अक्सिजनको खोजीमा छट्पटाइरहेका बिरामीमाथि गम्भीर खेलबाड : नेकपा

सल्यान जिल्ला अस्पतालमा नक्कली अक्सिजन प्लान्ट, ३६ लाखभन्दा बढी भ्रष्टाचार

अक्सिजनको खोजीमा छट्पटाइरहेका बिरामीमाथि गम्भीर खेलबाड : नेकपा

बमठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सल्यानले प्रेस विज्ञप्ति जारी गरी जेठ १ गते सल्यान जिल्ला अस्पतालमा जडान गरिएको भनिएको नक्कली अक्सिजन प्लान्टमा ३६ लाखभन्दा माथिको आर्थिक अनियमितता भएको भन्दै आक्रोशपूर्ण चेतावनी दिएको छ ।

जिल्ला सेक्रेटरी तुफानले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अक्सिजन प्लान्ट उद्घाटन भएको खबरले अक्सिजनको खोजीमा छट्पटिरहेका बिरामीलाई राहत मिल्ने अपेक्षा गरिएको थियो । विडम्बना ! यो त अक्सिजन प्लान्टका नाममा जनतालाई झुक्याउने संसदीय सस्तो लोकप्रियतावादी कर्तुत रहेछ । रातारात अक्सिजन प्लान्ट जोडेको देखाएर यो बन्दाबन्दीको समयमा लाखौँं पैसा झ्वाम पार्ने ठूलो सेटिङको खेल पो रहेछ ।’

तुफानले विज्ञप्तिमा भनेका छन्, ‘अनैतिक, भ्रष्ट, अराजनीतिक राजनीतिका विभिन्न पात्रहरू, प्रदेशको सामाजिक बिकास मन्त्रालय, प्रदेश स्वास्थ्य कार्यालयदेखि जिल्ला स्वास्थ्य कार्यालयभित्र रहेका केही द्रव्यपिचासी कर्मचारी, प्रदेश सरकारका केही भ्रष्ट नेता र कर्मचारीहरूको मिलोमतोमा यो गम्भीर अपराध भएको हो भन्ने कुरा प्रारम्भिक तथ्यहरूले बोलिरहेका छन् ।’

तुफानले अगाडि भनेका छन्, ‘कोभिडको महामारीले सङ्कटग्रस्त भैरहेको नागरिक  जीवनलाई भ्रष्टाचारको यो घिनलाग्दो दृश्यले झन् भयावह बनाउँदै लगेको छ । हामी यस्ता भ्रष्टहरूलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौंँ । विभिन्न नक्कली कागज बनाएर भ्रष्टाचारलाई ढाकछोप गर्न थप जालसाजी र बहानाबाजी नगर्न चेतावनी दिन्छौंँ ।  हामी स्पष्ट गर्दछौंँ– यस्तो मानवीय सङ्कटको घडीमा गरिएको अपराध कुनै पनि हिसाबले क्षम्य हुन सक्दैन, हुन दिइनेछैन ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, स्वयम्सेवकलगायत राष्ट्रसेवक कर्मचारीहरू यस्ता घटनाबाट हतोत्साहित नभई अहोरात्र कोभिड १९ को उपचार, नियन्त्रण, रोकथाममा खटिरहनुभएको छ । सबैलाई सलाम गर्दछौँं । हामी तपाईंहरूको साथमा छौंँ ।’ 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :