प्रधानमन्त्री ओली र नेकपा प्रवक्ता प्रकाण्डबीच छलफल

बन्दी रिहाइको प्रक्रियामा प्रगति भएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री ओली र नेकपा प्रवक्ता प्रकाण्डबीच छलफल

काठमाडौँ : प्रधानमन्त्री केपी ओली र नेकपाका प्रवक्ता प्रकाण्डबीच शनिबार मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा भेटघाट र छलफल भएको छ ।

नेकपा स्रोतले दिएको जानकारीअनुसार प्रवक्ता प्रकाण्डले प्रधानमन्त्रीसँग सरकार र नेकपाबीच गत फागुन २१ गते भएको तीनबुँदे सहमतिअनुसार राजनीतिक बन्दी रिहाइको प्रक्रिया के भइरहेको छ भन्ने जिज्ञासा राखेका थिए । प्रधानमन्त्री ओलीले राजनीतिक बन्दी रिहाइको प्रक्रिया अघि बढिरहेको र कानुनी प्रक्रियामा प्रगति भइरहेको जबाफ दिएका थिए ।

प्रवक्तासँग प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक बन्दी रिहाइका लागि चालिएको प्रक्रिया सकारात्मक तरिकाबाट अघि बढिरहेको छ । यसलाई छिट्टै परिणाममुखी बनाइनेछ र प्रक्रिया पूरा गरेर बन्दी रिहा गरिनेछ ।’

छलफलका क्रममा प्रकाण्डले कोरोनाको नयाँ लहर बढिरहेको अवस्थामा यसको नियन्त्रणमा सरकारका कामकारबाहीबारे गम्भीर चासो राखेका थिए । कोरोना नियन्त्रणका लागि उपयुक्त उपाय अपनाउन, जोखिमयुक्त ठाउँमा विशेष सावधानी अपनाउन, कोरोना परीक्षण र उपचारका विषयमा गम्भीरता अपनाउन, उपेक्षित क्षेत्र र समुदायमा विशेष पहल गर्न, विपन्न नागरिकलाई सहुलियत दिन प्रकाण्डले सरकारलाई सुझाव दिएका थिए ।

प्रधानमन्त्री र प्रवक्ताबीच विद्यमान राजनीतिक समस्या समाधानका लागि सबै पक्षसँग नयाँ ढङ्गबाट छलफल अघि बढाउने विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ । प्रवक्ताले विकास निर्माणका कामहरू पहुँचवालाको सरोकारका आधारमा नभई उपेक्षित जनताको आवश्यकता र चाहनाका आधारमा प्राथमिकता तर्जुमा गर्नुपर्ने धारणा राखेका थिए । यी सबै विषयलाई आगामी दिनमा प्राथमिकता दिएर सम्बोधन गरिने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :