प्रतिबन्ध, गिरफ्तारी र हिरासत बसाइका अनुभव

समाजको अग्रगामी रूपान्तरण र आमूल परिवर्तनसहितको वैज्ञानिक समाजवादी राज्यव्यवस्था प्राप्त गर्न नेपाली विशेषतासहितको एकीकृत जनक्रान्तिको मोडेलबाट मात्र सम्भव छ भन्ने राजनीतिक कार्यदिशासहित हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीको जन्म २०७१ साल मंसिर ८ गतेबाट भयो । तत्पश्चात् यो पार्टीमा आबद्ध नेता र कार्यकर्ताहरू नेपाली क्रान्तिको मोडेललाई कार्यान्वयन गर्न आ–आफ्नो तह र तप्काबाट अग्रसर हुनुभयो । जनतन्त्र, जनजीविका र राष्ट्रियताको सवालमा पार्टीले एकपछि अर्को जनसंघर्षलाई पेचिलो गर्दै लग्यो । यही क्रममा थुप्रै नेता र कार्यकर्ताहरूलाई राज्यले नियन्त्रणमा लगेर विभिन्न झुट्टा मुद्दा चलाएर हतोत्साहित गर्ने प्रयत्न गर्न थाल्यो तर राज्यसत्ताभित्रको चरम संकट र सत्ताका संरचनाभित्रको आपसी अन्तरविरोध र पार्टीको आन्दोलनमा जनताको समर्थनका कारण सरकारले हाम्रो न्यायपूर्ण आन्दोलनलाई रोक्न सकेन । हाम्रो पार्टीले सुरु गरेको आन्दोलनमा जनताको समर्थन विस्तारै बढ्न थाल्यो । यो देखेर सरकार हतोत्साहित मात्र भएन, उसले हामीलाई सिध्याउन अनेक प्रपञ्च रच्न थाल्यो । हाम्रो पार्टीले भ्रष्टाचारी, कर नतिर्ने कम्पनी, व्यभिचारी, दलाल, तस्कर र मानव बेचबिखन गर्नेहरूमाथि एकपछि अर्को कारबाहीलाई तीव्रता दिइरह्यो । यसैबिच हाम्रो पार्टीको ४ औँ वर्षगाँठ हामीले काठमाण्डौको भृकुटीमण्डपमा २०७५ साल मंसिर ८ गते मनाइरहँदा लाखौँ जनताको उपस्थिति रहन गयो ।

४ औँ वर्षगाँठ मनाइसकेपछि पुनः हामी जनतासँगै हातेमालो गर्दै आ–आफ्नो कार्यक्षेत्रमा फर्कियौँ । हामीले तय गरेको संगठन निर्माण र संघर्षको कार्ययोजनालाई एकसाथ अगाडि बढायौँ । सोहीक्रममा पार्टीले राज्यलाई खरबौं कर नतिर्ने एनसेल कम्पनीको मुख्यालयमा कार्वाही गर्दा एकजनाको ज्यान गएको बहाना बनाएर केपी ओली नेतृत्वको सरकारले हाम्रो पार्टीलाई २०७५ साल फागुन २८ गते मन्त्रीपरिषद्को बैठकबाट प्रतिबन्धको घोषणा गर्यो । प्रतिबन्धपश्चात् अधिकांशले खुलेरै विरोध गरे पनि केपी ओली सरकार आफ्नो निर्णयमा टसकोमस भएन । प्रतिबन्धकै बिचबाट हाम्रो पार्टीका गतिविधिहरू अगाडि बढ्न थाले । खुलारूपमा काम गर्नै वातावरण नभएपछि पार्टीका हरेक नेता र कार्यकर्ताले आफ्नो कार्यशैलीलाई बदलेर पार्टी कामलाई घनीभूत बनाइरहे । यसैबिच उपत्यकामा सरकारले सर्च एन्ड एरेस्टदेखि इन्काउन्टरसम्मको योजना बनाएपछि पार्टीपंक्तिले आफ्नो कार्यशैलीलाई अति नै चुस्तदुरुस्त बनायो । सरकारको निर्देशनमा प्रहरीले उपत्यकामा थुप्रै कमरेडलाई गिरफ्तार गरी झुट्टा मुद्दामा फसाउन थाल्यो । यसका बाबजुत पनि कमरेडहरू उच्च साहसका साथ आ–आफ्नो कार्यक्षेत्रमा खटिरहनुभयो ।

राज्यबाट एकपछि अर्को संकटहरू थुप्रिन थालेपछि केही कमरेड पार्टीबाट विभिन्न बहानामा पलायन हुनुभयो । केहीले राज्यसँग आत्मसमर्पण गर्नुभयो र केहीले पार्टीलाई सहयोग गर्नुको सट्टा असयोग गर्नुका साथै, सरकारी पक्षसँग मिलेर सुराकीसमेत गर्न थाल्नुभयो । केहीले पार्टीलाई संकट परेको बेला पदीय बार्गेनिङ गरेर निष्कृय हुनुभयो । यसरी राज्यबाट खडा गरिएका अनेक खालका बाधा व्यवधानलाई छिचोल्दै हामी सबैले आ–आफ्नो कामको जिम्मेवारीलाई ब्यवस्थित गरिरह्यौँ । यसबाट के स्पस्ट हुन्थ्यो भने संकटका बिचमा बिनासर्त काम गर्ने नै साँचो अर्थमा पार्टीको कार्यकर्ता हो भन्ने बुझाइ प्रतिबिम्बित भैरहेको थियो । साथै, यसले क्रान्तिको भविष्यलाई पनि प्रज्वलित गरिरहेको महसुस हुन्थ्यो ।

गिरफ्तारीका विभिन्न अनुभव रहेका छन् । राज्यद्वारा एकपछि अर्को संकट थोपर्दै जाँदा र काठमाडौंमा प्रहरी प्रशासनको बाक्लो उपस्थितिका कारण पार्टीपंक्तिको गतिशीलतामा केही कमी त भएको थियो तर पनि पार्टी च्यानलमा सम्पर्क गरी हामी गतिमै थियौँ । यसैबिच २०७७ मंसिरमा ७ औं वर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाएपछि हामीमा केही उत्साह थपिएको थियो । हामीले हाम्रा गतिविधि गरिरहेका थियौँ । यसैबिच पार्टीको केन्द्रीय समिति बैठक बसेको र आगामी कार्ययोजनासहित तल्लो समितिमा प्रशिक्षण चलाउने कामको योजना बन्दै थियो । विभिन्न कार्यक्रम पार्टी कामकै सिलसिलामा काठमाण्डौ सेक्रेटरी क. पवन र मैले भेटघाट गर्ने निधो गर्यौँ । तत्पश्चात् भेटघाटको लोकेसन फिक्स भयो । मैले वीरेन्द्रलाई बाइक ल्याएर आउन भनेँ । हामीले २०७७ पुस २१ गते ११ बजे भेट्ने समय ठोस गरेका थियौँ । बाइकमा केही खराबी भएका कारण म केही समय ढिलो हुन पुगेँ । करेड पवन पूर्वनिर्धारित समयमा पुगिसक्नुभएको थियो । म र वीरेन्द्र करिब १२ बजेतिर तिलगङ्गा आँखा अस्पतालनजिक पुग्यौँ र पूर्वनिर्धारित ठाउँमा गएर कामको सिलसिलालाई सुरुआत गर्यौँ । हाम्रो करिब डेढघन्टाको बसाइपश्चात् त्यहाँबाट निस्किने निर्णय गर्यौँ ।

क. पवनले क. गौरवलाई भेटेर लेबी लिने र मैले चाबहिल हुँदै बसपार्कतिर जाने निधो गरेँ । हामीले बाइक स्टार्ट गरेर करिब सय मिटरको दुरीमा पुग्नेबित्तिकै गल्लीमा स्र्कापियो गाडी ब्याक भैरहेको थियो । हामीलाई सामान्य लाग्यो । हामीले स्र्कापियोलाई ब्याक हुन दिन हाम्रा बाइकलाई साइडमा लगायौँ । त्यसलगत्तै केही सिभिल मानिसले हामीलाई घेरा हाले र बल प्रयोग गरेर हाम्रो बाइक कब्जामा लिए अनि हामी पुलिस हौँ, यताउति गरिस् भने गोली हानिदिन्छु भने । पछि हामीलाई थाहा भयो, उनीहरू सीआईबी रहेछन् । उनीहरूले हामीलाई नियन्त्रणमा लिनेबित्तिकै गाडीमा हाले र सबैका आँखामा कालो चस्मा, त्यसबाहिर बाक्लो कालो पट्टी र हातमा हतकडी लगाई हामीसँग भएका सबै समान नियन्त्रणमा लिए । त्यसपछाडि उनीहरूले हाम्रो परिचय मागे र हामीले पनि दियौँ । करिब दुई घन्टाको गाडी यात्रापश्चात् उनीहरूले हामीलाई उनीहरूकै अति गोप्य स्थानमा लिएर हामी तीनैजनालाई फरक फरक कोठामा राखे । त्यो ठाउँमा लिएको केही समयपछाडि हाम्रो बयान सुरु भयो । बयानको क्रममा उनीहरूले मानसिक र शारीरिक यातना दिए । उनीहरूले पार्टी आन्दोलन, पार्टीपंक्ति, पार्टी संघर्ष र आगामी योजनाका बारेमा सोधे । त्योक्रम रातैभरि र अर्को दिन बिहानसम्म जारी रह्यो । बयान लिनेक्रममा केहीले शारीरिक यातना दिन्थे भने केहीले सहानुभूति पनि दिए जस्तो गर्थे । बयान लिनेक्रममा के अनुभूति हुन्थ्यो भने मानव अधिकार भन्ने कुरा किताबका पानामा मात्र सीमित छ ।

मलाई बयान लिनेक्रममा प्रहरीहरूले तपाईं कति पढ्नुभएको छ भनेर सोद्धा मैले राजनीतिशास्त्रमा एमए, जनप्रशासनमा एमपीए, शिक्षा संकायमा बीएड, कानुनमा एलएलबी. गरिसकेको छु र व्यवस्थापनमा एमबीएस सकेको तर एउटा सब्जेक्ट मात्र बाँकी छ, माघ ९ गते परीक्षा छ भनेँ । यति भनेपछि प्रहरीहरूले यति धेरै पढेको मान्छे किन यो पार्टीमा लागेको त ? जागिर खाएर बसेको भए हुन्थ्यो त भन्दा मैले जागिर त मैले क्याम्पस चिफको पाएर पनि छोडेको । मैले जागिर गर्दा म मात्र बन्छु तर देश बन्दैन भनेँ । देश र जनताको हालत यति धेरै भयावह छ, त्यसलाई बदल्ने कसले हो ? त्यसैले देशलाई बदल्ने राजनीतिक व्यवस्था वैज्ञानिक समाजवाद ल्याउने आन्दोलनमा सरिक भएको हुँ भन्दा प्रहरीहरू मप्रति सम्मानजनक रूपमा प्रस्तुत हुन थाले । त्यसपछि उनीहरूले यत्रो पढेको मान्छेलाई त विप्लवले ठूलो पद दिएको होला कुन जिम्मेवारीमा हुनुहुन्छ भन्दा मैले पद सहायक कुरा हो । मुख्य कुरा देश बदल्ने हो, त्यो काम हाम्रो पार्टीले मात्र गर्न सक्छ । त्यसैले म विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको इमानदार सदस्य हुँ भनेँ । यति भनेपछि प्रहरीले आफ्नो प्रसङ्ग परिवर्तन गर्यो । प्रहरीभित्र २०४६ सालको जनआन्दोलन, अझभन्दा २०६२/०६३ पछिको गणतन्त्रमा केही लोकतान्त्रिकीकरण भएको छ कि भन्ने सोचेको थिएँ तर मैले त्यहाँ पाइनँ । उहाँहरू यातना दिएरै प्रमाण जुटाउने र मुचुल्का तयार पार्ने परिपाटीबाट निर्देशित हुने रहेछन् । त्यही भएर प्रहरीहरूले बनाएको प्रतिवेदन अदालतले विश्वास गर्दो रहेनछ । रातैभरिको बयान, यातना र अनिन्द्राबाट ग्रसित हामीलाई सीआईबीले २०७७ पुस २२ गते करिब २/३ बजेतिर महानगरीय प्रहरी परिसर, टेकु काठमाण्डौ पुर्यायो ।

त्यसपछि मात्र हाम्रो आँखामा भएको कालो चस्मा, कालो पट्टी र हातमा भएको हतकडी खोलियो । करिब २५ घन्टापछि आँखाबाट कालो चस्मा र कालो पट्टी खोलिएको भएर होला आँखाले राम्रोसँग देख्न छोड्यो र लगातार आँखाबाट पानी आइरह्यो । हामीले एक अर्कालाई देख्ने र अनुभूत गर्ने प्रयत्न गर्यौँ तर गाह्रो भैरहेको थियो । बिस्तारै मात्र थाहा भयो कि हामी नयाँ संसारमा आएका रहेछौँ । सीआईबीले टेकु प्रहरीलाई बुझाएपछि हामीलाई हिरासतमा राखियो । हिरासत छिर्नेबित्तिकै हाम्रो पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य उषाकिरण आजादसँग भेट भयो । क. उषाले हिरासतमा भएका प्रगतिशील विचार राख्ने र अन्यलाई पनि हाम्रोबारेमा भनेपछि त्यहाँको वातावरण हामीप्रति सम्मानजनक भयो । हिरासतमा भएका सबैसँग हाम्रो परिचय मात्र भएन, त्यहाँ उहाँहरूको मुद्दा, परिस्थिति र देशको संकटको बारेमा पनि छलफल भयो । थुप्रै मानिसले हाम्रो पार्टीले गरिरहेको आन्दोलनमा सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे । हामीले पनि अन्य कैदीको केसको प्रकृति हेरेर त्यसको कानुनी पाटो, व्यावहारिक पाटो र अन्य पक्षलाई केलाएर सहयोग, सल्लाह र परामर्श दिन थाल्यौँ, जसले गर्दा उहाँहरू पनि हामीसँग नजिक हुने परिस्थिति बन्यो । त्यसपछि हामीले उहाँहरूलाई पार्टी, आन्दोलन र वैज्ञानिक समाजवादको बारेमा प्रस्ट्याउने काम गर्यौँ । हिरासतमा केही मान्छेबाहेक अन्य सबै केही न केही परिबन्धमा फसेर त्यहाँ पुगेका थिए ।

अधिकांश लागुऔषधमा आएका थिए । करिब १५ देखि ३० वर्षका युवाहरू लागुऔषधमा त्यहाँ थिए । यसले के बिम्बित गथ्र्यो भने देशको भविष्य संकट छ । त्यसैले छिट्टै यो सत्तालाई बदल्नुपर्छ भन्ने चाहना भित्र गएपछि झन् तीव्रतामा आयो, जुन कुरा हामीले हिरासतमा भएका कैदी मात्र होइन, त्यहाँ भएका प्रहरीलाई समेत भन्यौँ । प्रहरीहरू भन्थे– तपाईंहरूले गरेको ठीक छ तर हामीले खुलेर साथ दिन मिल्दैन, के गर्ने ? हामीले डिउटी पूरा गर्नैपर्छ । अधिकांश प्रहरीले संघर्ष गर्दा तल होइन, टाउकामै हान्नुपर्यो, तब मात्र जनता ओइरहन्छन् । उहाँहरूको कुराले के कुरा इंगित गथ्र्यो भने यो सत्ताबाट कोही पनि सन्तुष्ट छैनन् । हामी हिरासतमै हुँदा २०७७ साल पुस २९ गते क. धर्मेन्द्र बास्तोला कञ्चनको गिरप्mतारीले हामीलाई दुःखी बनायो । पार्टीले नेता र कार्यकर्ताको गिरफ्तारीविरुद्ध २०७७ साल माघ १० गते नेपाल बन्द आयोजना गरेको थियो । सो कुरा हिरासतमै पत्रिका पढेर थाहा पायौँ । सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणमा रिट पर्दा क. कञ्चनसँग भेट भएको थियो । हामी सबैका हातमा हतकडी लगाइएका भए पनि निराशा कसैमा थिएन । यसको उल्टो हामीमा एउटा संकल्प, आशा र भरोसा जागेर आउँथ्यो ।

२०७७ साल पुस २३ गते प्रहरीले हामीलाई म्याद थप्न जिल्ला अदालत काठमाण्डौमा पेस गर्यो । हामीलाई अवैध चन्दा ऐनमा मुद्दा चलाएको रै’छ । सरकारी वकिलको कार्यालयमा फाइल हेर्दा हामीलाई २०७७ पुस २२ गते टोखा न.पा.को महादेवटारबाट पव्रmे को मुचुल्का प्रहरीले तयार पारेको रै’छ । त्यसमा हामीले हस्ताक्षर गर्न नमान्दा १ घन्टा प्रहरीहरू अलमल परे र अन्तिममा सरकारी वकिल भीमप्रसाद भुर्तेलसँग केही छलफलपछि मात्र हामीले पछि अदालतमा आफ्नो बयान दिँदा साँचो कुरा राख्ने भनेर हस्ताक्षर गर्यौँ । सो दिन १९ नं. इजलासमा प्रहरीले ५ दिन म्याद थपेर लग्यो । एवं रितले २०७७ पुस २७ गते २१ नं. इजलासबाट ७ दिन, माघ ४ गते २८ नं. इजलासबाट ५ दिन, माघ ११ गते ३१ नं. इजलासबाट ३ दिन, माघ १३ गते ३२ नं. इजलासबाट ३ दिन, माघ १६ गते ५ नं. इजलासबाट २ दिन गरी पटक पटक म्याद थप्यो । मेरो डिग्रीको परीक्षा माघ ९ गते भएकोले म्याद थप गर्न जाँदा २८ नं. इजलासमा मैले न्यायधिशलाई आस्थाको बन्दी बनाइएकै कारण मेरो परीक्षामा सामेल हुने अधिकार नछिनियोस भनी गरेको आग्रहमा न्यायधिशले प्रहरीलाई परीक्षाको वातावरण मिलाइदिनू भनी आदेश गर्दा पनि प्रहरीमा भएको संवेदनशीलताको कमी त्यसमा पनि हिरासतका डंगोल थरका असईको अव्यावहारिक र अज्ञानताले गर्दा मैले परीक्षा दिन पाइनँ । यसमा दुःखी छु तर राज्य नागरिकको अधिकारमा कति असंवेदनशील छ भन्ने पाठ सिकाएकोले खुसी पनि उत्तिकै छु ।

२०७७ साल पुस २४ गते पहिलोपटक हिरासतमा भेट्न आएका आफन्त र केही पत्रकार साथीमार्फत आवश्यक खबर बाहिर पठायौँ । साथै, सर्वोच्चमा रिट हाल्न पनि भन्यौँ । २०७७ साल माघ २ गते राजेन्द्र कोइरालाले म र वीरेन्द्रको लागि रिट हाल्नुभयो र क. पवनको पनि सोही दिन रिट पर्यो । पटक पटक गरेर सर्वोच्चले हाम्रो पेसी सारेपछि जिल्ला अदालत र सर्वोच्चको कार्वाही सँगसँगै भएकोले अन्ततः सर्वोच्चले हाम्रो मुद्दा जिल्लाबाट टुङ्ग्याउन भनी आदेश गरिदियो । २०७७ साल माघ १९ र २० गतेको बयान र थुनचेक बहसपश्चात् जिल्ला अदालत काठमाडौंले म र वीरेन्द्रलाई साधारण तारेखमा रिहा गरिदियो र क. पवनलाई रु. २५,००० धरौटी तोकिदियो । धरौटी नतिर्ने सल्लाह भएपछि उहाँलाई पत्र बनाएर डिल्लीबजार चलान गर्यो । म र वीरेन्द्रले तारेख पर्चा बोकेर र पवनले जेलको पत्र बोकेर अदालतको भुइँतलामा झर्यौैँ । छुट्टिने समय आयो । अलि पीडाबोध त हुने नै भयो । प्रहरीले म र वीरेन्द्रलाई डीएसपी सापले बोलाउनुभएको छ भनेर फेरि पक्रने षड्यन्त्र गर्दै थियो । केही प्रहरीले सहयोग गर्ने चाहना हुँदाहुँदै पनि गर्न सक्ने अवस्था थिएन । करिब ५/६ बजेतिर हामी छुट्ने बेला भयो । मसँग भएको रु. १,५०० (सर्वोच्चमा छत्र र रविनाले दिएको) मध्ये रु. १,००० क. पवनलाई दिएँ र बाँकी आफैँसँग राखी कमरेड्ली अभिवादनका साथ छुट्टियौँ ।

मलाई लाग्थ्यो, पवन अलि बढी नै जेलमा बस्छन् होला । हामी त छुट्यौँ तर हामी बाहिर गेटनिर के पुगेका थियौँ, प्रहरीले म र वीरेन्द्रलाई नियन्त्रणमा लिएर भ्यानमा हालिहाल्यो । भ्यानमा बुझ्दा सिंहदरबार प्रहरीले समातेको रै’छ । हामीलाई सिंहदरबारले माइतीघरसम्म पुर्यायो र कोटेश्वर वृत्तलाई बुझायो । कोटेश्वरमा केही समय राखेपछि म र वीरेन्द्रलाई फरक फरक ठाउँमा राख्ने प्रहरीको सल्लाह भएको रै’छ । यो कुरा बुझेपछि मसँग बँचेको रु. ५०० पनि वीरेन्द्रलाई दिएँ । केही समयपछाडि मलाई लिन सातदोबाटो चौकीबाट प्रहरी भ्यान आयो । सातदोबाटो प्रहरी चौकीमा केही समय राखेर मलाई चापागाउँ प्रहरीवृत्तमा चलान गर्यो । अन्ततः चापागाउँबाट नै मलाई मुद्दा चलाउने कुराको खबर सुनेँ । जब म चापागाउँ वृत्त पुगेँ, प्रहरीले बाहिर काउन्टरमै कसरी किन ल्याएको भनी सोध्यो । मैले उहाँहरूलाई म आस्थाको बन्दी हुुँ भनेँ तर प्रहरीले बुझेन । फेरि मैले भनेँ, मैले विप्लव नेतृत्वको नेकपालाई सबै हिसाबले सहयोग गरेकोले ल्याएको भनेपछि मात्र प्रहरीले बुझ्यो र भन्यो, ए विप्लव माओवादी ? हो मैले भनेँ ।

त्यसपछाडि मलाई त्यहाँको हिरासतमा राखियो । सानो हिरासत तर कैदी धेरै भएका कारण अलि कठिन थियो । तैपनि अरू उपाय थिएन । हिरासतमा विभिन्न प्रकृतिका मुद्दाका कैदीहरू थिए । विस्तारै उनीहरूसँग भलाकुसारी हुन थाल्यो । त्यहाँ पनि मैले म आफू कानुनको विद्यार्थी (एलएलबी पास) भएको नाताले उहाँहरू सबैलाई कानुनी र व्यावहारिक पाटोबारे व्याख्या गरिदिएँ, जसले गर्दा उहाँहरू मसँग नजिक हुने मात्र होइन, पार्टी आन्दोलनलाई नै सहयोग गर्ने प्रतिबद्धता गर्न थाले । हिरासतमा कैदीसँग मात्र होइन, प्रहरीसँग पनि राम्रो सम्बन्ध कायम भयो, जसले मलाई एकीकृत जनक्रान्तिबारे भन्न र व्याख्या गर्न सहज भयो । चापागाउँ प्रहरीवृत्त ललितपुर लगेको ३ दिनपछाडि बाहिर खबर गर्ने वातावरण बन्यो । मैले बाहिरका साथीहरूलाई आफू त्यहाँ भएको र सर्वोच्चमा रिट हाल्न भनेँ । साथीहरूले पनि मेरो र वीरेन्द्र (जसलाई भक्तपुर व्यासीमा राखेको थियो) को रिट हाल्नुभएछ । सीडीओमा पटक पटकको म्याद थपपश्चात् अभद्र मुद्दा अगाडि बढिरहेको बेला सर्वोच्चले प्रहरीलाई २०७७ साल फागुन ६ गते बन्दीसहित उपस्थित हुन आदेश दियो । सोही दिनको बहसपश्चात् सर्वोच्चले छोड्ने आदेश गरिदियो ।

छोड्ने आदेशको पत्र बुझेर वीरेन्द्र र बृख विक अगाडि निस्किए र बाहिर प्रहरीले उनीहरूलाई फेरि पक्री बौद्ध चौकीमा राखी अर्को दिन ललितपुर परिसरबाट अभद्र मुद्दा चलाएछ । म पनि छोड्ने आदेशको पत्र बुझेर बाहिर आउँदा मलाई ल्याउने चापागाउँ प्रहरीको भ्यानबाहेक अरू थिएन । म सर्वोच्चको गेटबाट छिटो छिटो निस्केर अलि पर गएपछि ट्याक्सीमा चढेँ । तर सीआईडीले फलो गरेको र ट्याक्सी नं. कतै टिपाएको चाल पाएपछि मैले ओर्लिने निर्णय गरेँ र बस चढेँ । त्यो पनि थाहा पाएपछि मैले बस चढ्ने र ओर्लिनेक्रमलाई निरन्तरता दिएँ, जसले गर्दा सीआईडीलाई कन्फ्युज गर्न सफल भएँ । त्यसपछाडि म एकान्तकुनामा एउटा भाइको कोठामा गएर सबै लुगा बदलेर बसेपछि मात्र आफू प्रहरीको नियन्त्रणबाट छुुट्न सफल भएको अनुभूति गरेँ । सोही दिन पार्टीसँग सम्पर्क कायम गरी आफू छुटेको कुरा जानकारी गराए । केही दिनको विश्रामपश्चात् पार्टी च्यानलमा भेटघाटहरू भए । दिनहरू क्रमिकरूपमा अगाडि बढ्दै थिए । एक्कासी हाम्रो पार्टी र नेपाल सरकारबिच वार्ताको कुरा अगाडि आयो ।

हुँदाहुँदै दुबैतर्फबाट वार्ता टोली गठन भयो । २०७७ साल फागुन २० गते वार्ता टोली (सरकारका तर्फबाट संयोजक गृहमन्त्री रामबहादुर थापा बादल र सदस्य राजन भट्टराई र हाम्रो पार्टीको तर्फबाट संयोजक प्रवक्ता क. प्रकाण्ड र सदस्य दिपक चलाउने) बिच ३ बुँदे सहमति कायम भयो र २१ गते राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी ओली र महासचिव क. विप्लवले संयुक्त रूपमा सम्बोधन गर्ने समाचारहरू छापामा आउन थाले । २१ गते संयुक्त सम्बोधन पनि भयो र हाम्रो पार्टीमाथि लागेको प्रतिबन्ध पनि सरकारले हटायो । सबै कमरेडसँग खुला आकाशमा भेटघाट हुन थाले । यसैबिच सरकारसँग भएको ३ बुँदे सहमति विपरीत २०७७ साल फागुन २५ गते पुन मेरो घर अछाम जिल्लामा पक्राउ पुर्जी टाँसियो, जुन २०७७ साल फागुन ७ गते ललितपुर जिल्लाबाट जारी भई ३५ दिनभित्र उपस्थित हुन भनिएकोे रै’छ । अन्य जिल्लाका मुद्दाको प्रकृया पनि बढिरहेकोले सहमति कार्यान्वयन गर्न केही समय लाग्छ कि जस्तो महसुस पनि भैरहेको छ ।

अन्तमा, हिरासत एउटा पाठशाला रहेछ । बहुआयामिक हिसाबले त्यहाँ ज्ञानहरू पाइँदो रहेछ । राज्यसत्ताको चरित्र र बदल्नुपर्ने अनिवार्य आवश्यकता पनि त्यहाँ महसुस भयो । प्रहरी संगठनभित्र हाबी भएको सामन्तवादी प्रणालीको पुनर्संरचनाको पनि आवश्यकता महसुस भयो । कैयौँ प्रहरी जवान दुःख र कष्टका साथ आफ्नो जीवनयापन गर्दै गरेको देख्दा त्यसले उद्वेलित पनि गरायो । राज्यसत्तालाई गहिरोसँग बुझ्न जेल, हिरासत र अदालत बुझ्दा धेरै नै ज्ञान हासिल हुने रै’छ । जेल र हिरासतमा भएका कमरेडहरूको बारेमा पार्टीले लिनुपर्ने व्यावहारिक पहलकदमीको बारेमा पनि महसुस गरायो । समय र परिस्थितिले अवसर दिएमा सत्ता संरचनाभित्र आमूल परिवर्तन अति नै आवश्यक छ भन्ने कुरा कदापि बिर्सनेछैन । राज्यको नियन्त्रणमा पर्दा जेलभित्र सहयोग गर्नुहुने सहयोद्धा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमरेड उषाकिरण आजाद, प्रचण्डनिकट अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष केशव रावललगायत अन्य बन्दी र तल्लो दर्जामा कार्यरत प्रहरी जवानहरूप्रति आभार व्यक्त गर्दछु ।

यसैगरी, मलाई चापागाउँ प्रहरीवृत्त ललितपुरमा सम्मानित व्यवहार गर्ने प्रहरी अफिसर र जवान साथीहरूप्रति विशेष आभारी छु । खोजखबर गरेर सूचना बाहिर ल्याइदिने पत्रकारद्वय दीपेन्द्र रावल र कमल बुढा, आफन्तहरू तपेन्द्रबहादुर चन्द, दीपेश चन्द र धनबहादुर विक, कमल शाही, दानबहादुर शाही, बाहिरबाट सहयोग गर्नुहुने क. गौरव, ग्याल्वो, संघर्ष, दीपक मानन्धर र अन्य पार्टीपंक्तिका साथीहरू अनि रिट हालेर सहयोग गर्नुहुने साथी राजेन्द्र कोइराला र अदालती प्रकृयामा बहस र कानुनी सरसल्लाह दिनुहुने वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखे्रल, खिमानन्द अधिकारी, कान्तिराम ढुङ्गाना, सन्तोष कोइराला, चूडाबहादुर निरौला, कविता बस्नेत र राजु अधिकारीप्रति विशेष आभार प्रकट गर्दछु । आगामी दिनमा पनि यहाँहरूको सहयोग यथावत् रहनेछ भन्ने आशा राख्दछु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :