नख्खु कारागारमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

नख्खु कारागारमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो

काठमाडौँ : नख्खु कारागारमा रहेका राजनीतिक आस्थाका बन्दीले १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्य रूपमा मनाएका छन् ।

श्रमिक दिवसका अवसरमा कारागार परिसरमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले यो दिवसका अवसरमा संसारका बन्दीहरूलाई एकताबद्ध र सङ्गठित भएर अघि बढ्न शुभकामना दिए ।

कार्यक्रममा नेता सुदर्शनले चार्टिस्ट आन्दोलन, पेरिसका मजदुरहरूको विद्रोह, सिकागो सहरमा धागो कारखानाका मजदुरहरूको वीरतापूर्ण र रक्तरञ्जित सङ्घर्षले नै १८ घन्टा मालिकको कारखानामा जोतिने मजदुरको कार्यदिवस ८ घन्टा श्रम र ८ घन्टा आराम भन्ने माग पूरा गरेको बताए ।

मजदुरहरूको वीरता र बलिदानबाट प्राप्त अधिकार व्यवहारमा लागू नभएको भन्दै नेकपा नेता सुदर्शनले यो अधिकार लागू गर्न वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुन आवश्यक रहेको बताए । साम्यवादी खोलभित्र रहेका पुँजीवादी ब्वाँसाहरूले वैज्ञानिक समाजवादी व्यवस्था ध्वस्त पारेको नेता सुदर्शनको भनाइ थियो । क्रान्तिकारीहरूका अगुवा बनेका गद्दारहरूले श्रमजीवी वर्गको नाम जप्दै नेपाललगायत क्रान्ति विजयको सन्निकट पुगेका कैयौँ देशका क्रान्तिहरूलाई असफल बनाइदिएको उनले बताए । उनले भने, ‘मजदुर आन्दोलनमा घुसेर दलाल पुँजीवाद र निगम पँुजीवादको भूमिका निर्वाह गर्ने ब्वाँसाहरूलाई आन्दोलनबाट सडकमा ल्याएर नाङ्गेझार पार्नुपर्छ । मजदुरहरूको साम्यवादी व्यवस्था ल्याउन मजदुरहरूले नै अग्रगामी भूमिका निर्वाह गर्न जरुरी छ ।’

नेकपा नेता सुदर्शनले अगाडि भने, ‘श्रमजीवी वर्गले यसको महत्व बुझ्न, पुँजीपति वर्गलाई श्रम चुस्न नदिन र मानव जातिको मुक्तिका लागि श्रमलाई अनिवार्य बनाउन श्रमिक वर्गका गुरु कार्ल माक्र्सले पूरै जीवन लगाउनुभएको थियो । उहाँका अनन्य मित्र एङ्गेल्सले उत्तिकै योगदान गर्नुभएको थियो भने लेनिन, स्टालिन र माओले यो व्यवस्थालाई वैज्ञानिक समाजवादी व्यवस्थामा रूपान्तरण गर्न योगदान गर्नुभयो ।’

कार्यक्रममा नेता सुदर्शनले पुँजीपतिले आराम गर्ने महलहरू मजदुरकै श्रमले बनेका भए पनि मजदुरको श्रमले बनेका वस्तुहरूमा मजदुरहरूको अतिरिक्त श्रम चुसिएको बताए । उनले भने, ‘मालिकहरूले मजदुरहरूको अतिरिक्त श्रम चुसेकै कारण श्रमिकले आफ्नै श्रमको उपभोग गर्न पाएका छैनन् । त्यसकारण आफ्नो उत्पादनका वस्तुमा आफ्नै स्वामित्व कायम गर्न वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक छ ।’
कार्यक्रममा मातृका यादव नेतृत्वको तत्कालीन नेकपा (माओवादी) का उपत्यका इन्चार्ज श्रीचन राय यादवले भने, ‘मजदुर दिवसलाई स्थापित गर्ने मजदुरहरू कार्ल माक्र्सको साम्यवादी घोषणापत्रबाट शिक्षित थिए । हामी मजदुरहरूले कारागारको समयलाई पनि अध्ययन–अनुसन्धानमा प्रयोग गर्न सक्छौँ र देशका लागि ठूलो योगदान दिन सक्छौँ ।

वक्ता आदित्यकुमार झाले संसार गतिशील भएको तर यसलाई गुणात्मक परिवर्तनतिर लैजान उत्पीडित वर्गको सङ्घर्ष आवश्यक भएको बताए । सिकागोका मजदुरहरूको सङ्घर्षले ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आरामको माग पूरा गर्न तत्कालीन शासक बाध्य भएको उनले बताए ।

अर्का वक्ता रामकृष्ण खतिवडाले मजदुरहरूको बलिदान र योगदानबाट स्थापित यो दिवसले संसारका मजदुुरहरूले सङ्घर्ष नगरी अधिकार प्राप्त हुँदैन भन्ने ज्ञान दिलाएको बताए । उनले नेपालको दलाल पुँजीवादी सत्ताका विरुद्ध सङ्घर्ष अघि बढोस् भन्ने शुभकामना दिए ।

सूर्यबहादुर तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषण उमेश केसीले गरेका थिए भने रामकृष्ण खतिवडाले स्वागत भाषण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा नेता सुदर्शन थिए भने विशेष अतिथि श्रीचन राय यादव ‘सुजन’ थिए । यस्तै अन्य अतिथिहरूमा हरिप्रसाद आचार्य, चन्द्रप्रकाश सापकोटा, टीकाप्रसाद तिमिल्सेना, अफताफ हुसेन, बुद्धिलाल श्रेष्ठ, रोहित ढुङ्गाना र साहिद बोरेम्बो थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :