संसद्‌वादलाई चिहानमा गाडेर वैज्ञानिक समाजवादको झन्डा फहराउँछौँ : सुदर्शन

नख्खु कारागारमा लेनिन तथा पार्टी स्थापना दिवस

काठमाडौँ : नख्खु जेलमा रहेका आस्थाका बन्दीहरूले नेकपा स्थापना दिवस तथा लेनिन दिवस मनाएका छन् ।

जेलभित्र बिहीबार आयोजित कार्यक्रममा नेकपाका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले आज १५२ वर्षका लेनिनलाई सम्झँदा एकजना गतिशील र सिर्जनशील साम्यवादी नेताका रूपमा सम्झनुपर्ने बताए । उनले भने, ‘लेनिनले रुसको विशिष्ट परिस्थिति र साम्राज्यवादी युगमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नुभयो । मजदुर, किसान, सिपाहीलगायत उत्पीडित वर्गबाट आएका नवमानवहरूको नयाँ पार्टी बनाउनुभयो । त्यही उत्पीडित वर्गको अग्रदस्ताले नै समाजवादी क्रान्तिबाट वैभवशाली सोभियत सङ्घको निर्माण गर्यो ।’

सुदर्शनले अगाडि भने, ‘आज हामीले लेनिनलाई सम्झँदा उहाँले माक्र्सको जमानाको पुँजीवादलाई मात्र बुझ्न पर्याप्त नभएको र पुँजीवाद साम्राज्यवादमा विकास भैसकेकाले क्रान्तिको कार्यदिशालाई नयाँ बनाएको कुरालाई गहिरो गरी सम्झनुपर्दछ ।’

उनले भने, ‘आज हामीले लेनिनलाई पढ्दा उहाँले विकास गरेको जुझारु भौतिकवादी दर्शनलाई पढ्नुपर्दछ जुन संशोधनवादी आदर्शवादका विरुद्ध लडेर विकास भएको थियो । आज हामीले लेनिनलाई पढ्दा उहाँले सत्ताधारी शक्ति तथा दलसँग कसरी वार्ता र सहमति गर्नुभएको थियो र त्यसले पार्टीभित्र ल्याउने अन्तरविरोध हल गर्नुभएको थियो भन्ने कुरालाई गहिरो गरी सम्झनुपर्दछ ।’

नेपालको क्रान्तिसँग रुसी क्रान्तिको सन्दर्भ जोड्दै उनले भने, ‘उदाहरणका रूपमा हामी ब्रेस्ट लिटोभस्टक सन्धिलाई लिन सक्छौँ । भर्खरै अक्टोबर क्रान्तिबाट वैज्ञानिक समाजवाद जन्मेको थियो । पहिलो विश्वयुद्ध चलिरहेको थियो । बेलायत र फ्रान्ससँग सम्झौता गर्न खोज्दा इन्कार गरिएको थियो । त्यसपछि जर्मनी र अस्ट्रियासँग वार्ता भयो र ३ डिसेम्बर १९१७ मा भएको वार्तामा ५ डिसेम्बरका दिन हस्ताक्षर हुन पुग्यो । यो सम्झौतालाई भङ्ग गर्न पार्टीभित्रै रहेका ट्राट्स्की र बुखारिन गुटदेखि लिएर र पार्टीबाहिरका प्रतिक्रान्तिकारीहरू एकजुट भएर लागे । त्यो वार्ता भङ्ग गराएरै छोडे ।’

नेकपा नेता सुदर्शनले अघि भने, ‘फेरि १० फरवरी १९१८ मा चलेको शान्ति वार्तामा ट्राट्स्कीले हस्ताक्षर गर्न मानेन र वार्ता भङ्ग भयो । परिणामस्वरूप जर्मनीसँग युद्ध भयो र रुसले युद्ध जित्यो । त्यसपछि लेनिनले पुनः शान्ति सम्झौताका लागि जर्मनीसँग आह्वान गर्नुभयो । समाजवाद बचाउन पोल्यान्ड, लात्भिया, स्टोनियालगायत भूभाग गुमाउनुपर्यो । जब वैज्ञानिक समाजवादका पक्षमा विश्व जनमत बन्यो, पार्टीभित्र ट्राट्स्की र बुखारिनका विरुद्ध लेनिन, स्टालिन, मनोकोप, कालिनिन, किरोभ, दसेरदलक्सलगायत नेताहरूको शक्तिशाली अग्रदस्ता बन्यो र सोभियत रुसका गुमेका भूभागहरू फिर्ता भए ।’

नेता सुदर्शनले भने, ‘यो घटनाबाट के बुझ्नुपर्दछ भने कहिलेकहीँ एक पाइला अघि बढ्न दुई पाइला पछि सर्नुपर्दछ । नेपाल कम्युनिस्ट पार्टीको ७३ औँ स्थापना दिवसका अवसरमा हामीले लेनिनबाट के कुरामा शिक्षित हुनुपर्दछ भने उहाँले जस्तै मार्तोभ, प्लेखानोभ, ट्राट्स्की, बुखारिन, जिनोनेव, कामेनेवजस्ता पात्रहरू मनमोहन, केशरजङ्ग रायमाझी, पुष्पकमल दाहाल र बाबुराम भट्टराईलाई पराजित गरेर यहाँ आइपुगेका छौँ । उनीहरूलाई कब्रिस्तानमा राखेर आज हामीले एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादजस्तो क्रान्तिकारी कार्यदिशा र कार्यक्रम विकास गरेका छाेँ । यसलाई अघि बढाउन वार्ता र संवादको पक्षलाई पनि अघि बढाएका छौँ । यो वार्ता र संवाद पुष्पकमल दाहाल र बाबुराम भट्टराईजस्तै संसदीय फोहोरी आहालमा डुब्न होइन, अविरल र स्वच्छ कोसीजस्तै अघि बढ्न र वैज्ञानिक समाजवादमा पुग्न सफल हुनुपर्दछ । यसमा पार्टी आन्तरिक र बाह्य अवरोधहरूलाई समाधान गर्दै लेनिनझैँ अघि बढ्नुपर्दछ । पार्टीको नेतृत्वमा दलाल पुँजीवादका विरुद्ध मजदुर, किसान, सिपाही, राष्ट्रिय पुँजीपति र मध्यमवर्गको मोर्चा खडा गर्नुपर्दछ र एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको विषयलाई एकरूपताका साथ पार्टीपङ्क्ति र जनतामा लैजानु विजयको भौतिक शक्ति तयार हुनु हो ।’

कार्यक्रममा विशेष अतिथि सुजन यादवले भने, ‘आज नेपालमा लेनिनवादका विरोधीहरूले आफूलाई माक्र्सवादी लेनिनवादी माओवादी भनिरहेका छन् । ती नक्कली लेनिनवादीहरूको भण्डाफोर गर्दै सही लेनिनवादी कम्युनिस्ट क्रान्तिकारीहरूलाई शुभकामना दिए ।

नख्खु कारागारमा १५२ औँ लेनिनजयन्ती तथा ७३ औँ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस भव्य रूपले मनाइएको छ । कार्यक्रमको अध्यक्षता सूर्यबहादुर तिमिल्सिनाले गरेका थिए भने सञ्चालन उमेश केसी र स्वागत भाषण रामकृष्ण खतिवडाले गरेका थिए ।

कार्यक्रममा रोहित ढुङ्गाना, प्रेमबहादुर विक, रामेश्वर पौडेल र बुद्धि श्रेष्ठले लेनिनको जीवनी र कार्यको विवेचना गर्नुका साथै नेपालमा लेनिनको वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र उत्पीडित जनताको समस्या समाधान गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :