आमाको सम्झनामा !

आमाको सम्झनामा !

आमाको अर्थ जननी, जन्मदाता, सृष्टिकर्ता, ममताकी खानी ! म कस्तो हुँला ? भन्ने कुराको पूर्ण रूपमा बेवास्ता गर्दै आँखा चिम्लिएर माया दिने मान्छे । कोखमा लुकाउँदै आफ्नो रगत दिएर कोखभित्र ९ महिनासम्म हुर्काउने माता । जे–जे भने पनि आमा मेरो सर्वेसर्वा हुनुहुन्छ । आमाबिना हाम्रो सपना सम्भव छैन । आमालाई एक दिन होइन, प्रत्येक पलपलमा आदर, सम्मान र सम्झना गर्नुपर्दछ । हामीले आमाको मुख हेर्ने दिन भनेर एउटा मातातीर्थ औँसीलाई विशेष रूपमा मनाउने गरेका छौँ । नयाँ पुस्ताका बाबु–नानीहरूले यसैलाई Mother’s day भनेर एउटा उत्सव वा दिवसका रूपमा मनाउन थालेका छन् । यो वास्तवमा गर्व र खुसीको कुरा हो ।

आमालाई सम्झनासाथ म आफैँलाई समाल्न गाह्रो पर्छ । मेरी आमालाई म सम्पूर्ण रूपले सशरीर भेट्छु । उहाँकै काखमा निदाएको त्यो सम्झनालाई बर्बर आँसुको धाराले निथ्रुक्क भिजाउने गर्छु । त्यो खरको छानो भएको एकतले गाउँको घर जुन घर मेरो जन्मसँगै बनाइएको थियो रे ! त्यसै घरको भुइँतलामा रहेको ठूलो जाँतोमा मकै/गहुँ पिस्दै गर्दा आमा मेरो टाउको आफ्नो काखमा राखेर बाँकी शरीरलाई एउटा बर्की बिछ्याइएको रातो माटो र गोबरले पोतेको भुइँमा सुताउनुहुन्थ्यो । म आमाको मुखबाट निस्किएको मधुर गीत अनि त्यही जाँतोको एकनासको सङ्गीतमा मस्त निदाउँथेँ । म चेत पाउँदासम्म अर्थात् ६ वर्षको हुँदासम्म आमाको दूध चुस्थेँ । बिहान दाजुसँग विद्यालय जान्थेँ र बेलुका घरमा फर्कनेबित्तिकै आमाको काखमा पल्टिएर दूध चुस्थेँ । सायद दूध आए पनि नआए पनि दूध चुस्न पाएँ भने मेरो ममताको भोक यत्तिकै मेटिन्थ्यो । मेरो साइँलो दाइ अलि चलाख हुनुहुन्थ्यो । उहाँचाहिँ भान्सामा गएर बिहानको खाना जे बचेको हुन्थ्यो, त्यो खानुहुन्थ्यो । त्यो बेला खास मेलापात भएका बेलाबाहेक अहिलेजस्तो दिउँसो खाजा–नास्ता तयार गर्ने चलन नै थिएन । म आमाको दूध खाएर भान्सामा पुग्दा दाइले सबै खाना खाइसक्नुभएको हुन्थ्यो । त्यसपछि म आमाको काखमा फर्किएर आधा घन्टाभन्दा बढी समय डाँको छोडीछोडी रोएको भर्खरैजस्तो लाग्छ ।

सिमलचौरकी बाहुनी बोई र छिमेकी साइनोले माइजू पर्नेहरूले आज पनि मलाई भेटेको बखत तिनै मेरा बाल्यकालका हर्कत, ‘रोनाधोना’ का कुरा स्मरण गराउनुहुन्छ । बच्चादेखि नै मेरो जीउडालचाहिँ सप्रिएकै भन्नुहुन्छ । मेरी आमाबिना त एक क्षण पनि बाँच्न सक्दिनँजस्तो लग्थ्यो मलाई । कक्षा ९ मा पढ्दासम्म म आमाबिना संसार नै अन्धकार देख्ने गर्थें । गाउँमा वृद्ध मान्छेहरू मरेको देख्दा, सुन्दा म आफैँ घरमा रुने गर्दथेँ । मेरा बाजेको निधन हुँदा म कक्षा ९ मा पढ्थेँ । मैले मेरो बाजेको पार्थिव शरीर पहिलोपटक काँधमा बोकेर घाटसम्म पुर्याएको थिएँ । पहिलोपटक मान्छेको पार्थिव शरीरलाई नजिकबाट छोएको र हेरेको पनि बाजेलाई नै हो । चतुर्भुजघाटमा बाजेको पार्थिव शरीर पुर्याएपछि मैले नयाँ दृश्य देखेँ । मैले मेरो बाबालाई कहिल्यै रोएको देखेको थिइनँ । उहाँ असाध्यै रुखो र खरो स्वभावको मान्छे । बाजेको शोकमा असाध्यै भावविह्वल हुँदै डाँको छोडेर रोएको देखेँ । त्यसपछि मेरी ममतामयी आमा क्यान्सरले ग्रस्त भएर बिस्तरामा लडिरहेको बेला मेरा बाबा धेरैपटक मुटु फट्ने गरी भक्कानिएर रोएको देखेको छु । बाजेलाई दाहसंस्कार गरेर घर फर्किएपछि म बिरामी पर्ने गरी रोएको थिएँ । म एक सातासम्म कक्षा नै छोडेर घरमा बसेँ । मलाई कस्तो महसुस भयो भने बाजे बित्नुभयो, अब बाबाको पालो आयो । बाजेका जिउँदा दुइ भाइ छोराहरूमध्ये मेरो बाबा जेठो हुनुहुन्थ्यो ।

कक्षा १० मा पढ्दासमेत आमालाई दिनमा एकपटक देखिनँ भने म एक्लै कुनामा बसेर रुन्थेँ । हाम्रो तीन ठाउँमा घर थियो । कहिलेकहीँ आमा भएको घरमा जान पाएको हुँदैनथेँ । आमाले पनि मलाई त्यत्तिकै माया गर्नुहुन्थ्यो । केही मीठो बस्तु पाक्यो र त्यो दिन भेट भएन भने २ दिनसम्म लुकाएर राखिदिनुहुन्थ्यो । मैले धेरैपटक बासी मासु खाएको छु । उहाँको एउटा ममतामयी बोली थियो मलाई बोलाउने ! ‘मेरी कान्छी, तिमी काँ गएका थियौँ ? मेरो माया लाग्दैन ?’ भनेर सुमसुमाउनुहुन्थ्यो । आमा, म हजूरलाई अहिले पनि उत्तिकै माया गर्छु । मेरो सिद्धान्तले भगवान्लाई विश्वास गर्न सक्दैन तर सम्पूर्ण रूपले भगवान् मान्ने हो भने म आमा हजूरलाई नै भगवान् र सर्वस्व मान्छु ।

मेरी आमा, हजूरलाई साष्टाङ्ग दण्डवत् ! पलपलको आदर, सम्मानसहितको मेरो मुटुभरिको माया । मेरो दुर्भाग्य ! मैले अन्तिमपटक मेरी आमाको मुख हेर्न पाइनँ । आमा क्यान्सरले थलिएर बेडमा लडिरहेको अवस्थामा मैले डेढ महिना पहिले भेटेर फर्किएको थिएँ युद्धकालमा । म नेपालको सुदूरपश्चिमका गाउँ–टोल, सहर र डाँडापाखामा जनमुक्तिका लागि टाउकोमा रातो कफन बाँधेर लालसेनाको कमान्डर बनेको थिएँ । पार्टीले मेरो कार्यक्षेत्र त्यतै तोकेको थियो । आमाको स्वास्थ्यलाभ हुन्छ भन्ने कुरामा आशावादी थिएँ । देशमा सङ्कटकाल थियो । सरकारी सुरक्षा फौजले हत्या, अपराध, आतङ्क मच्चाइरहेको थियो । पार्टीको आदेशमा मैले लडाइँको योजना बनाउनुपथ्र्यो । आमा र घर–परिवारको ख्याल राख्ने मौका नै मिल्दैनथ्यो । मैले मेरी आमालाई उपल्लो टोलका दाइ शान्तराजको पसलबाट २ दर्जन बिस्कुट लगी सिरानीमा राखिदिएर फर्किएको त्यो दिन नै मेरी ममतामयी आमासँगको अन्तिम भेट भयो । मैले युद्धमोर्चाको एक कुनामा आमाबिनाको टुहुरो भएको जानकारी पनि समयमा पाउन सकिनँ । टेलिफोन र मोबाइलको सहज पहुँच बनिसकेको अवस्था थिएन । १ महिना बितेको रहेछ आमाको निधन भएको ! म त कञ्चनपुरको चुरे पर्वतमा सहयोद्धाहरूसँग हतियारसहित परेड खेल्दै थिएँ । एउटा अग्लो बुटामा चढेर भारतमा रहेकी दिदीलाई टेलिफोन गरेँ । त्यसपछि बल्ल घरको वियोगान्त खबर पाएको थिएँ । मलाई युद्धमा पठाएर मेरी आमा यो संसारबाट मलाई फेरि कहिल्यै नभेट्ने गरी सधैँका लागि बिदा हुनुभएछ ! मेरा हातखुट्टा लत्रिए । संसारै अँध्यारो भयो । मलाई सहयात्री कमरेडहरूले सान्त्वना दिनुभयो । म निकै टाढा थिएँ । देशमा सङ्कटकाल थियो । हिँडेर घरमा आउन २५ दिन लाग्थ्यो । युद्ध चलिरहेको थियो । मैले युद्धको मोर्चा समाल्नुपथ्र्यो । मेरो काँधमा वर्गयुद्ध जित्नुपर्ने कार्यभार थियो । जनतालाई समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण, दमनको जालोबाट मुक्त बनाउनु थियो । सदियौँदेखि मान्छे–मान्छेबीचको भेदभाव र असमानताको अन्त्य गर्नु थियो । मेरी आमालाई त्यहीँबाट कोटी–कोटी श्रद्धाञ्जली अर्पण गरेँ, धेरै सम्झिएँ । त्यो बेलामा मसँग कुनै विकल्प थिएन, म निरीह बनेँ । श्रद्धेय क. श्रवणले मलाई राम्रोसँग आश्वस्त बनाउनुभयो । मैले जीवन र मृत्युको अर्थ खोजेँ । मैले थुप्रै सहयात्रीहरूलाई एउटै मोर्चामा सँगै लड्दालड्दै गुमाएको पीडा सहेको छु । आमाको निधनको पीडालाई पनि मैले सहेँ ।

आमा, हजूरबिना म र हामी कसैको पनि रचना सम्भव थिएन । हजूरले मलाई अमूल्य जीवन दिनुभयो । मैले हजूरको आपत्तिका अन्तिमका दिनहरूमा स्याहारसुसार गर्न पाइनँ । मजस्तो बैगुनी छोरालाई पनि यति धेरै माया दिने मेरी आमा, म हजूरप्रति नतमस्तक छु । माता र पिताभन्दा ठूलो अरू केही हुन सक्दैन । यसै अवसरमा म संसारभरका आमाहरूप्रति र सम्पूर्ण महान् नारीहरूप्रति श्रद्धाले शिर निहु¥याउन चाहन्छु । मेरी आमाले यो संसारबाट अन्तिमपटक आँखा चिम्लिनुपूर्व आफ्नो तोते बोली र इसाराले ‘कान्छो–कान्छो, बिजे खै ? बिजेलाई बोलाउनू, उसलाई माया गर्नू’

भन्दै जानुभएछ । आमा, यो बेला पनि मसँग कुनै विकल्प छैन । म अश्रुधाराको वर्षासहित हजूरलाई कोटी–कोटी श्रद्धासुमन चढाउँछु । म बाँचुन्जेल सधैँ यसै गरिरहन्छु । म सधैँ माया गरिरहन्छु, सम्झिरहन्छु । मेरी आमा !

कास्की कारागार, पोखरा – २८ वैशाख, २०७८ 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :