दलित मुक्ति मोर्चा दाङको अध्यक्षमा परियार

दलित मुक्ति मोर्चा दाङको अध्यक्षमा परियार

लमही : नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति दाङको ८ औँ जिल्ला भेला दाङको लमहीमा सम्पन्न भएको छ । भेलाले सुरज परियारको अध्यक्षतामा १८ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा रेशम सुनार, सचिव केशर विक, सहसचिव लोकबहादुर सुनार र कोषाध्यक्षमा केशर परियार रहेका छन् ।

‘सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन, वैज्ञानिक समाजवादका पक्षमा दलित मुक्ति मोर्चाको ८ औँ जिल्ला भेला’ नाराका साथ भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा दाङ जिल्ला सेक्रेटरी गणेश चौधरीले पुँजीवादी संसदीय व्यवस्थाबाट जातीय मुक्ति सम्भव नभएकाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सम्पूर्ण दलितहरू लाग्नुपर्ने बताए । उनले राजारजौटाले मान्छेलाई कज्याएर खानका लागि सामन्तहरूले जातीय व्यवस्था ल्याएको पनि बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै दलित मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज टीकाराम नेपालीले जात व्यवस्थाका विरुद्ध सङ्घर्ष गर्न सम्पूर्ण दलितहरू एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन आह्वान गरे ।

शुभकामना मन्तव्य राख्दै नेकपा पूर्वी घोराही इन्चार्ज जनकले उत्पीडित दलितहरू आफ्नो हकअधिकार प्राप्तिका लागि निर्मम सङ्घर्ष गर्नुपर्ने बताए । उनले भने, ‘जहाँ थिचोमिचो, अन्याय, शोषण दमन हुन्छ त्यहाँ प्रतिरोध र विद्रोह गर्नुपर्छ ।’

कार्यक्रममा मगर मुक्ति मोर्चा राप्ती ब्युरो इन्चार्ज भीमप्रकाश पुन, मगर मुक्ति मोर्चा दाङका संयोजक सेबेन्द्र मगर र नेकपा दाङ जिल्ला सल्लाहकार सदस्य मधुसूदनको आतिथ्य रहेको थियो ।

दलित मुक्ति मोर्चा नेपाल दाङका संयोजक सुरज परियारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेशम विकले गरेका थिए । नवनिर्वाचित जिल्ला समितिलाई नेकपा लमही नगर सेक्रेटरी उज्ज्वलले बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :