क्रान्तिमा युवा र खेलाडीको भूमिका महत्वपूर्णः ढकाल

क्रान्तिमा युवा र खेलाडीको भूमिका महत्वपूर्णः ढकाल

सिर्जनानगर रामेछाप:  अखिल (क्रान्तिकारी) का अध्यक्ष चिञ्जीवि ढकालले युवा–विद्यार्थीले एकीकृत जनक्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन् । रामेछापको सिर्जनानगरमा बुधबार अखिल (क्रान्तिकारी) र हितप्रसाद उपाध्याय–जुनमाया सुवेदी साहित्य प्रतिष्ठानद्वारा संयुक्त आयोजित जिल्लास्तरीय खुला भलिबल प्रतियोगितामा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले खेल स्वास्थ्य, मित्रता, सद्भाव र रुपान्तरणका लागि महत्वपूर्ण साधन हुने पनि प्रष्ट पारे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी रामेछापका इन्चार्ज इन्द्र श्रेष्ठले नेकपामाथि प्रतिबन्ध लगाउने तत्त्वहरुले अझै पनि क्रान्ति विरुद्ध षड्यन्त्र गरिरहेकाले क्रान्तिकारी शक्तिले चनाखो भएर अघि बढ्नुपर्ने बताए । उनले जिल्लामा नेकपाप्रति आकर्षण र लहर बढिरहेको भन्दै विद्यार्थी संगठन र सामाजिक संस्था मिलेर जनसमुदायबीच खेलकुद लगायत सामाजिक÷सांस्कृतिक कार्यक्रम गरिदा जनसम्बन्ध थप सुदृढ बन्दै गएको पनि प्रष्ट पारे ।

अखिल (क्रान्तिकारी) को २२ औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्या तथा कवि हितप्रसाद उपाध्यायको ३९ औँ र जुनमाया सुवेदीको ८ औँ स्मृति दिवसका सन्दर्भमा अखिल (क्रान्तिकारी) रामेछाप र हितप्रसाद उपाध्याय–जुनमाया सुवेदी साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम मन्थली, सिर्जनानगरमा प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रममा अध्यक्ष एवम् साहित्य प्रतिष्ठानका अध्यक्ष अशोक सुवेदीले प्रथम विद्यार्थी सहिद गंगालाल श्रेष्ठदेखि निरङ्कुश व्यवस्था विरोधी आन्दोलनको वाहक विद्यार्थी अखिल (क्रान्तिकारी) सँग संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न पाउँदा संस्था र समाज दुवै लाभान्वित बनेको बताए । उनले सामाजिक रुपान्तरणका अभियानहरु जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

अखिल (क्रान्तिकारी) काभ्रे रामेछापका इन्चार्ज समेत रहेका संगठनका कन्द्रीय सदस्य प्रकाश तिरुवाको र र अखिल नेपाल शिक्षक संगठन रामेछापका अध्यक्ष पाण्डप सुवेदीको स्वागतमा सम्पन्न कार्यक्रममा नेकपा रामेछापका सेक्रेटरी विवेक लामा, पूर्व सेक्रेटरी यमन बस्नेत ‘गुञ्जन’, शिक्षक नेताहरु विनोद सुदेदी, रामेश्वर ढुङ्गेल, युवा समाजसेवी उज्जवल सुवेदी, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, अखिल (क्रान्तिकारी) का नेताहरु सङ्ग्राम शाही, रोषण शाही लगायत अतिथि थिए ।


सिर्जनानगरबासीको उल्लेख्य र उत्साहजनक उपस्थितिमा सम्पन्न भलिबल प्रतियोगितामा मन्थली– १ खाँदबारी समुह प्रथम, स्थानीय सोसल सिटी युवा क्लव द्धितीय र मन्थली मावि ‘बी’ ले तृतीय स्थान हासिल गरे । विजेता टोली र खेलाडीहरुलाई प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का अध्यक्ष चिन्जीवी ढकालले प्रमाणपत्र, नेकपा रामेछाप इन्चार्ज इन्द्र श्रेष्ठले अविर र प्रतिष्ठानका अध्यक्ष सुवेदीले क्रमशः सात, पाँच र चार हजार नगद प्रदान गरेका थिए । नकआउट प्रणालीमा खेलाइएको प्रतियोगितामा भैसेश्वर, हाटेचौर, ठूलीमदौ, गौरीशंकर मावि, रामेछाप पोलिटेक्निकल इन्स्टिच्युटदेखि तामाकोशी मावि खिम्तीसम्मका विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा बेस्ट प्लेयर सञ्जय बस्नेत र अनुशासित खेलाडी अङ्कित थापामगरलाई एक एक हजार पुरस्कार प्रदान गरिएको थियो । खेलमा स्थानीय बासिन्दाको उत्साह र युवा खेलाडीको सक्रियता देखेर प्रभावित बनेका प्रमुख अतिथि ढकालले केन्द्रीय समितिका तर्फबाट सात हजार रुपैया पुरस्कारमा थपेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :