ट्रेड युनियन महसङ्घ सिन्धुपाल्चोकको भेला सम्पन्न

ट्रेड युनियन महसङ्घ सिन्धुपाल्चोकको भेला सम्पन्न

बलेफी : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महसङ्घ सिन्धुपाल्चोकको प्रथम भेला भव्य रूपमा सम्पन्न भएको छ । सिन्धुपाल्चोकको बलेफीमा बुधबार सम्पन्न भेलाले ९ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितमा संयोजक कृष्णलाल श्रेष्ठ, सदस्यहरु रोहन श्रेष्ठ, सुमन श्रेष्ठ, होमनारायण श्रेष्ठ, हीरा थामीलगायत चयन भएका छन् ।

भेलालाई सम्बोधन गर्दै महासङ्घका संयोजक विनोद थापाले राजधानीनजिक रहेर पनि अति पिछडिएको जिल्ला हुनु दुःखद् रहेको र जनताले हरेक राजनीतिक परिवर्तनलाई साथ दिए पनि यहाँका मुठीभर दलालका कारण मजदुरहरूले पीडा भोगिरहेको बताए । यस्ता तत्वहरुलाई परास्त गर्न जिल्ला महासङ्घ सक्षम हुने पनि उनले बताए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकका इन्चार्ज युगीनले जनताले चाहेको व्यवस्था आइनसकेकाले राष्ट्रघात र जनघात बढिरहेको बताए । यस क्षेत्रको जथाभाबी प्राकृतिक दोहन–उत्खननका कारण जिल्ला कुरूप र महाविपत्तिको सामना गर्नुपरिरहेको उनले बताए । जिल्लामा काम गर्ने हाइड्रो खानी, यातायात, उद्योग, निर्माणलगायत मजदुरहरू चरम श्रम शोषणमा परेकाले अन्यायका विरुद्ध डटेर सङ्घर्ष गर्नुपर्नेमा उनले जोड दिए ।

युगीनले अब जनताले आफ्नो व्यवस्था चुन्ने अधिकार आफैँले पाउनुपर्ने बताए । पार्टीले गाउँगाउँमा अभियान पुर्याउँदा स्थानीय बासिन्दा खुसी भएको र दलाल सत्ताको ताबेदारी गर्नेहरुको निद्रा समाप्त भएको उनको भनाइ थियो ।

भेलामा मजदुर आन्दोलनका बारेमा महासङ्घको ताम्सालिङ क्षेत्रीय समन्वय समितिका संयोजक जित थामीले प्रस्ट पारेका थिए । कार्यक्रमका सहभागीलाई सुमन श्रेष्ठले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :