पार्टी स्थापना दिवसका अवसरमा महासचिव विप्लवद्वारा शुभकामना

‘दलाल पुँजीवादी सत्ताको सङ्कट र असफलताले वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने असाधारण परिस्थिति तयार’

पार्टी स्थापना दिवसका अवसरमा महासचिव विप्लवद्वारा शुभकामना

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको १५२ औँ जन्मदिनका अवसरमा सबै नागरिकमा शुभकामना सन्देश व्यक्त गरेको छ । लेनिनको १५२ औँ जन्मदिन तथा ७३ औँ पार्टी स्थापना दिवसका अवसरमा बिहीबार प्रेस वक्तव्य जारी गर्दै नेकपाका महासचिव विप्लवले नेपाली जनताको मुक्ति एवम् स्वाधीनताको चाहनालाई नेतृत्व दिने संस्थापक महासचिव पुष्पलालसहित चारजना संस्थापकप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।

महासचिव विप्लवको वक्तव्यमा भनिएको छ, ‘पार्टी स्थापना दिवस एवम् महान् नेता लेनिनको १५२ औँ जन्मदिन हो । सर्वप्रथम हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी पार्टी स्थापना दिवस एवम् लेनिन दिवसको सुखद अवसरमा सबै नागरिकहरूमा सगर्व शुभकामना व्यक्त गर्दछ । साथै कम्युनिस्ट पार्टी स्थापना गरेर नेपाली जनताको मुक्ति एवम् स्वाधीनताको चाहनालाई नेतृत्व दिने संस्थापक महासचिव कमरेड पुष्पलालसहित चारजना संस्थापक कमरेडहरूप्रति उच्च सम्मान व्यक्त गर्दछ ।’

पार्टी स्थापना दिवसका अवसरमा कम्युनिस्ट आन्दोलनलाई यो शिखरसम्म पुर्याउन आफ्नो जीवन बलिदान गर्ने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव विप्लवले बेपत्ता तथा घाइते योद्धाहरूप्रति उच्च सम्मान र स्मरण गरेका छन् । साथै गौरवशाली कम्युनिस्ट आन्दोलनमा सङ्गठित भएर वा साथ–सहयोग गरेर अग्रगामी भूमिका पूरा गर्ने आमपार्टीपङ्क्ति र जनसमुदायमा धन्यवाद प्रकट गरेका छन् ।

वर्तमान दलाल पुँजीवादी सत्ताको सङ्कट एवम् असफलताले वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने असाधारण परिस्थिति तयार भएको भन्दै विप्लवले वक्तव्यमा भनेका छन्, ‘कमरेड पुष्पलालले पार्टी स्थापनाका क्रममा नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्रमा पार्टीको उद्देश्य उल्लेख गर्दै लेख्नुभएको छ, ‘वर्तमान सामन्तवादी प्रथा र नेपालमा फैलिएको साम्राज्यवादी तथा पुँजीवादी शोषणको जुवालार्ई सफाचट गर्ने बाटो हो, …अतः नेपाली जनताले आखिरी साससम्म जनताको जनतन्त्र र समाजवादका निम्ति लड्नु पर्दछ ।’ आज नेपाली जनता सामन्तवादलाई समाप्त गर्न सफल भएका छन् तर सत्ता जनताको हातमा आएको छैन, दलाल पुँजीवादी वर्र्गको हातमा छ । तर दलाल पुँजीवादी सत्ताको सङ्कट एवम् असफलताले यो सत्तालाई परिवर्तन गर्न र वैज्ञानिक समाजवादी सत्ता प्राप्त गर्ने असाधारण परिस्थिति तयार भएको छ ।’

बदलिँदो राजनीतिक परिस्थिति सरकार र नेकपाबीच भएको ३ बुँदे सहमतिलगायत विषयलाई पनि सम्बोधन गर्दै महासचिव विप्लवको वक्तव्यमा भनिएको छ, ‘हाम्रो पार्टीले आफ्नो पुनर्गठनको समयमा नै बताएको थियो– नेपाल कम्युनिस्ट पार्टीको प्रमुख उद्देश्य नेपालको दलाल पुँजीवादी सत्ता र संसदीय व्यवस्थालाई आमूल परिवर्तन गरेर देशमा वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु हुनेछ । हामीले देशमा व्याप्त भ्रष्टाचार, करछली, तस्करी, महँगी, राष्ट्रघातका विरुद्ध इमानदारीपूर्वक सङ्घर्ष गर्यौँ । राज्य र नेकपाका बीचमा अनेकौँ दमन र प्रतिरोधका शृङ्खलाहरू चले । यस बेला हाम्रो पार्टी र राज्यका बीचमा वार्ता भई ३ बँुदे सहमति घोषणा भएको छ । पार्टीमाथिको प्रतिबन्ध हटेको छ तर अझै पनि हाम्रा सयौँजना कमरेडहरू जेलमा बन्दी हुनुहुन्छ । मुद्दाहरू खारेज भइसकेका छैनन् । कैयौँ तत्वहरूले यो सहमतिलाई बिथोलेर वा असफल पारेर धमिलो पानीमा माछा मार्न चाहेको पनि देखिँदैछ । यस्तो बेला सहमतिलाई इमानदारीपूर्वक छिटोभन्दा छिटो लागू गर्ने जिम्मा हामीमाथि छ । आशा छ हामी ३ बुँदेलाई लागू गर्दै देशका राजनीतिक, आर्थिक, सांस्कृतिक, राष्ट्रियताका विषयमा गहन विमर्श गर्न र उचित निकास निकाल्न सफल हुनेछौँ ।’

संसदीय व्यवस्थाको स्थानमा जनताको वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने दिशामा निर्भीकतापूर्वक अगाडि बढ्न विशेष अपिल गर्दै विप्लवले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘देशलाई युगान्तकारी निकास चाहिएको यो परिस्थितिमा हामी सबै वामपन्थी, देशभक्त, प्रगतिशील लोकतन्त्रवादी एवम् कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध हुन र यो संसदीय व्यवस्थाको स्थानमा जनताको चाहनालाई प्रतिनिधित्व गर्नसक्ने वैज्ञानिक समाजवादी व्यवस्था प्राप्त गर्ने दिशामा निर्भीकतापूर्वक अगाडि बढ्न विशेष अपिल गर्दछौँ ।’ 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :