राष्ट्रिय मुक्ति र जनमुक्तिका लागि इमान्दारीसाथ अघि बढ्न प्रवक्ता प्रकाण्डको निर्देशन

राष्ट्रिय मुक्ति र जनमुक्तिका लागि इमान्दारीसाथ अघि बढ्न प्रवक्ता प्रकाण्डको निर्देशन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एकिकृत जनक्रान्तिको विकसित संघर्षको स्वरुप राजनैतिक अवस्थाको परिणाम सरकारसँगको ३ बुँदे सहमति भएको बताएका छन् । पार्टीका काठमाडौँ उपत्यका व्युरोस्तरिय कार्यकर्तालाई प्रशिक्षण दिदैँ बिहिबार प्रवक्ता प्रकाण्डले भने, ‘मुलुकको जटिल राजनैतिक परिस्थिति संकटको अग्रगामी निकास र जनचाहना अनुरुपको निकासका निम्ति पार्टीले अबलम्वन गरेको नयाँ नीति अनुसार सरकारसँग वार्ता र सहमति भएको हो ।’

प्रवक्ता प्रकाण्डले राष्ट्रिय मुक्ति र जनमुक्तिका लागि जनक्रान्तिमा इमान्दारितापूर्वक लामबद्ध हुन कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले भने, ‘पार्टीले अबलम्बन गरेको नीति संसदीय ब्यवस्थाले उत्पन्न गरेको समस्यालाई अग्रगामी समाधान दिनु हो ।’

जनताको अपेक्षा पुरा गर्न पार्टीले राष्ट्रिय राजनीतिको मुख्य जिम्मेवारी काँधमा लिनुपर्ने अवस्था उत्पन्न भएको धारणा राख्दै पार्टी प्रवक्ता प्रकाण्डले सोही जिम्मेवारीका साथ पार्टी वार्ता र सहमतिमा आएको प्रस्ट पारे ।

सरकार र नेकपाबीचको वार्ता र सहमतिले फाइदा पुगेपछि दलाल पुँजीवादीहरु यसलाई ‘सेवोटेज’ गर्ने षड्यन्त्रमा लागि परेकाले सबै चनाखो भएर अघि बढ्नुपर्ने प्रकाण्डको भनाई थियो ।

प्रशिक्षण कार्यक्रममा नेकपाका सल्लाहकार समितिका अध्यक्ष असारे काका एकिकृत जनक्रान्तिका घाइते योद्धा सुेरन्द्र महर्जनले पनि परिवर्तित राजनैतिक अवस्था र पार्टीको जिम्मेवारीबारे आ–आफ्नो धारणा राखेका थिए । नेकपाका उपत्यका इन्चार्ज मिलनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा काठमाडौँ इन्चार्ज शरद रसाइलीले स्वागत र नेकपा नुवाकोट इन्चार्ज सविता तामाङले सञ्चालन गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :