मालकोट अर्थात् ऊर्जाशील महिला प्रतिरोध

सम्पादकीय

मालकोट अर्थात् ऊर्जाशील महिला प्रतिरोध

श्रमिक सर्वहारा वर्गको मुक्ति, नयाँ संसार र सभ्यता निर्माणका इतिहासमा भएका सङ्घर्ष, आन्दोलन, विद्रोह, युद्ध र क्रान्तिहरूमा महिलाहरूले गरेको त्याग, साहस, शौर्य र बलिदानको ठूलो स्थान र महत्व छ । नेपालका साहसी र सचेत महिलाहरूले पनि अग्रस्थानमा रहेर विद्रोहको नेतृत्व गरेका छन् र आफूलाई क्रान्ति र परिवर्तनको असल वाहकका रूपमा स्थापित गरेका छन् । महान् १० बर्से सशस्त्र जनयुद्धका क्रममा २०५४ साल चैत २६ गते कालिकोटको मालकोट, बिथलडाँडामा उत्पीडित महिलाहरूले राज्यद्वारा दमन र हत्याका लागि परिचालित प्रहरीको सशस्त्र जत्थासँग सशक्त प्रतिरोध गर्दै हतियार खोसेर पार्टीलाई बुझाएको घटना नेपालको इतिहासमा सुनौला अक्षरले लेखिएको छ । जनतालाई दमन गर्न गाउँ पसेको शाही पुलिसका हातबाट निःशस्त्र महिलाहरू बिजा विक, प्याउकला विक, पूजा विक, मनसरा विक, धनसरा विक र गोरीकला विकले राइफल खोसे र जनमुक्ति सेनालाई बुझाए । त्यति बेला कालीबहादुर विक सहिद भए र राइल्या विक घाइते भए । तीमध्ये गोरीकला विक पनि किलो सेरा टु अप्रेसनमा सहिद भइन् र अहिले धनसरा विक र राइल्या विकको पनि निधन भइसकेको छ ।

तिनै साहसी महिलाहरूलाई सम्मान गर्न अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्द, उपाध्यक्ष धीरेन्द्रा उपाध्याय, महासचिव राजकुमारी शाहीलगायतको टोली कालीकोटको विथलडाँडा पुग्यो । महिलाको केन्द्रीय समितिले निःशस्त्र हातले बन्दुक खोजेको दिन चैत २६ गते प्रतिरोध दिवसको रूपमा प्रतिरोधी महिलाहरूलाई सम्मान ग¥यो । प्रतिरोधी चेतनालाई जीवन व्यवहारमा रूपान्तरण गर्ने ती हिम्मती, साहसी वीराङ्गनाहरूलाई नेपालको कम्युनिस्ट आन्दोलनले सदा उच्च सम्मान गरिरहनेछ र त्यसलाई प्रतिरोध दिवसका रूपमा स्थापित गरेर वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि जारी एकीकृत जनक्रान्तिमा शक्तिशाली ऊर्जा र प्रेरणादायी ऐतिहासिक घटनाका रूपमा हृदयङ्गम गरिरहनेछ ।

वर्गविभाजित समाजमा शोषणमूलक सत्ताको अन्त र समानतामूलक समाज निर्माणका लागि जारी वर्गसङ्घर्षका क्रममा अन्तर्राष्ट्रियरूपमै क्रान्तिकारी महिलाहरूले अदम्य साहस, वीरता प्रदर्शन गरेर बलिदान गरेको सुन्दर इतिहास छ । दास विद्रोहदेखि पेरिस कम्युन निर्माणसम्म र त्यसयता कम्युनिस्ट पार्टीको नेतृत्वमा रुस, कोरिया, चीन, भियतनाम, जर्मनी, क्युबा, पेरु, भारत, नेपाललगायत मुलुकमा भएका र जारी क्रान्तिमा महिलाहरूको सहभागिता र नेतृत्व अत्यन्त उत्साहजनक छ । विश्व कम्युनिस्ट आन्दोलनमा क्लारा, जेनी, क्रुप्सकाया हुँदै चियाङ चिङसम्म र नेपालको कम्युनिस्ट आन्दोलनमा दिलमाया, कुमारी बुढा, कमला भट्ट, चुनु गुरुङलगायत हजारौँ योद्धाले प्रतिरोधी सङ्घर्षमा उच्च बलिदान गरेका छन् । यस्तै, प्रतिरोधी चेतना र सङ्घर्षले नै हो समाजमा विद्यमान अन्याय, अत्याचार शोषण दमन र व्यभिचार अन्त गरी वैज्ञानिक समाजवाद स्थापना गरेर एकीकृत जनक्रान्ति सम्पन्न गर्ने ।

उत्पीडित महिलाहरूले इतिहासका विभिन्न कालखण्डमा आफूलाई सङ्गठित रूपमा विद्रोहको अग्रमोर्चामा उभ्याएर इतिहास निर्माण गरेका छन् । राष्ट्रियताको लडाइँमा नालापानीमा नेपालका देशभक्त महिलाहरूले पिठ्यूँमा बालबच्चा बोकेर भोकै प्यासै अङ्ग्रेज साम्राज्यवादी सेनासँग लडेको गौरवशाली इतिहास हामीसँग छ । जनतन्त्र र जनजीविकाका लागि भएका विद्रोहमा लामबद्ध भएर महान् जनयुद्धमा महिलाहरूले जनमुक्ति सेना, पार्टी र जनसत्तामा समेत हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुमा कालीकोटको मालकोट बिथलडाँडाका महिलाहरूले कायम गरेको शौर्यको शृङ्खला गाँसिएको छ । दोस्रो दर्जाका नागरिक भएर चुलोचौको, डोको नाम्लो र बच्चा जन्माउने मेसिनका रूपमा अपमानित जीवन बिताइरहेका जीवन सङ्घर्षबाट पराजित भएर पलायनको बाटो रोज्न विवश महिलाहरूले मालकोट प्रतिरोधबाट थप ऊर्जा हासिल गर्नुपर्दछ । एकीकृत जनक्रान्ति लडिरहेका महिलाहरूले जेल, नेल, यातना र अपमान पचाउँदै विद्रोहको बाटो रोज्नु मालकोटका उत्पीडित महिलाले २४ वर्षअघि गरेको प्रतिरोध सङ्घर्षकै निरन्तरता र नयाँ शृङ्खला हो । यो प्रतिरोध आन्दोलनलाई नयाँ संस्कृतिका रूपमा विकास गर्नुपर्दछ । प्रतिरोध सङ्घर्षको नेतृत्व गर्ने क्रान्तिकारी महिलाहरू सलामयोग्य छन् र मालकोट, बिथलडाँडा प्रतिरोध सङ्घर्ष सलामयोग्य छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :