दलित मुक्तिको दार्शनिक आधार

दलित मुक्तिको दार्शनिक आधार

दर्शन प्रकृति र मानव समाजलाई हेर्ने, बुझ्ने र जीवन–जगत्को व्याख्या गर्ने विश्वदृष्टिकोण हो । दर्शनले संसारलाई बुझ्न र बदल्न मदत गर्छ । त्यसअनुरूप नै मानवीय धारणा र जीवन व्यवहार निर्धारण हुन्छ । दर्शन ग्रिक भाषाको फिलोस–सोफिया (प्रेम र विवेक) बाट अङ्ग्रेजीमा फिलोसफी र संस्कृतको दृश धातुबाट दर्शन शब्द बनेको हो । यसको शाब्दिक अर्थ अङ्ग्रेजीमा बौद्धिक ज्ञानप्रतिको अभिरुचि र संस्कृतमा कुनै कुरालाई हेर्ने वा बुझ्ने सबाल हो । व्यवस्थित रूपमा करिव तीन हजार, पच्चीस सय वर्षअघि युनानबाट मानव दर्शन प्रारम्भ भएको पाइन्छ । पाइथागोरसले पहिलोपटक दर्शन शब्दको प्रयोग गरेका थिए । अरस्तुले दर्शनलाई परम तत्वको वास्तविक स्वरूपको जाँच गर्ने विज्ञान भनेका छन् । अर्का दार्शनिक कामटेले दर्शन विज्ञानको पनि विज्ञान हो भनेका छन् । हेगेलले दर्शनलाई सत्यको संज्ञान भनेका छन् । एङ्गेल्सले चिन्तन र सत्ताको सम्बन्ध भनेका छन् ।

लेखक : हरि नेपाली

दर्शनका यी परिभाषाबाट यसको क्षेत्र कति व्यापक छ भन्ने प्रस्ट हुन्छ । सम्पुर्ण जीवन र जगत्को अन्तरसम्वन्धका बारेमा, पदार्थ र चेतनाको सम्बन्ध, प्रकृति र समाज, ज्ञानविज्ञान, सत्य, विकास र परिवर्तनका नियमहरूको समग्रता नै दर्शनको क्षेत्र हो । दर्शनको प्रश्न पदार्थ र चेतना अथवा चिन्तन र सत्ताको, ज्ञात वा अज्ञातताको प्रश्न हो । समाजको वास्तविकता बुझ्नु र रूपान्तरणका लागि मार्गदर्शन गर्नु नै दर्शनको मूल ध्येय हो । दर्शनको क्षेत्र व्यापक भएकाले पनि होला दार्शनिकहरूले विभिन्न ढङ्गले आआफ्नै व्याख्या गरे पनि दर्शनका मुख्य दुई ध्रुव छन् :

(१) भौतिकवाद र (२) अध्यात्मवाद

(१) भौतिकवाद

भौतिकवादी दर्शनले पदार्थ अन्नत छ, यसको निर्माणमा कुनै अदृश्य शक्तिको हात छैन भन्ने दृष्टिकोण राख्छ । यसले चेतना, बाहिरी वस्तुबाट मानव–मस्तिष्कमा हुने परिवर्तनको रूप हो भन्ने मान्छ । हाम्रो सोच, विचार र चिन्तन जतिसुकै उच्चस्तरको भए पनि यो पदार्थकै उपज हो भन्ने निष्कर्ष हो । स्टिफन हकिङले चेतना धर्मबाट हैन, ब्रह्माण्ड विज्ञानका नियमहरूले नियन्त्रित छ भनेका छन् । दर्शनका यी वैज्ञानिक खोज–अध्ययन, अनुसन्धान र परीक्षणबाट करिव साढे तेह्र अर्ब वर्षपहिले यो ब्रह्माण्डको उत्पत्ति हुँदा पृथ्वी एक आगोको गोलाजस्तै तातो थियो । विविध रासायनिक र प्राकृतिक परिवर्तनसँगै वनस्पति, बोट, बिरुवा र ३.८ अर्ब वर्षअघि जीव विकसित भएको वैज्ञानिकहरूको निष्कर्ष छ । हामी प्रकृतिका अन्य प्राणी, जनावरजस्तै केबल एक प्राणी हौँ । अरू प्राणीभन्दा मान्छेको वंशजले केही फरक क्रियाकलाप देखाएको २०–२५ लाख वर्ष भयो । हाम्रा पाषाण वंशजहरू ७० हजार वर्षअघि भाषा र संस्कृतिको विकास गर्दै थिए । १२ हजार वर्षअघि आगो र फलामको खोजसँगै मान्छेको जीवनमा आधुनिक परिवर्तन आएसँगै सामूहिक बस्ती बस्न थाल्यो जसलाई कृषि क्रान्ति भन्न सकिन्छ । हाम्रा पूर्वजहरू लाखौँ–हजारौ वर्ष कति दुःख, पीडा र घनघोर सङ्घर्षबाट अगाडि बढे होलान्, हामीलाई कल्पना गर्न पनि गाह्रो छ । ब्रह्माण्डको केन्द्र पृथ्वी हो भन्ने अरस्तुको मान्यतामा आधारित युरोपमा निकोलस कपर्निकसले १५३० मा डी रिभ्युलेसन भन्ने पुस्तक प्रकाशन गर्दै ब्रह्माण्डको केन्द्र पृथ्वी नभएर सूर्य भएको अवधारणा अघि सारेसंगै आधुनिक वैज्ञानिक युग सुरु भयो । ग्यालिलियोले टेलिस्कोप र आइन्सटाइनले माइक्रो टेलिस्कोपको आविष्कार गरेर कपर्निकसको अवधारणालाई प्रमाणित गरे । चाल्र्स डार्बिनले सन् १८३१–१८३६ सम्मको आफ्नो पाँचबर्से अनुसन्धानात्मक समुद्री यात्राबाट जीव विकासको सिद्धान्त पत्ता लगाए । हेरातिटस, एरिस्टोटल हुँदै १८ औँ शताब्दीमा हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादबाट कार्ल माक्र्सले द्वन्द्वात्मक भौतिकवादको विकास गरेसँगै अझ समृद्ध र विकसित हुँदै गएको छ । स्टिफन हकिङले दर्शन र आधुनिक विज्ञानलाई थप बलियोसँग जोड्न दार्शनिहरूको ध्यानाकर्षण गरेका छन् । आज समाज, संस्कृति, राजनीति, अर्थशास्त्र, विज्ञान, कला, साहित्य र सङ्घर्षको महत्वपूर्ण दर्शनका रूपमा स्थापित छ भौतिकवाद । आजको विज्ञान, प्रविधि, मेडिकल साइन्सको अभूतपूर्व विकासलाई पनि यसैको देन मान्न सकिन्छ । सारमा वैज्ञानिक आधारमा ब्रह्माण्डको निर्माणदेखि जीव विकासको सिद्धान्त मान्नेहरू भौतिकवादी हुन् ।

अध्यात्मवाद

यो ब्रह्माण्ड कुनै अदृश्य शक्तिद्वारा निर्देशित छ । हामी सबै उसैको इच्छाअनुरूपका क्रियाकलापमा अभ्यस्त भएका छौँ भन्ने धारणा अध्यात्मवाद हो । चेतना सम्पूर्ण अस्तित्वको आधार हो । यो जीवन र जगत् बुझिनसक्नु छ । धर्म, संस्कार, भाषा लिपि, जातजाति ईश्वरकै रचना हो, यो अपरिवर्तनशील छ भने विचार हो अध्यात्मवाद । वैज्ञानिक युग सुरु भएसंगै मानवशास्त्री, पुरातत्वविद् र वैज्ञानिकहरू पुराना सभ्यता र मानव जीवनको अध्ययन–अनुसन्धान गरिरहेका छन् । विश्वका प्रमुख पाषाण सभ्यताका रूपमा मेसोपोटामिया, बेबिलोन सभ्यता समेरिया, ह्वाङहो र सिन्धु सभ्यता रहेको खोजबाट पत्ता लाग्यो । अझै कैयौँ महत्वपूर्ण सभ्यताहरू जमिनमा गुमनाम दबिएर रहेका होलान् । जिज्ञासु मानव जाति एक दिन त्यहाँसम्म पुग्ला र हाम्रा धेरै कौतुहल मेटाउला ।

सभ्यताहरूको अध्ययन गर्दा आजको अस्तित्वमा रहेका धर्महरूको सुरुआत खासगरी दुई सभ्यता : समेरिया सभ्यता र सिन्धु सभ्यतामा विकास भएको पाइन्छ । समेरिया सभ्यता इसाई र इस्लाम तथा सिन्धुबाट बौद्ध, हिन्दु, जैन आदि । समेरिया सभ्यताबाट विकसित धर्महरूमा हामी आज जातीय विभेद पाउँदैनौँ, बरु रङ–विभेद छ । ८ हजार वर्षअघि सिन्धु नदीको तटमा विकसित हडप्पा र मोहनजोदारो सभ्यता लोप भएपछिको सिन्धु, हिन्दु वा अरू जे–जे शब्द दिए पनि यो खासमा ब्राह्मण धार्मिक कविलाई हो । वर्ण व्यवस्था यही कविलाको उपज हो । अध्यात्मवादको गर्भगृहबाट विकसित धर्म नै संसारभर विभेदका मूल स्रोत हुन् । हिन्दु धर्मका हामी भुक्तभोगी नै छौँ । साथै यहाँ विकसित धर्महरू पनि हिन्दुबाट नै प्रभावित छन् । जैन धर्मका मन्दिरहरूमा ब्राह्मण, क्षेत्री, वैश्य र शूद्रहरूका लागि पूजा र प्रसाद ग्रहण गर्न फरकफरक चार ढोका छुट्ट्याइएको हुन्छ । त्यस्तै बौद्ध धर्मका प्रवर्तक सिद्धार्थ गौतमले पनि आफ्ना उपदेशमा सैनिक, सूदखोर, दासलगायतलाई प्रब्रज्या (इसाईहरूको वक्तिस्मा वा हिन्दुहरूको व्रतबन्धजस्तै विशेष महत्वपुर्ण संस्कार) नदिनू भनेका छन् । यसर्थ अध्यात्मवाद सम्पूर्ण विभेदको जड हो । सारमा जसले धार्मिक सत्तालाई स्वीकार्दै स्वर्ग–नर्क, उच–निच र पुनर्जन्म मान्छ, विज्ञानलाई मिथ्या भन्छ । यो ब्रह्माण्ड, मानव समाज ईश्वरको रचना हो, समाज परिवर्तन हाम्रो वशमा छैन भन्ने ठान्छ, ऊ अध्यात्मवादी हो ।

निष्कर्ष

युरोपमा वैज्ञानिक युग सुरु भएर राजनीतिक, आर्थिक औद्योगिक, क्रान्ति अगाडि बढिरहेका बेला नेपालमा भने असली हिन्दुराज्य बनाउन शासकहरू तल्लीन थिए । भारतीय राजा विक्रमादित्य, प्रवाहण हुँदै नेपालका राजा सुपुष्पदेव, जयस्थिति, राम शाह र पृथ्वीनारायण हुँदै जङ्गबहादुरको पालासम्म आउँदा त झन् कानुन नै बनाएर उत्पीडनलाई वैधानिकता मात्र दिइएन, व्यावहारिक रूपमा लागू नगर्नेलाई दण्डित गर्ने उर्दीसमेत जारी गरियो । अहिले पनि हाम्रो समाज, संस्कृति र राज्यव्यवस्था त्यही जगमा चलेको छ । आधार संरचना संस्कृति, धर्म, दर्शन, अर्थतन्त्र, न्याय, कला, साहित्य, सरकार, सुरक्षा र सिङ्गो राज्यव्यवस्था नबदलेर अघि बढ्नै सकिँदैन भन्ने पाठ ०७, ०४६, ०६२ र ६३ का सङ्घर्ष र उपलब्धिहरूलाई नियाल्दा प्रस्ट हुन्छ । राजनीतिक उपरि संरचनामा केही परिवर्तन आए पनि आधार संरचना पुरानै रहेकाले उत्पीडित जनताले परिवर्तनको खासै फरक महसुस गर्न नपाएका हुन् । रुकुम सोतीको हत्याकाण्डसँगै देशैभरि दलितहरूमाथि शृङ्खलाबद्ध हत्या, हिंसा बलात्कार, छुवाछूत र विभेदका घटनाहरू बढिरहेका छन् । यसका धेरै कारण छन् तर सारमा मुख्य दुईवटा कारण छन् : पहिलो शिक्षा, विज्ञान, प्रविधिको विकाससँगै दलित समुदायमा आएको प्रतिरोधी चेतनाको विकास हो । हिजोका दिनहरूमा पनि यस्ता थुपै उत्पीडनका घटनाहरू नभएका हैनन् तर आजका दलित युवाहरू पहिलाजस्तो विभेद सहेर बस्दैनन्, बरु आफूले सकेजति प्रतिवाद, प्रतिरोध गर्दा यी घट्ना सतहमा आएका हुन् । दोस्रो कारण हो भारतका प्रम मोदी र नेपालका प्रम केपी वलीको कथित हिन्दु अन्धराष्ट्रवादी धार्मिक अतिवादको मोह । यो सत्ता, यो व्यवस्था अध्यात्मवादको पोषक भएकाले यति बेला पुरातनपन्थीहरूको मनोबल ह्वात्तै बढेको छ र कतिपय विभेदका घटनाहरूमा शिव सेनाको पनि संलग्नता भएको आशङ्का छ । भरखरै दाङको तुलसीपुरमा तीनजना दलित बालकको शव भारतीय गाडीभित्र भेटिनु संयोग मात्र नहोला । हाम्रो देश पुरातन, पछौटे सोच, रुग्ण चिन्तन, विभेदकारी सामाजिक संरचनात्मक संस्कारबाट ग्रसित छ । राज्यका सबै अवयव, राजनीतिक सङ्घ–सङ्गठनहरू धर्मग्रन्थबाट निर्देशित छन् । तसर्थ यो अध्यात्मवादी दर्शन पुरानो शासन संरचना र पछौटे मूल्य मान्यतामा आधारित राजनीतिक पार्टी, दलित सङ्घ–सङ्गठनबाट दलित मुक्ति असम्भव छ । वैज्ञानिक सोच, चिन्तन विभेदविरुद्ध निरन्तर सङ्घर्ष, प्रविधिको उच्चतम् उपयोग फराकिलो मानवीय विचार र आफैँमा समृद्ध दरिलो द्वन्द्वात्मक भौतिकवादी दार्शनिक हतियार नै दलित मुक्तिको सुस्पष्ट आधार हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :