प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवबीच महत्वपूर्ण छलफल

बन्दी रिहाइ र देशको विकास निर्माणका विषयमा महत्वपूर्ण परामर्श र समझदारी

प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवबीच महत्वपूर्ण छलफल

काठमाडौँ : गत फागुन २१ गते सरकार र नेकपाबीच भएको तीनबुँदे सहमतिलाई परिणाममुखी बनाउने तयारीस्वरूप प्रधानमन्त्री केपी ओली र नेकपाका महासचिव विप्लवबीच महत्वपूर्ण भेटघाट, छलफल र समझदारी भएको छ ।

आइतबार भएको छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री ओलीका साथमा सरकारी वार्ताटोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट महासचिव विप्लवका साथमा पार्टी प्रवक्ता एवम् वार्ताटोलीका संयोजक प्रकाण्ड सहभागी रहेको जानकारी नेकपाको उच्च स्रोतले दिएको छ ।

सरकार र नेकपाका शीर्ष नेताबीच भएको वार्तामा राजनीतिक पार्टीका बन्दी नेता–कार्यकर्ताको रिहाइ र मुद्दा खारेजीका विषयमा गम्भीर छलफल भएको जनाइएको छ । सरकारका तर्फबाट प्रधानमन्त्री ओलीले थुनामा रहेका सबै नेता–कार्यकर्ता यथाशीघ्र छुट्दै जाने विश्वास दिलाएका थिए । त्यस्तै नेकपाका नेताहरूले आफ्नो पार्टीका सम्पूर्ण बन्दी नेता–कार्यकर्ता छिट्टै रिहा हुने विश्वास व्यक्त गरेका छन् ।

छलफलका क्रममा नेकपाका शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीलाई देशको राजनीतिक समस्या अत्यास लाग्ने गरी जटिल स्थितिमा पुगेको र यो अवस्थालाई ध्यानमा राखेर अग्रगामी ढङ्गले समस्या समाधानका लागि अघि बढ्न सुझाव दिएका थिए ।

सरकार र नेकपाका शीर्ष नेताहहरूबीच देशको विकास निर्माणका विषयमा समेत महत्वपूर्ण परामर्श र समझदारी भएको छ । विशेषगरी आमजनताको जनजीविकासम्बन्धी समस्या दीर्घकालीन रूपले समाधान गर्न राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण गर्नुपर्ने, त्यसका लागि कृषि क्षेत्रलाई उत्पादनको प्रमुख माध्यमका रूपमा विकास गर्ने, औद्योगिक क्षेत्रमा साना, मझौला र राष्ट्रिय उद्योगहरूमा राष्ट्रिय लगानी गर्न प्रोत्साहित गर्न विशेष नीति तर्जुमा गर्नुपर्ने, आमयुवालाई कृषि, उद्योग, पर्यटनलगायत सबै क्षेत्रमा रोजगारी सुनिश्चित गरी युवाहरूलाई राष्ट्रिय अर्थतन्त्रको चालक शक्तिका रूपमा विकास गर्नुुपर्ने, उपेक्षित र ग्रामीण क्षेत्रमा सडक खानेपानी, विद्युतलगायत भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्नेलगायत विषयमा समेत समझदारी भएको नेकपाको उच्च स्रोतले जनाएको छ ।

सरकारले यी सबै विषयलाई गम्भीरतापूर्वक ग्रहण गर्दै आगामी दिनमा प्राथमिकतासाथ योजनामा समावेश गर्ने प्रतिबद्धता जनाएको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :