अन्तिम सास रहेसम्म हामी साम्यवादमा पुग्ने बाटोमा हिँडिरहन्छौँ

नेकपा नेता सुदर्शनले जेलबाट सहिद इच्छुकलाई सम्झिँदै भने

अन्तिम सास रहेसम्म हामी साम्यवादमा पुग्ने बाटोमा हिँडिरहन्छौँ

सन्दर्भ : २० औँ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस

काठमाडौँ : नख्खु कारागारमा रहेका आस्थाका बन्दीले महान् सांस्कृतिक सहिद कृष्ण सेन ‘इच्छुक’ को २० औँ स्मृति तथा सांस्कृतिक बलिदान दिवस भव्यतापूर्वक सम्पन्न गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले कृष्ण सेन ‘इच्छुक’ बहुआयामिक व्यक्तित्वका धनी भएको र उहाँ साम्यवादी राजनीतिक नेता, जनताका प्रिय कवि तथा साहित्यकार र जनपत्रकार भएको बताए । उनले भने, ‘विक्रम संवत्अनुसार तीसको दशकबाट उहाँ साम्यवादी राजनीतिक जीवनमा प्रवेश गर्नुभएको थियो । त्यही दशकबाटै आफ्नो कवितायात्रा पनि सुरु गर्नुभएको थियो । राजतन्त्रात्मक पञ्चायती व्यवस्थामा साम्यवादी राजनीति गर्नु र विद्रोहका कविता लेख्नु भनेको फलामका चिउरा चपाउनुसरह थियो तर उहाँलाई राजतन्त्रात्मक पञ्चायत र राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्थाले उहाँकै शब्दमा ‘हिँड्न त हिँड तर यो बाटो नहिँड’ भने तर उहाँ त्यही साम्यवादी बाटोमा हिँड्नुभयो । शासकहरूले ‘लेख्न त लेख तर यो गीत र कविता नलेख’ भने तर उहाँले शोषण, उत्पीडनबाट निस्केका विद्रोहका आवाजहरू लेख्नुभयो उहाँको कलमले कविताका आग्नेय अक्षर मात्र लेखेन, बरु कविताका प्रेरक र स्रोत उत्पीडित जनसमुुदायलाई सडकमा उतार्यो र जनयुद्धको मोर्चामा अघि बढायो । यही कारणले गर्दा जनताको वैरी राजतन्त्रात्मक संसदीय व्यवस्थाले २०५९ साल जेठ ६ देखि १३ गतेसम्म काठमाडौँको महेन्द्र पुलिस क्लबमा तड्पाईतड्पाई हत्या गर्यो ।’

नेकपा नेता सुदर्शनले अगाडि भने, ‘उहाँको त्यो विद्रोहको आवाज घन्किरहेको छ । हामी त्यही बाटोमा हिँडिरहनेछौँ, हामी त्यही कविता लेखिरहनेछौँ र हामी त्यही गीत गाइरहनेछौँ । तर दुःखको कुरा, आज त्यही बाटोमा हिँडेका केही यात्रीहरू, केही कविहरू र केही गायकहरू उही बाटोमा फर्केका छन्, इच्छुकको बीभत्स हत्या गर्ने हत्याराहरूको बाटोमा हिँडेका छन् । प्रिय साम्यवादी नेता, कवि र पत्रकार इच्छुक, हामी कसम खान्छौँ– अन्तिम सास रहेसम्म हामी भने त्यही साम्यवादमा पुग्ने बाटोमा हिँडिरहन्छौँ । त्यही तपाईंको विद्रोही गीत गाइरहन्छौँ र तपाईंको सपना पूरा गर्दछाैँ ।’

नेकपा नेता सुदर्शनले भने, ‘आदरणीय जनसमुदाय र बाटो बिराएका इमानदार साथीहरू, तपाईंहरूले इच्छुकलगायत दस हजारभन्दा बढी आफ्नो जीवनको आहुती दिने वीर–विराङ्गनाहरूलाई स्मरण गर्नुभएको छ भने हामी त्यही बाटो हिँडौँ, त्यही गीत लेखौँ र जतिसुकै कठिन उकालो भए पनि विज्ञानको शिखरमा पुग्ने आँट गरौँ । जनताको रगतपसिनामा होली खेलेर कुकुरको मृत्यु मरेर कुहिनुभन्दा कृष्ण सेनको जस्तो गर्विलो मृत्युवरण गर्ने आँट गरौँ । होइन भने सहिदको रगत रक्तबीज बनेर करोडौँ उत्पीडित जनसमुदायमा रूपान्तरण हुँदैछ । आज कोरोना भाइरसबाट तड्पिरहेका जनता र मृत्युवरण गरिरहेका मानिसहरूको उपहास गर्दै इतिहासले निर्मम सजाय दिनेछ । अनि मात्र कृष्ण सेनलगायत हजारौँ सहिदहरूको सपना साकार हुनेछ ।’

कार्यक्रमका अर्का वक्ता रामकृष्ण शर्माले भने, ‘इच्छुक बहुआयामिक प्रतिभाका धनी हुनुुहुन्थ्यो । त्यसमा पत्रकारिताको पाटोले मलाई भावनात्मक रूपमा पनि जोडेको छ । आज हामीले उहाँलाई सम्झँदा उहाँ व्यक्तिको चर्चा–परिचर्चा गर्ने र व्यक्तिको खेदो खन्ने पत्रकार होइन, बरु समग्र देश र जनताका साथै आवाजहीनहरूको आवाज उठाउने पत्रकार हुनुहुन्थ्यो । उहाँको कलम बन्दुकभन्दा धेरै बलवान् थियो । इच्छुकको हत्या भनेको आवाजहीनहरूको आवाजको हत्या हो । त्यसैले कृष्ण सेन ‘इच्छुक’ जनताका बीचमा अमर हुनुहुन्छ ।’

इच्छुकलगायत सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गरिएको कार्यक्रममा खिकाप्रसाद तिमिल्सेना, प्रेम विक, आदित्यकुमार झा, खगेन्द्र थापा, लोकेन्द्र खड्का, कुलबहादुर राई, बुद्धिलाल श्रेष्ठ, रामबहादुर दर्जीलगायतले इच्छुकप्रति समर्पित कविता वाचन गरेका थिए ।

सूर्य तिमिल्सेनाको अध्यक्षता र रामकृष्ण खतिवडाको उद्घोषणमा सम्पन्न कार्यक्रमको स्वागत भाषण वीरेन्द्र कोलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :