मोरङ र इलाममा सुमनसिंहको नाममा दुईवटा पक्राउ पुर्जी

मोरङ र इलाममा सुमनसिंहको नाममा दुईवटा पक्राउ पुर्जी

झापा : नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच फागुन २० गते भएको तीनबुँदे सहमतिको उल्लङ्घन गर्दै जिल्ला अदालत मोरङ र इलामले एकैपटक दुई फरकफरक मुद्दामा नेकपाका प्रभावशाली नेता एवम् मेची–कोशी ब्युरो कार्यालय सचिव सुमनसिंह पौडेलको घरमा ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

तीनबुँदे सहमति अनुरूप यतिबेला नेकपाले आफ्ना गतिविधि सञ्चालन गरिरहे पनि सरकारले भने सहमति विपरीत कदम चालिरहेको छ । यसअघि प्रतिबन्ध फुकाइए पनि ताप्लेजुङबाट नेकपाका जिल्ला नेता सक्कललाई प्रहरीले गिरफ्तार समेत गरेको थियोे भने अझैँ पनि सयौँ नेता कार्यकर्ता कारागारमै रहेका छन् ।

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २० गते तीनबुँदे सहमति भएको थियोे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा तीनबुँदे सहमति भएको र सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा, नेता–कार्यकर्ताहरूमाथि लगाएका मुद्दा फिर्ता गर्ने र नेकपाले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमति भएको थियो ।

राजनैतिक मुद्दा राजनीतिक तवरबाट समाधान गर्ने र सबै मुद्दा खारेजी गर्ने सहमति गरेको सरकारले सहमतिको उल्लङ्घन गर्दै नेता पौडेलको घरमा मङ्गलबार जिल्ला अदालत मोरङ र इलामले ३५ दिने पक्राउ पुर्जी टाँस गरेको छ ।

जिल्ला अदालत इलामले जारी गरेको पक्राउ पुर्जीमा ध्वंसात्मक तथा सङ्गठित अपराध मुद्दा रहेको छ भने मोरङले जारी गरेको सूचनामा अपराध तथा कर्तव्य ज्यान मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ ।

पक्राउ पुर्जीमा भनिएको छ,– ‘गणेश पौडेलको छोरा झापा जिल्ला दमक नगरपालिका वडा नम्बर २ बस्ने अं. वर्ष ३० को सुमनसिंह पौडेल । छत्रबहादुर श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी तपाईं समेत भएको अपहरण र कर्तव्य ज्यान मुद्दामा तपाईंको नाममा यस अदालतबाट मिति २०७७/११/३ मा सात दिने पक्राउ पुर्जी जारी भएकोमा उक्त पक्राउ पुर्जी बमोजिम पक्राउ परी नआएको हुँदा ३५ दिने पक्राउ पुर्जी जारी गरिएको छ । यो पक्राउ पुर्जीमा उल्लेखित अवधिभित्र अविलम्ब यस अदालतमा उपस्थित हुनुहोला । उक्त अवधिभित्र उपस्थित नभई फरार रहेमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :