कालिकोटमा जनता जगाउँदै नेकपा

कालिकोटमा जनता जगाउँदै नेकपा

कालिकोट:   विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटमा वैज्ञानिक समाजवादको एजेन्डामा जनतालाई जगाउन थालेको छ । नेकपाले गाउँ–गाउँमा आफ्ना राजनीतिक जनसभा गर्दै जनतालाई संसदीय व्यवस्था र वैज्ञानिक समाजवादी व्यवस्था बिचको फरकबारे सुसूचित गर्न थालेको हो । वैज्ञानिक समाजवादबारे जनतालाई बुझाउन, जनतासँगको सम्बन्ध प्रगाढ बनाउन, संगठन सुदृढ र विस्तार गर्न गाउँ–गाउँमा राजनीतिक जनसभालाई तीव्र बनाउँदै लगेको नेकपाले जनाएको छ । नेकपाले जिल्लाको मालकोट सेरापाटाबाट चैत २६ गतेको महिला प्रतिरोध दिवसको जनसभा आयोजना गरी राजनीतिक जनसभाको शुभारम्भ गरेको थियो ।
नेकपाले त्यसपछि चैत २९ गते रास्कोट नगरपालिकाको आरसीपी बजार र चैत ३१ गते पचालझरना गाउँपालिकाको नुवाघरमा जनसभाको आयोजना गरी जनससम्बन्ध सुदृढ बनाउँदै वैज्ञानिक समाजवादका पक्षमा जनतालाई जागृत गर्ने प्रयास गरेको छ । सरकारले २०७५ साल फागुन २८ गते यता प्रतिबन्ध लगाएपछि नेकपाले आफ्ना राजनीतिक गतिविधि देशभर खुल्ला रूपमा गर्न सकेको थिएन । कालिकोट जिल्लामा गाउँघरमा प्रतिबन्धकै बेला पनि खुला जनसभा हुने गरे पनि खुल्ला मनले ठुला जनसभा हुन सकेका थिएनन् । सरकार र नेकपाबिच २०७७ साल फागुन २० गते तीन बुँदे सहमतिसहित वार्ता भएपछि सरकारले नेकपामाथिको प्रतिबन्ध हटाएको थियो ।
नेकपाले नेपालमा दलाल संंसदीय व्यवस्थाको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्ने मुख्य राजनीतिक एजेन्डा उठाउँदै संघर्ष गर्दै आएकोले पनि सरकार प्रतिबन्ध हटाउन बाध्य भएको थियो । प्रतिबन्धले जिल्लामा राजनीतिक गतिविधि गर्न असहज भए पनि प्रतिबन्ध फुकुवापछि नेकपा उत्साहित भएर जनतासम्म पुगेको छ । नेकपाले राजनीतिक अभियानकै रूपमा आफ्ना राजनीतिक जनसभा, अन्तरक्रिया, प्रशिक्षणलगायतका गतिविधि गरिरहेको छ । नेकपाले आयोजना गरेका जनसभामा हालै जेलबाट छुट्नुभएका महिला नेतृ अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय अध्यक्ष बन्धु चन्द र महासचिव धीरेन्द्रा उपाध्यायलाई अभिनन्दनसहित सम्मान पनि गरेको छ ।
जनसभामा नेकपाका केन्द्रीय सदस्य तथा भेरी कर्णाली ब्युरो इन्चार्ज एटम बिसी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष चन्द, महासचिव उपाध्याय, जिल्ला इन्चार्ज रणदीप, ब्युरो सदस्य विराट, जिल्ला सेक्रेटरी साहसीलगायतका नेताले सम्बोधन गरेका छन् । नेताहरूले सम्बोधनका क्रममा नेपालमा वैज्ञानिक समाजवादभन्दा अर्को उपयुक्त विकल्प नभएको भन्दै जनतालाई वैज्ञानिक समाजवादको पक्षमा एकतावद्ध हुन आह्वान् गरेका छन् ।
संसदीय व्यवस्था असफल भएको बताउँदै नेताहरूले नेता छान्ने चुनाव पटक–पटक भए पनि अब व्यवस्था छान्ने चुनाव एकपटक मुलकमा आवश्यक भएको बताएका छन् । जनसभामा जनकलाकारको पनि सहभागिता गराउँदै नेकपाले क्रान्तिकारी गीत–संगीतमार्फत् पनि जनतालाई जगाएको छ, जसले जनताको मन–मस्तिष्क आमूल परिवर्तनको वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिका लागि तयारी गर्न महत्वपूर्ण सहयोग पु¥याएको नेकपा कालिकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :