अर्घाखाँचीः नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) अर्घाखाँचीको २८ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । बिहीबार सम्पन्न सम्मेलनले बाबुराम नेपालीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा पदम नेपाली, सचिवमा गिरिजा खड्का, सहसचिवमा प्रेम विक, कोषाध्यक्षमा सुनिल नेपाली निर्वाचित भएका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी पाल्पाका जिल्ला इन्चार्ज तथा अखिल (क्रान्तिकारी) पूर्व केन्द्रीय अध्यक्ष पुर्ण बहादुर सिंहले वर्तमान व्यवस्था रहेरसम्म विद्यार्थीहरु बेरोजगारको शिकार हुने बताएका छन् ।
सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सिंहले वर्तमान शिक्षा प्रणालीका कारण युवाहरुमा बेरोजगारी भई दुर्व्यसनी लागुऔषधको शिकार बन्न बाध्य भएको भन्दै सम्पूर्ण देशभक्त क्रान्तिकारी विद्यार्थीहरूलाई एकिकृत जनक्रान्तिको कार्यदिशामार्फत् वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि संघर्ष गर्न अपिल गरे । युवाहरुलाई एकीकृत जनक्रान्तिमा समाहित गराउँदै व्यक्ति, समाज र देशलाई स्वाधीन र आत्मनिर्भर बनाउनेतर्फ आफूहरु लागिरहेको बताएका थिए ।
एक फरक प्रसँगमा कुरा गर्दै नेता सिंहले आफ्नो पार्टी र वर्तमान सरकारबीच ३ बुँदे सहमतिलाई उल्टाउदै केही राजनीतिक दलले गलत प्रचार गरेको भन्दै क्रान्ति छोडेर आफुहरु सरकारमा नजाने प्रष्ट पारे । जनताले अबको चुनाब पार्टी व्यक्ति छनोट गर्ने नभई व्यवस्था छनोटका लागि अधिकार पाउनु पर्ने बताए । कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रिय कोषाध्यक्ष नरेन्द्र विकले शिक्षा वैज्ञानिक व्यहाहिक हुनुपर्नेमा जोड दिदै व्यहाहिक शिक्षा नै अहिलेको आवश्यकता रहेको बताए । कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र विकले वैज्ञानिक समाजवादी शिक्षाले मात्र विद्यार्थीहरुको समस्या समाधान गर्ने बताए ।
कार्यक्रममा नेकपा अर्घाखाँचीका जिल्ला सचिव माहुरीले विगतको सन्दर्भमा नेकपाको तर्फबाट भएका घटनाहरू जनतामाथि अन्याय र दमन गरिएको कारणले जनताहरुले प्रतिरोध गरेको बताए ।
नवनिर्वाचित समितिलाई संगठनका पूर्व अध्यक्ष नविन खड्का, शिक्षक संगठनका अध्यक्ष लक्ष्मण ओली, जिल्ला सल्लाहाकार टामलाल बस्याल, जनपत्रकार संगठनका केन्द्रिय सदस्य अनिल नेपाली लगायतले बधाई तथा शुभकामना दिएका थिए ।
सम्मेलनको पूर्व सन्ध्यामा भक्तिटोलाबाट ¥याली निकाली बजारका मुख्य चोकमा परिक्रमा गरिएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न विद्यालयबाट ठूलो संख्यामा विद्यार्थीहरूको उपस्थिति रहेको बताइएको छ ।