शिक्षा, स्वास्थ्य र दैनिक उपभोग्य वस्तु सहज बनाऊ : अखिल क्रान्तिकारी

शिक्षा, स्वास्थ्य र दैनिक उपभोग्य वस्तु सहज बनाऊ : अखिल क्रान्तिकारी

चितवन : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले शिक्षा, स्वास्थ्य र दैनिक उपभोग्य वस्तु सहज गराउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा आज ६ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले माग सम्बोधनका साथ कार्यावन्यन गर्न आफूहरू तत्पर रहेको बताएका छन् ।

संयोजक देवशमशेर लामा ‘रेम्बोर्जे’, केन्द्रीय सदस्य अटल शर्मा र जिल्ला सचिवालय कोपिला अधिकारीको नेतृत्वमा अखिल (क्रान्तिकारी) ले बुझाएको ज्ञापनपत्रको पूर्ण पाठ यसप्रकार छ :

हाम्रो महान् तथा गौरवशाली सङ्गठन अखिल (क्रान्तिकारी) ले आफ्नो स्थापनाकालदेखि नै नेपालको समग्र शैक्षिक पुनर्संरचना, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरूमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको कुरा सर्वविदितै छ ।

कोरोना महामारीको दोस्रो लहर पूरै देशमा फैलिएको छ । धेरै सङ्ख्यामा सङ्क्रमितहरू अक्सिजनको कमी, अस्पतालमा बेडको अभाव, आवश्यक औषधी तथा स्वास्थ्य सेवाको अभावमा मृत्युको सिकार भएका छन् । देशमा जटिल स्वास्थ्य सङ्कट पैदा भएको मात्र छैन, नागरिकता संशोधन विधेयक ऐनले राष्ट्रिय सुरक्षामा समेत गम्भीर चुनौती खडा भएको छ । भ्रष्टाचार, कालोबजारी, महँगी चरम सीमामा पुगेको छ । यो अवस्था उत्पन्न हुनुमा वर्तमान केपी सरकार जिम्मेवार रहेको छ ।

यसै सन्दर्भमा हाम्रो सङ्गठनका तर्फबाट सम्बंन्धित निकायहरूलाई यस सङ्कटको घडीमा जिम्मेवार, जबाफदेही र कर्तव्यबोध गराउन निम्नमागहरूसहित यो ज्ञापनपत्र पेस गर्दछौँ । यस सन्दर्भमा हाम्रा मागहरूबारे यथाशीघ्र गम्भीर छलफल गरी पहलकदमी लिन अनुरोध गर्दछौँ :

१).वर्तमान सरकारको आपराधिक लापरबाही र कुशल व्यवस्थापनको कमीले जनता मृत्युको मुखमा धकेलिएका छन् । यस्तो सङ्कटको घडीलाई पनि नाफा कमाउने अवसर बनाई अनैतिक र अमानवीय तरिकाबाट चितवनका निजी अस्पतालहरूले बिरामीहरूबाट दसौँ लाख रकम असुल गरिरहेको जनगुनासो आएको हुँदा त्यस्ता अस्पतालका मालिकहरूलाई कारबाही गरी सङ्क्रमितहरूको निःशुल्क उपचार गर्न जोडदार माग गर्दछ ।

२).चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालमा आवश्यक डाक्टर र स्वास्थ्यकर्मीको अभाव, स्वास्थ्य सामग्री तथा औषधीको अभाव हुँदासमेत मौन बस्ने सम्बन्धित प्रशासन नै भ्रष्टाचारमा डुबेको भन्ने व्यापक जनगुनासो आएकाले छानबिन गरी स्वास्थ्य समस्या हल गर्न र दोषीमाथि कारबाही गर्न हाम्रो सङ्गठन जोडदार माग गर्दछ ।

३).यो महामारीको समयमा कृत्रिम अभाव खडा गरी जनताको दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गर्ने, कालोबजारी गर्ने व्यापारी र नाफाखोरहरूलाई तत्काल कारबाही गर्न माग गर्दछ ।

४).दैनिक ज्यालादारी गरेर पेट पाल्ने श्रमिकहरूका लागि राहत प्याकेज तत्काल घोषणा गरियोस् र सम्पूर्ण जनताको खाद्य सम्प्रभुता सुनिश्चित गरियोस् ।

५).कोरोना महामारीको समय अवधिको सम्पूर्ण शुल्क तत्काल मिनाहा गर्न र सङ्कटको घडीमा चितवनका केही ठूला शिक्षण संंस्थाहरूले सम्बन्धित प्रशासनलाई प्रभावमा पारी अभिभावक र विद्यार्थीहरूलाई दबाब दिई विभिन्न माध्यमबाट शुल्क असुल गर्ने कार्य गरिरहेकाले त्यस्ता शैक्षिक संस्थाका मालिकहरूलाई तत्काल कारबाही गर्न जोडदार माग गर्दछ ।

६) .कोठाभाडामा बसेका विद्यार्थीलाई सम्बोधन हुने गरी राहत प्याकेज घोषणा गरियोस् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :