शिक्षामा दर्शनको महत्व

विषय प्रवेश

हाल विश्वमा मौजुदा शिक्षा र त्यसको प्रणाली कुनै दृष्टिकोणबाट वा भनौँ निश्चित विचारधाराबाट सञ्चालित छ वा कुनै हचुवा तालाबाट यो सञ्चालित छ ? अथवा यो कुन विचार वा दृष्टिकोणबाट वा भनौँ कस्तो दर्शनबाट सञ्चालित भैरहेको छ भन्ने सवाल आजको मुख्य प्रश्न बन्न गएको छ । पढ्ने र पढाउने जिम्मेवारी लिएकाहरूले भन्नसक्छन् र भन्दै पनि आइरहेका छन्– किन चाहियो शिक्षामा दृष्टिकोण, किन चाहियो शिक्षामा दर्शनका कुरा ? यो त वाइयात बहस हो । यो त जुँगादारी सेतै फुलेकाहरूको काम हो । यो हामीले गर्ने काम होइन । हामीलाई त यहाँ पढ्नु छ, पढाउनु छ । हामीले दर्शनतिर सोचेर किन समय खेर फाल्ने ? यस्ता प्रश्नहरू पनि गर्न सकिन्छ परन्तु यहाँनेर हामीले के बुझ्न जरुरी छ भने कुनै पनि चीज वा वस्तुको निर्माण त्यसको, विकास र विनास निश्चित नियमका आधारमा भैरहेको हुन्छ । जसलाई बुझ्न र बदल्न हामीलाई वस्तु बन्ने नियमहरू बुझ्न अति आवश्यक हुन जान्छ । त्यसरी नै हामीले आजको समाज, राज्य र यसको मुख्य सामग्रीका रूपमा रहेको शिक्षा यसको प्रणाली बदल्नका लागि सर्वप्रथमत यसको निर्माणका नियमहरू बुझ्न अति आवश्यक छ ।

नियमहरू आजको समाज र राज्य पनि कुनै न कुनै धारणाका आधारमै चलिरहेका छन् । आजको शिक्षाप्रतिको वर्तमान राज्यको दृष्टिकोण वा भनाैँ बर्तमान राज्यको हेराइ के हो ? शिक्षा कस्तो दर्शनमा आधारित छ ? र यसको दर्शन के हो ? शिक्षा र यसको प्रणालीको दर्शन हुन्छ कि हुँदैन ? हुन्छ भने शिक्षाको दर्शन के हो ? भनेर प्रस्ट पार्न जरुरी छ । यस लेखमा शिक्षाको दर्शनको नै मुख्य विषयवस्तु हुनेछ । त्यसभन्दा अगाडि दर्शन भनेको के हो त छोटो परिचय जान्न आवश्यक हुन्छ ।

दर्शन

परम्परागत नेपाली संस्कारअनुसार हामी भन्ने गर्छौं ‘दर्शन पाऊँ न हजूर । दर्शन पाउनै गारो हजूरको त …।’ दर्शन गरिसकेपछि त्यसबस्तुका बारेमा आफ्नो धारणा बनाउँछौँ । यसबाट अर्थमा दर्शन भनेको हेर्नु, देख्नु र त्यसप्रतिको दृष्टिकोण निर्माण गर्नु भन्ने हुन्छ भन्ने प्रस्टै थाहा हुन्छ । हेरेर हामीले वस्तु र घटनाप्रति आफ्नो धारणा तय गर्छौं । यस अर्थमा दर्शन भनेको दृष्टिकोण हो । आझै दार्शनिकहरूको शब्द सापटी लिएर भन्दा यो विश्वदृष्टिकोण हो । माक्र्सवादी चिन्तक तथा दार्शनिक मोहन वैद्य किरणका अनुसार दर्शन शब्द संकृत भाषाको ‘दृश’ धातुबाट आएको भनिन्छ जसको अर्थ हेर्नु वा बुझ्नु भन्ने हुन्छ । कुनै पनि वस्तुप्रतिको दृष्टिकोणलाई नै दर्शन भनिन्छ । दर्शनलाई अङ्ग्रेजी भाषामा फिलोसोफी (Phylosophy) भनिन्छ । यो फिलोसोपीm शब्द सर्वप्रथम ग्रिकका दार्शनिक पाइथागोरसले प्रयोग गरेका हुन् । यसको अर्थ ज्ञानको प्रेमी (Lover of Wisdom) अथवा ज्ञानप्रतिको अनुराग भन्ने हुन्छ ।

विभिन्न दार्शनिकहरूले दर्शनलाई भिन्नभिन्न कोणबाट परिभाषित गरेका छन् । दर्शन पनि चिन्तन र वस्तु (सत्ता) उत्पत्तिको प्रथमिकता र यो जगत्को बोधगम्यताका आधारमा दुई भागमा विभाजित छ । त्यो हो भौतिकवादी दर्शन र अध्यात्मवादी दर्शन । आध्यात्मवादी दर्शनका अनुसार चेतनाको उत्पत्ति पहिले भएको हो अथवा चेतना नै यो संसारको आदि (प्राथमिक) तत्व हो । चेतनाले नै यो ब्रह्माण्ड, पृथ्वी, जल, जीवनको सृष्टि गरेको हो । यस दर्शनका अनुसार विश्वब्रह्माण्डको निर्माण हुनुमा सृष्टिकर्ताको खाँचो परेको र सृष्टिकर्ताले नै सारा जगत्को निर्माण गरिदिएका हुन् । चेतना नै सम्पूर्ण अस्तित्वको पूर्वाधार हो । पदार्थभन्दा चेतना पहिल्यै अस्तित्वमा थियो ।

अध्यात्मवादी दर्शनका अनुसार विश्वब्रह्माण्डको बोध गर्न सकिँदैन अथवा यसलाई मानवको चेतनाले बोध गर्न सक्दैन । यहाँ हुने घटना–परिघटनाहरूलाई बुझ्न सकिँदैन । मानिसको बुद्धिविवेकले प्रकृतिको रहस्य बुझ्न र यसको विकासका नियमहरू पत्ता लगाउन सक्दैन । बदल्ने कुरा त परको कुरा भयो ।

सृष्टिको निर्माण सृष्टिकर्ताले नै गरेको हो भनेर दिनदहाडै उद्घोष गर्ने तर सृष्टिकर्ता कहाँबाट आयो भनेर चुइँक्क नबोल्ने अध्यात्मवादी दर्शनको व्याख्याबाट भगवान् वा ईश्वरको अस्तित्व नरहेको प्रस्टै हुन्छ ।

दोस्रो : माक्र्सवादी दर्शन वा द्वन्द्वात्मक भौतिकवादी दर्शन ।

माक्र्सवादी दर्शनलाई द्वन्द्वात्मक भौतिकवादी दर्शन भनिन्छ । माक्र्सवादी दर्शनले आदर्शवादी दर्शनले गरेको जगत्को रहस्यको व्याख्याको विपरीत ढङ्गले व्याख्या गरेको छ । भौतिकवादी दर्शनले यो जगत्को आदितत्व वा प्राथमिक तत्व पदार्थ हो भनेर पुष्टि गरेको छ । भौतिकवादले चेतनालाई नभएर पदार्थलाई पहिलो मानेको छ । पदार्थ पहिलो हो, त्यसपछि मात्रै चेतनाको विकास भयो । चेतना भनेको त पदार्थको असाधारण विकासको उपज हो । हालसम्मको अध्ययनअनुसार पदार्थको उच्चतम् विकासको परिणाम नै चेतना हो । भौतिकवादले यो जगत्को निर्माणमा कुनै सृष्टिकर्ताको आवश्यकता नभएको प्रमाणित गर्दै अध्यात्मवादले खडा गरेको अलौकिक शक्तिको मनगढन्ते तर्कलाई खारेज गरेको छ । यसले हवाईकल्पनामा सवार गरेको जगत्को उत्पत्तिसम्बन्धी गम्भीर विचारलाई यथार्थको धरातलमा उतारिदिएको छ । भौतिकवादले यो जगत् र जगत्को विकासका नियमहरूलाई बोध गर्नसकिन्छ भनेर अध्यात्मवादको खरो आलोचना गरिदिएको छ । जगत्का नियमहरूलाई बुझेर त्यसलाई सपेक्षतामा बदल्न सकिने कुरालाई आफ्ना तार्किक र वैज्ञानिक निष्कर्षहरूद्वारा यसले पुष्टि गरेको छ ।

दार्शनिक प्रतिपक्षता (पक्षधरता) : दर्शनका विषयमा छलफल गर्दा मुख्य रूपमा पक्षधरताको कुरा आउँछ किनकि समाजमा दुईवटा वर्ग मौजुद छन् । तिनीहरूका बीचमा वर्गसङ्घर्ष पनि चल्दै आएको छ । यही वर्गसङ्घर्षका बीचबाट दर्शनको जन्म भयो । एउटा वर्ग शोषक, उत्पीडक र शासकका रूपमा रहेको छ भने अर्को वर्ग शोषित, उत्पीडित र अन्यायपूर्वक शासित छ । यी दुई वर्गको जीवन र जगत्प्रतिको धारणा पनि बेग्लै किसिमको छ । यही दृष्टिकोणलाई हामी यिनीहरूको विश्वदृष्टिकोण भन्ने गर्छौं ।

यिनीहरूमध्ये कसले कसका पक्षमा वकालत गर्छन् त ? सत्यका पक्षमा, मानवताका पक्षमा, विज्ञानका पक्षमा, नवीनताका पक्षमा कुन दर्शनले वकालत गर्छ वा यसका विपक्षमा वकालत गर्छ, यसैका आधारमा दर्शनको प्रतिपक्षता निहित रहेको छ ।

मान्छे रोगी हुनु, मानिस दुःखी हुनु, अकालमै मृत्यु हुनु, प्राकृतिक विपत्तिहरू जस्ता जीवन र प्रकृतिमा हुने घटनाहरूको कारणलाई खोज र अनुसन्धानको विषय नबनाएर सीधै भगवान् रिसाएका कारणले भएका हुन्, दुःख मान्छेको भाग्यका कारणले भएको हो, यो पूर्वजुनीको फल हो भनेर मान्ने आवधारणा नै अध्यात्मवादी अवधारणा हो । यो अवधारणाले हामीलाई आलोचनात्मक बनाएन । यसले आफ्ना विरुद्धमा आउने प्रश्नहरूमाथि प्रतिबन्ध लगायो । बरु परमेश्वरलाई पुज्न लगायो । मान्छेलाई भगवान्को मूर्तिपूजक बनायो । त्यसैले यो दर्शन सामजको एउटा हिस्साको औजार बन्यो । आफ्नो त्यस किसिमको अपरिवर्तनीय र जड चरित्रका कारण अध्यात्मवाद त्यस वर्गको हतियार बन्न पुग्यो जुन राज्यसत्तामा विराजमान थियो । अध्यात्मवाद सामन्तवादी युगमा सामन्तवादको जुझारु हतियार बनेर सामन्तवादको सेवामा रह्यो । यो समाजलाई शोषण, दमन गर्ने शासकहरूको दमनको हतियारका रूपमा प्रयोग भयो । माक्र्सवादी चिन्तक चैतन्य आफ्नो पुस्तक माक्र्सवादी दर्शनमा लेख्नुहुन्छ, ‘युरोपमा मध्ययुगको अन्त्यतिर आदर्शवाद र भौतिकवादका बीच जुन सङ्घर्ष चल्यो त्यो मरणशील सामन्तवाद र उदीयमान पुँजीपति वर्गका बीचको वर्गसङ्घर्षको अभिव्यक्ति थियो ।’ (माक्र्सवादी दर्शन पेज ९ ।) त्यसैले आजको समाजमा जुन सङ्घर्ष चलिरहेको छ त्यो पनि दलाल पुँजीवादी वर्ग र श्रमजीवी, शोषित–उत्पीडित सर्वहारा वर्गबीचको भनौँ, दुई वर्गबीचको सङ्घर्ष हो ।

माक्र्सवादी दर्शन (द्वन्द्वात्मक भौतिकवादी दर्शन) ले प्रकृति र समाजको सच्चा र वैज्ञानिक व्याख्या गरेको छ । यसले सृष्टिको उत्पत्ति र यसका नियमहरूको अन्वेषण गरेर पत्ता लागेका तथ्यहरूका आधारमा प्रकृति र समाजको विश्लेषण गरेको छ । माक्र्सवादी दर्शनले समाजको विश्लेषण गर्दै समाजमा वर्गहरूको अस्तित्वलाई उद्घाटित गरिदिएको छ । वर्गहरूका बीचमा सङ्घर्ष चलिरहेको भन्दै हालसम्म हामीसम्म आइपुगेको समाजको लिखित इतिहास वर्गसङ्घर्षको इतिहास हो भनेको छ । समाज र प्रकृतिको वास्तविक व्याख्या गर्ने भएकै कारण यसले समाजमा पनि सामाजिक सत्यको पक्ष लिएको छ । भौतिकवाद समाजको अन्तर्विरोधमा यो शोषित, उत्पीडित, श्रमजीवी र सर्वहारा वर्गका पक्षमा उभिएको छ । माक्र्सवादले वर्गसङ्घर्षमा सर्वहारा वर्गको र उसको स्वार्थको पक्षधरतामा वकालत गर्दछ ।

दर्शनशास्त्रको प्रारम्भिक ज्ञान पुस्तकमा भिक्टर आफानासेभ लेख्छन्, ‘दासप्रथात्मक समाजमा प्रजातन्त्रवादी तत्वहरूले दासका स्वामीहरूको प्रतिक्रियावादी माथिल्लो तह– कुलीन वर्गका विरुद्ध सङ्घर्षका लागि भौतिकवादकै प्रयोग गरेका थिए । पुँजीवादको स्थापनाकालमा पनि भौतिकवादले सामन्तवाद तथा धर्मका विरुद्ध पुँजीजीवी वर्गको सङ्घर्षमा वैचारिक अस्त्रका रूपमा काम गरेको थियो ।’ (पेज नं. १६ ।) यी तथ्यहरूबाट के प्रमाणित भएको छ भने वर्गसङ्घर्षमा द्वन्द्वात्मक भौतिकवादी दर्शनले सदा सत्यको पक्षपोषण गरेको छ । भौतिकवादले सधैँ प्रगतिशील र क्रान्तिकारी परिवर्तनका लागि श्रमजीवी र सर्वहारा वर्गका लागि समाजको क्रान्तिकारी रूपान्तरणको सङ्घर्षमा वैचारिक अस्त्रका रूपमा काम गर्दै आएको छ । द्वन्द्वात्मक भौतिकवादी दर्शनले रूढिवाद र अन्धविश्वासका विरुद्ध विज्ञानको, पुरातनका विरुद्ध नवीनता, प्रतिक्रन्तिका विरुद्ध क्रान्तिको शङ्खघोष गर्दछ ।

यसविपरीत आदर्शवादी दर्शनले सदासर्वदा सर्वहारा, श्रमजीवी, शोषित–उत्पीडित जनताको होइन, शासकहरूका पक्षमा वकालत गरेको छ र गर्दै आएको छ । आदर्शवादले विद्रोह होइन, प्रतिविद्रोह, क्रान्ति नभएर प्रतिक्रान्ति, विज्ञानका पक्षमा नभएर रूढिवादका पक्षमा, नवीनताका पक्षमा नभएर पुरातनका पक्षमा वकालत गर्छ । आज पनि आदर्शवाद मालिकहरूको दर्शन बनेको छ र उनीहरूकै पक्ष लिन पुगेको छ । यसको विपरीत वर्तमान सामाजिक सङ्घर्षमा पनि द्वन्द्वात्मक भौतिकवाद दलाल पुँजीवादका विरुद्धको सङ्घर्षमा श्रमजीवी वर्गको वैचारिक र दार्शनिक अस्त्रका रूपमा उभिएको छ ।

शिक्षा र दर्शनको अन्तरसम्बन्ध

लाग्न सक्छ, शिक्षामा दर्शन र त्यसको व्याख्या गर्न किन आवश्यक भएको होला ? पक्कै पनि दर्शनको परिभाषा र त्यसको पक्षधरताको विषयवस्तुलाई गहिरो गरी अध्ययन गरिसकेपछि यो किन आवश्यक छ भन्ने कुरा हामीलाई प्रस्टै भएको हुनुपर्छ । दर्शन र शिक्षाको गहिरो सम्बन्ध रहेको छ । शिक्षा र दर्शन एकै सिक्काका दुई पाटाका रूपमा रहेका छन । शिक्षाबिना दर्शन हुनै सक्दैन भने दर्शनविहीन शिक्षाको पनि कल्पनै गर्न सकिँदैन ।

हरेक युगको दर्शन आफ्नो प्रयोगशालाका रूपमा रहेको त्यो युग÷समयको शिक्षामा प्रतिबिम्बित भएको हुन्छ । हरेक युगको शिक्षाले त्यो युगको दर्शनको प्रतिनिधित्व गरेको हुन्छ र दर्शन त्यो समयको शिक्षामा अभिव्यक्त भएको हुन्छ । आफ्नो समयको समाजलाई नै सञ्चालन गर्ने चालकका रूपमा मुख्य भूमिकामा शिक्षा हुने हुनाले पनि शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । दर्शन र शिक्षाको सम्बन्धमा जोन डिबे भन्नुहुन्छ, ‘शिक्षा त्यो प्रयोगशाला हो जहाँ दर्शनशास्त्रीय धारा (दिशा) मूर्त र परीक्षण हुन्छ ।’ अझ शिक्षा र दर्शनको अन्तरसम्बन्धका बारेमा जोहन एडम्स भन्नुहुन्छ, ‘शिक्षा भनेको दर्शनशास्त्रको बहुआयामिक क्षेत्र हो ।’

उत्पादनको सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक परीक्षणबाट दृष्टिकोण बन्छ र त्यो शिक्षाको प्रयोगशालामा परीक्षण हुन्छ । त्यो दृष्टिकोण बोकेको शिक्षा समाजमा लागू हुन्छ र समाजमा प्रतिबिम्बित हुन्छ । शिक्षा र दर्शनको असाधारण अन्तरसम्बन्ध यसबाट अझ स्पष्ट हुन्छ ।

शिक्षाको दर्शन

जसरी दर्शनका दुईवटा धारा छन् त्यसरी नै तिनको प्रयोगशालाका रूपमा रहने शिक्षाका पनि आआफ्नै दृष्टिकोण छन । शिक्षाको दर्शन कुन हो बुझ्नका लागि जीवन र जगत्को उत्पत्तिका बारेमा यसको दृष्टिकोण के हो भनेर जान्नुपर्छ । यो ब्रह्माण्डको उत्पत्ति अथवा पदार्थ र चेतनामध्ये आदितत्व कुन हो अथवा यी दुईमध्ये प्राथमिक कुन हो । यसका सम्बन्धमा अहिलेको शिक्षाले कस्तो धाराणा बनाएको छ ? अहिलेको शिक्षाको दर्शन यसैमा निहित रहेको छ । दर्शनको शिक्षाप्रतिको दृष्टिकोण र त्यसमा आधारित शिक्षाले पनि सोही दर्शनको नै अनुसरण गर्ने भयो । किनभने अहिलेको शिक्षाप्रणालीले कसको सेवा गर्दछ भन्ने कुरा पनि त्यसले अनुसरण गरेको दृष्टिकोणका आधारमा प्रस्ट हुन्छ किनकि दार्शनिक पक्षधरताले नै त्यसको शिक्षाप्राणालीको पक्षधरताको पनि छिनोफानो गर्दछ । अथवा अहिलेको शिक्षाले कस्तो दार्शनिक प्रणाली अँगालेको छ भन्ने कुराले त्यसको राजनीतिका साथै उसको व्यवस्थाको पनि निर्धारण गर्दछ ।

अध्यात्मवादी दर्शनले अध्यात्मवादको जगमा आधारित शिक्षाप्रणालीको विकास गराउँछ । जतिजति विज्ञान र प्रविधिको विकास भए पनि आदर्शवादी दर्शनमा आधारित शिक्षाले घुमाइफिराइ रूढिवादको नै वकालत गर्दछ । जगत्को उत्पत्तिको सवालमा पदार्थ र चेतना (आत्मा) मध्ये कुन प्राथमिक हो भनी मान्ने विषयमा पनि यस शिक्षाप्रणालीले घुमाउरो ढङ्गले चेतना नै अगाडि बनेको हो भनेर मान्छ । चेतना प्राथमिक हो भन्छ र पदार्थलाई चेतनाले जन्माएको हो भनेर मान्छ । यो प्रणालीले जगत्को बोधगम्यतालाई पनि छद्म तरिकाले अस्वीकार गर्दछ । यस्तो शिक्षाप्रणालीलाई हामी अध्यात्मवादी शिक्षाप्रणाली भन्छौँ । यस शिक्षाप्रणालीका पनि दुईवटा धाराहरू छन् : १) रूढिवादी बुर्जुवा शिक्षा अनि यसको प्रणाली र २) नवउदारवादी–उत्तरसाम्राज्यवादी शिक्षा अनि यसको प्राणाली ।

अर्कोतर्फ माक्र्सवादी दर्शन (द्वन्द्वात्मक भौतिकवादी दर्शन) मा आधारित शिक्षाप्रणालीले जगत्को उत्पत्ति पदार्थबाट भएको हो भनेर ठोकुवाका साथ भन्छ । यसले प्रकृति विज्ञान र समाज विज्ञानले गरेका आविष्कारको नतिजा प्रस्तुत गर्दै पदार्थ नै आदि तत्व हो, चेतना त पदार्थको असाधारण विकासको उपज मात्रै हो भनेर अध्यात्मवादी शिक्षाको अवधारणालाई खारेज गर्दछ । यसले जगत्को बोधगम्यताको असली वास्तविक रहस्योद्घाटन गर्दै जगत्लाई बुझ्न र बदल्न सकिन्छ भन्ने कुरालाई पुष्टि गर्दछ । यसप्रकारको शिक्षालाई माक्र्सवादी शिक्षा (द्वन्द्वात्मक भौतिकवादी शिक्षा/प्रणाली) भनिन्छ । यसलाई पनि मुख्यतया तीन भागमा विभाजन गरिएको छ जसमा १) जनवादी शिक्षा, २) वैज्ञानिक समाजवादी शिक्षा र ३) वैज्ञानिक समाजवादी साम्यवादी शिक्षा ।

दर्शन (विश्वदृष्टिकोण) नभएको शिक्षा नै हुनसक्दैन । योबिना शिक्षा पनि असम्भवजस्तै छ । शिक्षाको पनि आफ्नो दर्शन हुन्छ । त्यसले अवलम्बन गरेको दर्शनका आधारमा नै शिक्षा र यसको प्रणाली निर्धारित हुन्छ । यसैका आधारमा शिक्षाको वर्गीकरण भएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :