तीनबुँदे सहमतिबारे दुई भ्रामक प्रचार

तीनबुँदे सहमतिबारे दुई भ्रामक प्रचार

हाम्रो नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीचमा गएको फागुन २१ गते ३ बुँदे सहमति भई कार्यान्वयनमा गइरहेको छ । यस सन्दर्भमा दुई खालका अति भ्रामक प्रचार फिँजाइएकोमा हाम्रो ध्यान केन्द्रित भएको छ । सम्भवतः सबै नागरिकको चासो पनि छ । यसबारे स्पष्ट गर्न आवश्यक बनेको छ ।

राज्यले हामीलाई प्रतिबन्ध लगाएको अवस्थामा यो गलत छ, वार्ताद्वारा समस्यालाई समाधान गर्नका लागि सरकार अगाडि बढ्नुपर्छ भन्ने धारणा आमरूपमा थियो । तर्कमा केही भिन्नता भए पनि नेपाली काङ्ग्रेस, जसपा, राप्रपा, सबै कम्युनिस्ट पार्टीहरू, बुद्धिजीवी, व्यक्तित्व, पत्रकार सबैले प्रतिबन्ध हटाउनुपर्ने र वार्ता गर्नुपर्ने धारणा राखेका थिए । कुनै न कुनै रूपले नेपाली सेना र प्रहरीले पनि यो सुझाव राखेको बुझ्न सकिन्छ । यसलाई हाम्रो पार्टीले स्वागत गरेको थियो । सोही धारणा र मतअनुसार नेपाल सरकारले पहल गरेपछि हाम्रो पार्टीले पनि सकारात्मक उत्तर दियो र वार्ता टोली गठन गरेर ३ बुँदे सहमति भयो ।

जब फागुन २१ गते ३ बुँदे सहमति भयो र समारोहमा भाग लिइयो त्यसपछि तुरुन्तै दुईवटा गलत प्रचार सुरु भए : पहिलो, ३ बुँदेमा हतियार, जनमुक्ति सेना, संविधान, लोकतन्त्रको विषय आएन । सरकार फस्यो वा विद्रोही नेपाल कम्युनिस्ट पार्टीलाई बढी छूट दियो भन्ने प्रचार चल्यो । दोस्रो, नेपाल कम्युनिस्ट पार्टीले यही व्यवस्था मानेर आइसक्यो । केपी ओलीको कम्युनिस्ट पार्टीसँग एकता गर्दैछ । केही मन्त्री भएर, केही नेता भएर मिल्दैछन् । एकीकृत जनक्रान्ति पनि देखियो भन्ने प्रचार गरियो ।

पहिलो प्रचारको आरम्भ नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाशले चारबुँदे खोइ भनेपछि सुरु भयो भने दोस्रो प्रचार प्रचण्डजीका केही मान्छेहरूबाट भयो ।

यस्तो प्रचार गर्ने पार्टी र व्यक्तिहरूले कस्तो वार्ता र सहमति चाहेका थिए, केही बुझिन्छ भने केही बुझिँदै गइनेछ तर यतिचाहिँ स्पष्ट हुन्छ– प्रचार गर्ने मित्रहरूलाई ३ बुँदे मन परेको छैन ।

यहाँ सुरुमै स्पष्ट हुनुपर्ने विषय छ– यो सहमति कसैले कसैलाई जित्ने मनसायबाट गरिएको होइन । त्यसैगरी कसैले जितेको र कसैले हारेको रूपमा लिनु हुँदैन । यो सरकार र विद्रोही शक्तिका बीचमा आवश्यकता र पूर्तिको सिद्धान्तमा गरिएको सहमति हो । यसमा दुवै पक्षका फाइदा छन् र दुवै पक्षका केही त्याग पनि छन् । यसको अपेक्षा देशलाई शान्ति दिनु र जनताका बीचमा आफ्ना विचारहरू खुलस्त रूपले राखेर उपयुक्त निकासतिर डोर्याउनु हो ।

दोस्रो विषय अहिले सम्पन्न भएको सहमति भनेको नेपाल कम्युनिस्ट पार्टी आफ्ना विचार, दृष्टिकोण र कार्यक्रमहरू जनताका बीचमा शान्तिपूर्ण रूपले राख्न सहमत भएको छ भने नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, बन्दी नेता– कार्यकर्ताहरू मुक्त गर्न र मुद्दाहरू खारेज गर्न सहमत भएको छ । यो प्रक्रियामा एक नं बुँदामा प्रवेश गर्नेछौँ जसमा नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक, राष्ट्रिय स्वाधीनताका विषयमा छलफल गरेर निकास निकाल्ने भन्ने सहमति भएको छ ।

३ बुँदेका यी विषय प्रस्ट हुँदाहुँदै सहमतिमा उल्लेख नै नभएका अनि सहमतिसँग कुनै सम्बन्ध नराख्ने सरकारमा मन्त्री बन्ने, पार्टी एकता गर्ने, हतियार र सेना उल्लेख नभएका प्रचार किन र केका लागि गरिँदैछ ? भर्खर केही सहमति लागू हुने क्रममा रहेको र केहीमा प्रवेश गर्दै रहेको परिवेशमा यस्ता विषय उठाउनु र जनतामा भ्रम फैलाउनु भनेको यो सहमतिलाई यहीँ भाँड्न खोज्नुभन्दा अर्को रहँदैन ।

यसो भनेर उठेका विषयबाट हामी बेखबर रहन्छौँ, सरोकार नै राख्दैनौँ, मुख फर्काएर हिँड्छौँ, प्रवेश नै चाहँदैनौँ भन्ने कदापि होइन । कथा र सन्दर्भले मागेमा देशका कुनै पनि मामिलामा सहभागी बन्न र आफ्नो दृष्टिकोण राख्न हामी पूर्ण रूपले सक्षम र स्वतन्त्र छौँ । सबै शक्ति र व्यक्तिले बुझ्दा हुन्छ– हामी प्रश्न र चुनौतीहरूलाई उत्तर र निकास दिन तयार भएर क्रान्तिको भेलमा हेलिएका हौँ भने आज संवाद, सहमति र सम्झौताका लागि पनि खुला भएर निस्केका छौँ । हामीलाई थाहा छ– स्पष्ट राजनीतिक लक्ष्य लिएर हिँडेको पार्टी एवम् नेतृत्वका लागि टेबुल, संवाद, सहमतिको विषय पनि क्रान्ति नै हो । क्रान्तिलाई भुलेको बखत मात्र भ्रमहरूले काम गर्छन् अन्यथा भ्रमको खेती घाटाको व्यवसाय हो भनेर सबैले बुझ्नु सही हुन्छ ।

१७ चैत, २०७७

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :