गुण्डागर्दी गर्नेमाथि कारबाही गर : नेकपा

गुण्डागर्दी गर्नेमाथि कारबाही गर : नेकपा

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्लाको राक्सिराङ गाउँपालिका वडा न. ४ स्थित गिङ्ग्यु खानीमा भएको घटनाप्रति घोर आपत्ति प्रकट गर्दै भत्र्सना गरेको छ । नेकपा मकवानपुरका सेक्रेटरी उदीपले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जनगुनासो लिएर खानी अनुगमनमा पुगेका नेकपाका इलाका इन्चार्ज वसन्त, युवा सङ्गठनका इलाका अध्यक्ष सन्देशलगायत कार्यकर्तामाथि हातपात तथा कुटपिट गर्ने गुन्डानाइकेमाथि तत्काल कारबाही गर्न र प्रभावित क्षेत्रका जनताको माग जिम्मेवारीका साथ पूरा गर्न प्रशासनसँग अनुरोध गरेका छन् ।

उदीपले जारी गरेको प्रेस विज्ञप्तिमा प्रभावित क्षेत्रका जनताका तर्फबाट नेकपा मकवानपुरले राखेका माग सम्बन्धित निकायबाट कार्यान्वयन नगरिएमा कुटपिट गर्ने व्यक्ति र खानीमाथि कारबाही गरिने र खानी बन्द गराउन जनसङ्घर्ष गर्ने उल्लेख छ ।

गिङ्ग्यु खानीले निरन्तर अवैध रूपमा प्राकृतिक स्रोतसाधनको उत्खनन गर्दै आइरहेको स्थानीयको गुनासो छ । खानीका कारण जनजीवनमा नराम्रो असर परिरहेको छ । स्थानीय बासिन्दाले पटकपटक क्षतिपूर्तिसहित सुरक्षित बासस्थानको माग गर्दै आन्दोलन गरिरहँदा सम्बन्धित निकायले प्रभावित क्षेत्रको मागलाई सम्बोधन नगरेपछि उत्पीडित बासिन्दा गुहार माग्दै नेकपासमक्ष पुगेका थिए ।

जनगुनासो आएपछि प्रभावित क्षेत्रको अनुगमन गर्न गएका नेकपाका कार्यकर्तामाथि खानी संरक्षक भनिने नेपाली काङ्ग्रेसका गुन्डानाइकेहरुले निर्घात कुटपिट गरेको नेकपा मकवानपुरले जनाएको छ । अनुगमन गर्न गएका व्यक्तिमाथि हातपात तथा कुटपिट गरिएको भन्दै नेकपा मकवानपुरले घोर आपत्ति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :