गोदावरीका तीस घरपरिवारलाई मास्क र सेनिटाइजर

गोदावरीका तीस घरपरिवारलाई मास्क र सेनिटाइजर

ललितपुर : नेकपा ललितपुरले कोरोना महामारीविरुद्धको जनसचेतना, जनसहयोग एवम् हातेमालो अभियान जारी राखेको छ । प्राप्त समाचारअनुसार जेठ १५ गते गोदावरी नपा ७ देवीचौर, कटुवालका ३० घरपरिवार किसानलाई मास्क र सेनिटाइजर वितरण गरिएको छ ।

नेकपाका जिल्ला नेता भीमसेन घिमिरे ‘विपीन’ को प्रमुख आतिथ्य, अभियान सहआयोजक जिरे खुर्सानी कृषि सहकारी संस्था लि.का अध्यक्ष सरस्वती बन्जाराको अध्यक्षता र सस्थाकै प्रतिनिधि सौरभ बन्जाराको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपा नेता विपीन, गोदावरी ७ का नेपाली काङ्ग्रेसका नेता गिरिप्रसाद तिमल्सिना र सहकारीका कोषाध्यक्ष राजकुमार परियारले जनचेतनामुलक मन्तव्य राखेका थिए ।

विपीनले भने, ‘पार्टीको नीतिअनुसार महामारीबाट आहत जनतालाई सक्दो सेवा गर्ने उद्देश्यले यसखाले अभियान सञ्चालन गरेका हौँ । दलाल पुँजीवादी संसदीय व्यवस्था र त्यसअन्तर्गतको सरकार कोरोना नियन्त्रण एवम् रोकथाम गर्न पूर्णतः असफल भएको छ । कोरोना महामारीका कारण जनस्वास्थ्यमा भयावह सङ्कट पैदा भएको बेलामा समेत सरकार र संसद्वादी पार्टीहरू कुर्सीको घृणित खेलमा रमाइरहेकाले जनतामा वितृष्णा उत्पन्न भएको छ । अब यसखाले जनविरोधी व्यवस्था र शासकहरूलाई फालेर वैज्ञानिक समाजवाद स्थापना गर्न अगाडि बढ्नुपर्ने वस्तुगत आवश्यकता पैदा भएको छ ।’

अभियान आरम्भ गर्दै जेठ ११ गते ललितपुर जिल्लाको गोदावरी नपा वडा नम्बर ५ काभ्रेमा २० किसान परिवारलाई स्वास्थ्य सुरक्षाका अत्यावश्यक सामग्री मास्क, सेनिटाइजर र पन्जा वितरण गरिएको थियो ।

अभियानकै क्रममा जेठ १३ गते गोदावरी नपा १३ स्थित बज्रबाराहीमा १४ घरपरिवारलाई स्वास्थ्य सामग्री वितरण गर्दै जनसचेतना प्रवाह गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :