जनप्रगतिशील मोर्चा अमेरिकाले बनायो अधिवेशन आयोजक समिति

काठमाडौँ : नेपाली जनप्रगतिशील मोर्चा अमेरिकाले प्रथम अधिवेशन आयोजक समिति गठन गरेको छ । बुधबार सम्पन्न मोर्चाको विस्तारित बैठकले विश्वबहादुर शाहको संयोजकत्वमा १० सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको अमेरिकाबाट प्राप्त समाचारमा उल्लेख छ ।
समितिमा सचिव दीपक लामिछाने र सदस्यहरू दर्शना नेपाली, पङ्कज कट्टेल, कृष्णध्वज थापा, अर्जुन नेपाल, नवीन चौलागाईं, रामचन्द्र पहारी, खगेश्वर काप्री र असीम घिमिरे रहेको जानकारी मोर्चाले दिएको छ । दीपक लामिछानेले सञ्चालन गरेको बैठकले अधिवेशनको मिति तय गर्ने निर्णय गरेको छ ।

मोर्चाका अध्यक्ष विश्वबहादुर शाहको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका महासचिव तथा युरोप मोर्चाका सदस्य प्रदीप अधिकारी अतिथि थिए ।

मोर्चाको बैठकले नेपालमा दलाल तथा संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएकाले नेपाली जनताको स्वतन्त्रता र समृद्धिका लागि वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य भएको ठहर गरेको छ । यो व्यवस्थाको असफलताका कारण लाखौँ नेपाली दाजुभाइ–दिदीबहिनी प्रवासिन बाध्य भएको निष्कर्ष बैठकले निकालेको छ ।

अमेरिका पुगेका नेपालीमाथि निरन्तर भौतिक हमला भइरहेको सन्दर्भमा नश्लवाद वा अन्य कुनै कारणबाट प्रभावित भएर नेपालीमाथि भएको भौतिक हमलाको बैठकले भत्र्सनासमेत गरेको छ ।

बैठकका अतिथि प्रदीप अधिकारीले नेपालको राजनीतिक अवस्था, प्रवासमा नेपालीले निर्वाह गर्नुपर्ने भूमिका, आजको सामाजिक संरचनामा विकास गर्नुपर्ने राजनीतिक, सामाजिक तथा सांस्कृतिक चेतनाको विकास, अमेरिकामा मोर्चाको आवश्यकता र त्यसको भूमिकाका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :