सुकुमबासीमाथि भएको दमनसविरुद्ध सङ्घर्षमा उत्रिने नेकपाको चेतावनी

सुकुमबासीमाथि भएको दमनसविरुद्ध सङ्घर्षमा उत्रिने नेकपाको चेतावनी

झापा : नेपाल कम्युनिस्ट पार्टी झापाले दमकमा सुकुमबासी बस्तीमाथि भएको दमनको निन्दा गर्दै प्रतिरोध गर्ने चेतावनी दिएको छ ।

यही जेठ १० गते दमक नगरपालिका वडा नं. ७ स्थित पञ्चमुखी टोलको सुकुमबासी बस्तीमा मेयर रोमनाथ ओली र वडाध्यक्ष भीम पौडेलको प्रत्यक्ष संलग्नता एवम् जिल्ला प्रशासन कार्यालयको निर्देशनमा गरिएको दमनप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै जिल्ला सचिव प्रशान्तले प्रेस विज्ञप्तिमार्फत चेतावनी दिएका हुन् ।

कोरोनाको दोस्रो चरणले देशैभरि निषेधाज्ञा जारी रहेको अवस्था रहेको, श्रमजीवी जनताले दैनिक गुजाराका लागि सङ्कट झेलिरहेको परिस्थिति रहेको र दलाल राज्यसत्ता यसको निकासको सट्टा उल्टो पाल टाँगी कष्ट साथ बसिरहेका सुकुमबासीहरूमाथि आफ्नो शक्ति दुरुपयोग गर्दै बस्ती उठाउने काममा लाग्नुले आफूले बनाएको कानुनको पनि धज्जी उडाएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्तो संवेदनशील अवस्थामा राज्यको निकृष्ट रबैयाप्रति हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ । दलाल सरकारका प्रतिनिधि राज्यका विभिन्न निकायमा रही जनतालाई दमन गर्ने र भ्रष्ट, दलालहरूलाई संरक्षण गर्ने खेलमा व्यस्त रहेका छन् । यसैको निरन्तरता दमकका सुकुमबासीहरूमाथि पटकपटक भएको अमानवीय आक्रमणको शृङ्खलाले पुष्टि गरेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘दमक नगरपालिकाका सुकुमबासीहरूमाथि भएको दमनको पटकपटक हाम्रो पार्टीले चेतावनीसँगै सङ्घर्ष समेत गरिरहेको सर्वविदितै छ । जनस्तरबाट हुने गरेका सङ्घर्षको दमक नगरपालिकाले बेवास्ता गर्दै विभिन्न समयमा चाल्ने कदम आगामी दिनहरूमा बन्द नगरे हाम्रो पार्टी थप सङ्घर्षमा उत्रिन बाध्य हुनेछ । सङ्घर्षबाट पैदा हुने विषम परिस्थितिको जिम्मेवार दमक नगरपालिका नै हुने कुरा हाम्रो पार्टी यसै विज्ञप्तिमार्फत सूचित गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :