सहिदहरूको स्मृतिमा द्वीप प्रज्वलन

सहिदहरूको स्मृतिमा द्वीप प्रज्वलन

अर्घाखाँची : अखिल (क्रान्तिकारी) अर्घाखाँचीले प्रज्वल शाहीलगायत महान् सहिदहरूको स्मृतिमा द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । अखिल (क्रान्तिकारी) अर्घाखाँचीले सङ्गठनका केन्द्रीय सदस्य प्रज्वल शाहीको दोस्रो स्मृति दिवसका अवसरमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा द्वीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको जानकारी जिल्ला सचिव गिरिजा खड्काले दिए ।

नेपाल कम्युनिस्ट पार्टीले निरन्तर दलाल संसदीय व्यवस्थाको विकल्पमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने उद्देश्यसहित सङ्घर्ष गरिरहेको बेला केपी ओली सरकारले २०७५ साल फागुन २८ गते नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धविरुद्ध नेकपाले निरन्तर सङ्घर्ष गरिरहेको बेला सरकारले नेकपाका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र तीर्थलाई गोली हानी निर्ममतापूर्वक हत्या गरेको विरोधमा नेपाल बन्दलगायत सङ्घर्ष गर्दै आएको थियो । त्यसको प्रतिरोधमा नेकपाले आह्वान गरेको २०७६ जेठ १३ गतेको नेपाल बन्दको पूर्वसन्ध्यामा महान, प्रज्वल शाही, निरन्तर, दीपेन्द्र र उपचारका क्रममा केही दिनपछि राजकुमार श्रेष्ठको सहादत भएकोे थियो ।

प्रज्वलन कार्यक्रममा सम्बोधन गर्दै अर्घाखाँचीका जिल्ला इन्चार्ज नवीन खड्काले सङ्गठनका केन्द्रीय सदस्यलगायत एकीकृत जनक्रान्तिका १२ जना सहिदले देखाएको बाटो र सपनामा कति पनि विचलित नभई निरन्तर क्रान्तिमा लामबद्ध हुने र वैज्ञानिक समाजवाद ल्याएरै छोड्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त घटनामा घाइते भएका रविनलगायत योद्धाहरूको स्वास्थ्यलाभको कामना गर्दै उनले सरकारले झूट्टा मुद्दा खारेज गरी बिनासर्त तुरुन्त रिहा गर्न पनि माग गरे ।

आफ्नो सङ्गठन सधैँ आमजनता र विद्यार्थीका बीचमा रहेको भन्दै उनले जस्तोसुकै सङ्कटको बेला पनि आफ्नो सङ्गठन अरुको जस्तो टुलुटुलु हेरेर नबस्ने बताए ।

दलाल संसदीय व्यवस्था असफल भएको र विकल्पमा संसद् विघटन, पुनः स्थापना वा मध्यावधि चुनावले देश र जनताको हित नगर्ने प्रस्ट पार्दै उनले दलाल संसदीय व्यवस्था कि वैज्ञानिक समाजवाद भन्ने विषयमा व्यवस्था चुन्ने अधिकार जनतालाई जनमतसङ्ग्रहमार्फत दिनुपर्ने धारणा राखे ।

उक्त कार्यक्रमको सञ्चालन जिल्ला उपाध्यक्ष पदम नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :