अन्तरजातीय विवाहमार्फत विद्रोह !

अन्तरजातीय विवाहमार्फत विद्रोह !

चुँडाउलान् भनेर कसैले
म फुल्न छाड्दिनँ !
ढुङ्गा हान्लान् भनेर कसैले
म फल्न छाड्दिनँ !!

रातको करिब १ बजेको समय । म निदाइरहेको थिएँ । प्रदीप निदाएको रहेनछ । प्रदीपले ब्युँझायो र भन्यो, ‘एई ! तिम्री बैनीको त बिहे भएछ नि । के हो ?’ एक्कासि यो सुन्दा म झसङ्ग भएँ । पत्यार लागेको थिएन । सपनै हो कि जस्तो पनि भयो तर फेसबुकभरि बधाईको ओइरो आइसकेको रहेछ । मेरो निद्राले कुलेलम ठोक्यो ।

बिहे त गरी तर कोसँग ? उसको प्रेमी को हो ? मलाई भने थाहापत्तो नाइँ ! प्रदीप ब्रोले भन्यो, ‘रोशन सुनारसँग !’ ‘हो र !’ भनेँ । फिस्स हाँसेँ । तत्काल अरू प्रतिक्रिया जनाइनँ । बिस्तरामा पल्टिएँ । मनमा अनेकानेक कुरा खेल्न थाल्यो । किन हतार गरी यसले ? बल्ल एघारमा त पढ्दैछे । पढाइ के हुन्छ ? भर्खर त एक बीस लाग्दैछे । बिहे गर्ने उमेर नि भैसकेको छैन । कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भयो । यावत् कुराहरूले तँछाडमँछाड गरिरह्यो ।

बिहान खिमा दिदीको फोन आएपछि उठेँ । घरमा बाबालाई फोन गरेँ । आमालाई फोन गरेँ । बाबाआमालाई पनि थाहापत्तो छैन । उसले भागी–विवाह गरिछे । मैले घटनाको बेलिविस्तार लाएँ । बाबाले खासै प्रतिक्रिया जनाएनन् । आमाको भने आक्रोश पोखियो । मैले अस्वाभाविक लिइनँ । मैले भनेँ, ‘जातको विषयलाई लिएर आपत्ति लिनुपर्ने वा तर्सिनु पर्ने केही पनि छैन, बरु बिहे छिटो गरी । त्यस्तो हतार नगरेको भए हुन्थ्यो । चिन्ता नलिनू ।’ तर भन्नेबित्तिकै सब ठीकठाक हुने कुरा पनि भएन । केही दिनपछि सब सामान्य हुँदै जानेछ । सामान्य बनाउन सक्छु भनेर तत्काल धेरै प्रतिक्रियाहरू जनाइनँ । बैनी–ज्वाइँलाई पनि फोन गरेँ ।

परिवार, नातेदार, आफन्तजनहरूबाट विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । ‘पानी नचल्ने जातसँग नजानुपथ्र्यो । आफ्नो जात भनेको आफ्नै हो । संस्कार मिल्दैन । चलिआएको चलन अहिल्यै तोड्न नि मिल्दैन । अरूहरूले के भन्छन् ? भाइ÷समाजले एक्ल्यायो भने के गर्ने ? त्यसले बिराई । सत्तुर (शत्रु) हँसाई ।’ यस्ता प्रतिक्रियाहरू आइरहेका छन् । विभेदकारी चिन्तनले ग्रस्त हाम्रो समाजमा यो प्रतिक्रिया कुनै नौलो वा अस्वाभाविक पनि भएन । तर आजको समाजको यो हदै दरिद्र चिन्तन हो । अझ भन्ने हो भने आपराधिक चिन्तन हो ।

अन्तरजातीय बिहे भएकै कारण धेरैलाई उकुसमुकुस भएको मैले महसुस गरेको छु । त्यसमा पनि दलित (केटा) र गैरदलित (केटी) बीचको प्रेमविवाह हो यो । सामाजिक सञ्जालमा त बधाईको ओइरो छ । फोन, म्यासेजमा मिश्रित प्रतिक्रिया आइरहेछन् तर खासगरी विभेदकारी सामाजिक–सांस्कृतिक संरचनाको जरामा भने हङ्गामा भयो । जिल खायो । रन्थनियो सायद ! दलित र गैरदलितबीचको प्रेम÷विवाहलाई मुखले बधाई र शुभकामना त दिन्छन् तर के आजको हाम्रो समाजको नयाँ पुस्ताले यसलाई सजिलै स्वीकार्ने हिम्मत राख्छ त ? मलाई के लाग्छ भने आजको समाजको नयाँ पुस्ता ‘यो ठीक हो’ भन्नेसम्म आइपुगेको छ । सजिलै स्वीकार्ने तहमा भने पुगिसकेको छैन । नयाँ पुस्ता समग्रमा अझै निरीह देखिन्छ ।

कुरा के हो भने समाजमा जातीय विभेद गर्नु हुन्न भन्ने चेतना आइसकेको त छ । अरू उठबसहरू पनि सामान्य बन्दै पनि गइरहेका छन् । मानिसहरू जातीय विभेद गर्दा कानुनी रूपमा नै दण्डसजाय भोग्नुपर्छ भन्ने कुराको पनि जानकार छन् तर समाजमा यसलाई व्यावहारिक हिसाबले दृढतापूर्वक स्वीकार्नु अझै पनि फलामको चिउरा चपाउनुजस्तै छ । हाम्रा दृष्टिहरूमा विभेदकारी चिन्तनको हस्तक्षेप निकै बलियो छ, त्यो सजिलै मिल्काउन सकिएको छैन । कानुन बने पनि कार्यान्वयन हदैसम्म फितलो छ । यसले पनि वर्ग हेर्दो रहेछ । भुइँमान्छेहरूलाई कानुनले न्याय दिन पनि सकेको छैन । यसको पछिल्लो उदाहरण नवराज विक हत्याकाण्डलाई लिन सकिन्छ । यो हाम्रो समाजको कटु सत्य हो ।

दसबर्से माओवादी जनयुद्धले जातीय विभेदको हाँगा त लाछ्नुसम्म लाछ्यो । विभेदकारी सामाजिक–सांस्कृतिक–राजनीतिक संरचनामा उथलपुथल पनि ल्यायो । आममान्छेमा चेतनाको स्तर बढायो । दृष्टिकोण बदल्यो । जनयुद्ध कालभरि अन्तरजातीय विवाहको एकप्रकारले भन्ने हो भने बाढी नै आयो । हजारौँ जोडीले अन्तरजातीय विवाह गरे । आज पनि यो क्रम जारी छ तर दुःखद् कुरा के छ भने जब दसबर्से जनयुद्ध बिसर्जनतिर गयो, विभेदकारी, शोषणकारी चिन्तन, व्यवहार, संरचनाको जरा उखेलेर निमिट्यान्न पार्न बाँकी नै थियो । माओवादी नेतृत्वमा अक्षम्य विचलन आयो । त्यसपछि जनयुद्धले निर्माण र स्थापित गरेका अधिकांश मान्यताहरू भताभुङ्ग हुँदै गए । जनयुद्धको समयमा स्थापित अन्तरजातीय वैवाहिक सम्बन्धहरू भत्किन थाले । त्यसप्रकारको प्रतिक्रान्तिले जातीय विभेद झन् बलियो बनेर मौलाइरहेको हामीले भोगिरहेका छौँ । सबैखाले विभेदहरूविरुद्ध निरन्तर मोर्चा कस्नु अपरिहार्य छ ।

‘अरूले के भन्लान् ? एक्लिइने हो कि ? चलिआएको संस्कार, चलनचल्ती तोडिहाल्न हुँदैन ।’ यस्ता चिन्तन र डरहरूले व्यक्ति वा समाजलाई अगाडि बढ्न दिएको छैन । यथार्थमा समाजले यो भ्रमलाई ‘सत्य’ रूपमा स्वीकार गरेको छ जुन भ्रम तोड्न डराउनु, डराउनु मात्र होइन, भ्रमलाई अझै बढ्ता स्थापित गर्नु हो । यसो गर्नु भनेको डरैडरमा अपराध गर्नु हो । यो भ्रमको पर्दा च्यातेर हेर्ने हो भने सत्य अर्कै भेटिन्छ । कुरा यत्ति हो, भ्रमको पर्दा च्यात्ने आँट गर्न खुट्टा कमाउनु । आउनसक्ने दुःख, कष्ट, जोखिमसँग जुध्न हिच्किचाउनु । आजको नयाँ पुस्ता जोखिम मोल्न तयार हुनुपर्छ तर लड्नका निम्ति हतियार चाहिन्छ । त्यो हतियार भनेको क्रान्तिकारी विचार राजनीति÷ क्रान्तिकारी विश्वदृष्टिकोण हो ।

यी दुई पात्रबीचको विवाहसम्बन्धमा बरु मेरो असहमति केमा हो भने यति छिटै विवाह गरिहाल्न हुन्थेन । यो हतार भयो । विद्यालयीय/विश्वविद्यालयीय अध्ययन बाँकी छ । आफूलाई आफ्नै खुट्टामा टेकाउन सक्ने गरी सक्षम बन्न बाँकी नै छ । यसमा मेरो असहमति हो तर यहीँ असहमतिलाई निहुँ बनाएर बाँकी कुरालाई छायामा राख्न भने चाहन्नँ ।

छिटो बिहे गर्ने हाम्रो समाजको डरलाग्दो समस्या हो । यसले गर्दा उनीहरू आफूलाई चौतर्फी विकास गर्ने अवसरबाट वञ्चित हुन बाध्य छन् । विवाहपछि अनेक जिम्मेवारी, बन्धनहरूले जेलिएर जीवन जिउनुपर्ने बाध्यता छ । साँघुरो पोखरीको माछाझैँ ! यो हाम्रो समाजको कटु यथार्थ हो तर हाम्रो समाजले यसलाई आँखा चिम्लेर काखी च्यापिरहेको छ । यो कुरालाई पनि तोड्नु अनिवार्य आवश्यक थियो र छ । तर त्यसप्रकारको जालोलाई च्यात्नैपर्छ ।

जे ठीक हो, त्यो गर्ने हो । सत्तुर हाँसे, हाँस्न दिनू । ती पछि आफैँ ग्लानिले आफैँ मुख छोप्नेछन् । आफ्रूलाई गर्व गर । एउटा भनाइ छ, ‘बाटाहरू जति कष्टदायी भए पनि निरन्तर हिँड्दै जाऊ । तिमीलाई तिम्रो सुन्दर भविष्यले पर्खिरहेछ ।’ दुवैजनाले मान्छे हेर्यौ, जातपात हेरेनौ । प्रेममा जातको तगारो भाँचिदियौ । यो गर्वको कुरा हो । दुवैले आफ्नो अध्ययनलाई निरन्तरता देऊ । यो जीवनको सुरुआत हो, यसैलाई सम्पूर्णता नठान । संयम र दृढताका साथ आफ्नो जीवन लक्ष्यतर्फ समर्पित होऊ । चुनौतीहरूलाई धैर्यपूर्वक, दृढतापूर्वक र इमानदारीका साथ सामना गर्दै अगाडि बढ । यही आशा गर्दछु र मेरा तर्फबाट भरपूर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्दछु । आजको सामाजिक–सांस्कृतिक संरचनामा यो विवाह मात्र होइन, विद्रोह पनि हो । ती कलिला पाइलाहरूले कदम उठाइसकेका छन् । त्यसबाट पछि नहट्नू । फेरि पनि भन्छु, धैर्य, संयम, दृढ भएर निरन्तर अघि बढ्नू । दुवैजनालाई वैवाहिक जीवनको हार्दिक शुभकामना !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :