि क्म्युनिस्ट विचार राख्ने जनता थिए भन्ने कुरा प्रमाणित छ । २०१७ सालमा राजा महेन्द्रको कुका विरुद्ध पनि यहाँका जनताले आवाज उठएका थिए । त्यस्तै २०३८ सालमा चुनाव बहिष्कार गर्नु, २०४६ सालको आन्दोलनमा सक्रिय सहभागी हुनु, २०३६ सालको जनमतसङ्ग्रहमा सुधारिएको पञ्चायतका विरुद्ध जानु आदि हुन् ।

इमानदार, आँटिलो, आत्मबिश्वासी र विद्रोही स्वभाव भएका रोल्पालीले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गर्दा युगीन अभिभारा निर्वाह गर्यो । जलजला पहाडमा युद्धको तयारी घनीभूत तरिकाले गर्दै गाउँगाउँमा जाली, फटाहा, शोषक र सामन्तहरूको सम्पत्ति सेबोटेज र उनीहरूलाई सफाया गर्दै जाँदा आगोको झिल्को देशभर सल्कियो । राजा र राज्यको निद्रा समाप्त भयो । दार्बोट अप्रेसन, सर्च एन्ड डिस्ट्रोय, किलोसेरा टु अप्रेसनजस्ता विभिन्न अप्रेसनद्वारा राज्यले दमनको केन्द्र रोल्पालाई बनायो । रोल्पालीदेखि राज्य कति धेरै आतङ्कित भयो भने रोल्पाली जनता त माओवादी हुने नै भए, ढुङ्गा, माटो, कुकुर, बिरालो सबैथोक माओवादी भनेर रोल्पालीलाई दमन, हत्या, हिंसा, अमानवीय व्यवहार गर्दै गयो । रोल्पाली झन्झन् स्पात बन्दै गए । बलिदानीको कोटा पूरा गर्दै गए । चिनियाँ क्रान्तिको एनानजस्तै महान् दसर्बुे जनयुद्धको उद्गम स्थल रोल्पा बन्यो । उद्गम स्थलका लागि त्यही स्तरको उच्च त्याग, तपस्या र बलिदानी गर्यो । रोल्पालीले आफ्नो मुक्तिका लागि सचेततापूर्वक पहलकदमी लिएकाले पार्टीको आदेशको पूर्ण रूपमा पालना गर्ने क्रममा रोल्पाबाट सयौँको सङ्ख्यामा बाहिरी जिल्लामा गएर पनि महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए ।

रोल्पाले एउटै गाविस जेलबाङबाट ७३ जनाको बलिदान गर्यो । देशकै सबैभन्दा बढी ३२३ जना महिलाको सिन्दुर पुछियो । ६३९ जना बालबालिका जनयुद्धका कारण टुहुरा भए । नेपालकै सबैभन्दा बढी ९६७ जना सहिद जन्मायो भने ३३ जनाका परिवारले उनीहरूको न ज्यान देखेका छन् न चिहान देखेका छन् । सयौँ घाइते छन् भने सयौँले दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थाका विरुद्ध सर्वहारा वर्गको सत्ता र वैज्ञानिक समाजवाद ल्याउने अभियानमा हातखुट्टा दान गरेका थिए तर विडम्बना ! जनयुद्धको मुख्य नेतृत्वले हजारौँ सहिद, सयौँ बेपत्ता, सयौँ घाइते, अपाङ्ग र लाखौँ रोल्पाली जनताको योगदानलाई धोका दिँदै शान्ति र संविधानसभाको नारा दिदै जनयुद्धलाई विसर्जन गर्यो ।

२०६४ सालको संविधानसभाको पहिलो चुनावमा रोल्पा २ नं क्षेत्रबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनताले अत्यधिक मतले विजयी बनाए । जनयुद्धको बढी समय जलजलाको काखमा बसेका प्रचण्ड, बादल र रोल्पाली केही मुठीभर नेताहरू जलजलाको हिउँ पग्लेको पानीसँगै माडी, माण्डबी हुँदै सहर पसेपछि सहरको रङ्गीचङ्गी वातावरणमा रनभुल्ल भए । सहरमै महल, खेतबारी बनाउँदै गए । सत्ता आएपछि नेपाललाई स्विजरल्यान्ड बनाउँछौँ भन्नेहरूले स्विजरल्यान्ड र दुबईमा अवैध पैसा लुकाए । नेपालमै रोजगारीको सुनिश्चितता गर्छौं भन्नेहरूले खाडी मुलुकहरूसँग नयाँ श्रम सम्झौता गरे । त्यस्तै जनयुद्धको बेला आफू र जनताको सुरक्षा दिने जनमुक्ति सेनालाई सरकारी सुरक्षाकर्मी प्रयोग गरेर घेरा हाल्दै र अपमानित गर्दै घर लखेटे । बुर्जुवा शिक्षाको काम छैन भन्दै जनयुद्धमा सहभागी बनाए तर त्यही बुर्जुवा प्रमाणपत्र नभएको कारण सेना समायोजन हुँदा अयोग्य बनाइयो । व्यवस्था बदल्ने सपना बोकेर युद्धमा खिएर बाँकी रहेको हाड र छाला बोकेर धेरैजसो योद्धा खाडी मुलुकमा छन्, केही घाइते योद्धाहरूको शरीर खाटमा छ, केही योद्धाहरू रक्सीभट्टीमा बस्न बाध्य छन् ।

रोल्पालीहरू कम्युनिस्ट हुन्डरी होइनन्, कम्युनिस्ट हुन् । अवसरवादी होइनन्, माक्र्सवादी हुन् । प्रतिक्रान्तिकारी होइन, क्रान्तिकारी हुन् । त्यसैले जनयुद्धपछि जनयुद्धको लक्ष्य, उद्देश्य र प्राप्त उपलब्धिमाथि धोका पाएपछि माओवादी पार्टीको मूल प्रवाहको नेतृत्व गरेको रोल्पाली कम्युनिस्ट माटोले उत्पादन गरेको विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा लामबद्ध भएका छन् । लेनिन र माओले प्रतिपादन गरेको कार्यनीति र रणनीतिहरूको सार्वभौम नियमहरू र नेपाली विशिष्टताका आधारमा निर्माण भएको एकीकृत जनक्रान्तिको कार्यदिशा छ । जुन कार्यदिशा नेपाली समाज विज्ञानको प्रयोगशालामा अहिलेसम्म ठीकठीक नतिजा आएको छ । अन्तिम नतिजा पनि ठीक आउनेमा रोल्पालीलाई विश्वास छ । उहिले आफूहरूलाई जसले प्रतिबन्ध लगायो त्यही व्यक्ति केपी ओली र शेरवहादुर देउवासँग मिलेर प्रचण्डले आफूले पूरा गर्न नसकेको काम पूरा गर्न खोज्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई विध्वंसात्मक गतिविधि गरेको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउँदा रोल्पालीहरूमा झन् बढी आक्रोश पैदा भयो । पूर्णकालीन नेता–कार्यकर्ताहरूको सङ्ख्या वृद्धि भयो । झूट्टा मुद्दा लगाएर ३९ जना नेता–कार्यकर्ता गिरफ्तार गरी विचारबाट आत्मसमर्पण गराउन खोज्दा केही व्यक्तिवाहेक सबैजनाले जेल–हिरासतको मोर्चामा जित्नुभएको छ । सयौँ नेता–कार्यकर्ताहरूको नाममा पक्राउ पुर्जी टाँसियो । अहिले पनि फरार सूचीमा राखिएको छ ।

जनयुद्धको पाँच हजार डिग्री तापक्रमको भट्टीमा खारिएका नेता–कार्यकर्ता र जनतालाई पाँच सय डिग्री तापक्रमको प्रतिबन्ध सामान्य भयो । जनताका आवाजहरूमा प्रतिबन्ध लगाएर आफ्नो शासनसत्ता लम्ब्याउने सूत्र राणाहरू, राजा महेन्द्रदेखि ज्ञानेन्द्रसम्म आउँदा पटकपटक प्रयोग गरेर फेल भयो । त्यही सूत्र फेरि केपी ओली र प्रचण्डले प्रयोग गर्दा सफल हुने थिएन र भएन । पार्टीमाथि प्रतिबन्ध लगाएपछि सबै कम्युनिस्ट पार्टीहरू, काङ्ग्रेस, जसपा, राप्रपा, रणनीतिक संयुक्त मोर्चा, २३ दलीय मोर्चा, नागरिक अगुवा, बुद्धिजीवीलगायत नेपाली नागरिकको दबाबका कारण राज्य र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीनबुँदे सहमतिअनुसार तेस्रो बुँदाको पहिलो बुँदा कार्यान्वयन भएको छ । प्रतिबन्ध फुकुवा भएको छ । बाँकी बुँदाहरू यथाशीघ्र कार्यान्वयन हुन्छ भन्नेमा रोल्पालीलाई बिश्वास छ । कार्यान्वयन भएन भन्ने राज्यका मालिकहरूले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । विज्ञानको प्रयोगशालामा रसायन उत्पादन गर्दा उत्पादन भएको काम नलाग्ने वस्तु (बाइप्रोडक्ट) उत्पादन भएजस्तै उर्वर खेतबारीमा खेती गर्दा खेतीसँगै झरपात उम्रिएजस्तै बाइप्रोड्क्ट, झारपात र दलाल पुँजीवादका पनि दलालबाहेक सबै अहिले नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको संसदीय सरकारको ठाउँमा प्रगतिशील संयुक्त सरकार र दलाल पुँजीवादी सत्ताको ठाउँमा जनमतसङ्ग्रहद्वारा वैज्ञानिक समाजवाद स्थापना गर्न राजनीतिक कार्यनीतिले देशबासीलाई आकर्षण गर्दै महाध्रुवीकरणको बाटोमा अगाडि बढिरहेको छ । यो राजनीतिक कार्यनीतिको रोल्पामा व्यापक रूपमा सकारात्मक प्रभाव पर्ने सङ्केतहरू देखिएको छ । सामूहिकता, एकरूपता, इमानदारी, पौरखी, विद्रोहि, न्यायप्रेमी, क्रान्तिप्रेमी रोल्पालीको पहिचान हो । जसरी जलजला पहाडमा परेको हिउँ पग्लेर बनेको पानी बगेर तराई पुगे पनि जलजला पहाड सधैँ अटल, स्थिर, अडिग र विराजमान भएजस्तै केही मुठीभर मान्छेहरू बगेर तराई हुँदै भारत पुगे पनि रोल्पालहरू वैज्ञानिक समाजवाद स्थापना भएर जबसम्म सहिदहरूको रगतले सार्थकता पाउँदैन, सम्पूर्ण उत्पीडित र श्रमिक जनताले पूर्ण मुक्ति प्राप्त गर्दैनन्, तबसम्म क्रान्तिकारीहरूको आस्थाको केन्द्र रोल्पा बनिरहनेछ । क्रान्तिको बिउ रोप्ने र देश तथा विदेशमा फैलाइरहने उर्वर भूमि रोल्पा बनिरहनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :