वैज्ञानिक समाजवाद निर्विकल्प बाटो

काठमाडौँ : विश्वमा करिब १५ सय वर्ष शासन गरेको सामन्तवादको अन्त्य हुन्छ भन्ने कल्पना त्यो समयमा सायदै गरिन्थ्यो किनकि सामन्तवादले कसरी जरा गाडेको थियो भने त्यो सत्ता र व्यवस्थाका विरुद्ध जोकोहीलाई बोल्न पनि निषेध थियो र बोल्नु धर्मका विरुद्ध जानुसरह थियो ।

विश्वभरि चलेका राष्ट्रिय स्वाधीनता र क्रान्तिकारी आन्दोलनहरूको बलमा सामन्तवाद हटेर विश्व–पुँजीवादमा प्रवेश गर्यो । चीन, रुस, जनगणतन्त्र कोरिया, भियतनाम, क्युबालगायत आफ्नैखाले समाजवादको अभ्यास गरिरहेका देशहरूको सिको गरेर पुँजीवादले अहिले विश्वमा एकछत्र राज गरिरहेको छ । तर पुँजीवाद दलाल पुँजीवाद र साम्राज्यवादमा पतन भएर यो व्यवस्था विश्वबाट असफल हुँदै गएपछि यसको विकल्पका बारेमा विश्वभरि बहस सिर्जना भएको छ ।

यसैबीच नेपालमा पनि लामो समयसम्म चलेको राजतन्त्रात्मक सामन्ती व्यवस्था र सात दशकदेखि सञ्चालनमा रहेको संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएपछि यसको विकल्पको खोजीका लागि बहस गर्ने जनमत बढेर गएको छ । संसदीय व्यवस्थामा सरकारहरू बदलिए पनि समाजको आर्थिक आधार नबदलिएका कारण व्यक्तिको परिवर्तन होइन, व्यवस्थाको परिवर्तनको विषय नेकपाले सबैभन्दा जोेडदार तरिकाले अघि बढाउँदै आएको छ ।

करिब १ महिनाअघि सरकारसँग शान्तिवार्ता गरेको नेकपा अब आफ्नो ध्यान चुनाव वा सरकारमा सहभागी हुनेतिर भन्दा पनि कस्तो व्यवस्था बनाउने भन्नेतिर केन्द्रित हुने देखिएको छ । नेकपा शान्तिप्रक्रियामा सहभागी भएलगत्तै राजनीतिक वृत्तमा विभिन्न खालका बहसहरू त सिर्जना भएका छन् तर नेपाल कम्युनिस्ट पार्टीले आफ्नो एउटै एजेन्डा नेपालको माटो सुहाउँदो आवश्यक व्यवस्था कस्तो हुनुपर्दछ भन्ने विषय जनताले फैसला गर्न पाउनुपर्ने भन्दै यो विषयलाई आमजनतामा लग्नुपर्ने बताएको छ ।

यसअघि सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता दिँदै नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपालमा वैज्ञानिक समाजवादको बहसले आकार ग्रहण गर्दै गएको बेला यसका पक्षपातीहरूबीच बृहत् कम्युनिस्ट ध्रुवीकरण आवश्यक रहेको बताएका थिए । नेपालमा ४ जनाले स्थापना गरेको कम्युनिस्ट पार्टी स्थापनाको ६ दशकमा ठूलो जनमत यसको वरिपरि केन्द्रित भएको भन्दै नेपालमा बृहत् कम्युनिस्ट ध्रुवीकरण सम्भव भएको उनको भनाइ छ ।

नेकपाका महासचिव विप्लवको विश्लेषणअनुसार नेपालमा राजनीतिक उपरिसंरचना बदल्ने नभई सम्पूर्ण आधार र उपरिसंरचना बदल्नुपर्ने छ र यसो गरेको खण्डमा मात्र वर्तमान नेपालका सबैखाले समस्याहरू पार लाग्नेछन् । नत्र भने देश शक्तिकेन्द्रहरूको क्रीडास्थल बन्ने र सरकार परिवर्तनको खेल चलिरहनेछ । त्यसकारण उपयुक्त समयमा देशका यावत् समस्याहरूको समाधानका लागि र देशलाई सही दिशा दिनका लागि नेपालमा बृहत्तर रूपमा कम्युनिस्ट ध्रुवीकरण अनिवार्य बनेको छ ।

यही विषयलाई केन्द्रमा राखेर नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी–माओवादी) लगायत ४ राजनीतिक पार्टीबीच छलफल भैरहेको छ र यी पार्टीको संंयुक्त रणनीतिक मोर्चा बनेको छ । सोमबार दुई पार्टीबीच भएको छलफलमा नेकपाका प्रवक्ता प्रकाण्ड र केन्द्रीय सदस्य मिलन तथा क्रान्तिकारी माओवादीका तर्फबाट स्थायी समिति सदस्य सीपी गजुरेल र इन्द्रमोहन सिग्देल सहभागी थिए । कम्युनिस्ट पार्टीहरूबीचको व्यापक ध्रुवीकरण र एकीकरण तथा रणनीतिक मोर्चाका आगामी कामहरूलाई थप प्रभावकारी बनाउने र व्यवस्थित गर्ने विषयमा छलफल केन्द्रित रहेको नेकपाका प्रवक्ता प्रकाण्डले बताएका छन् ।

नेपालको क्रान्ति, विश्व–परिस्थितिको मूल्याङ्कन, राजनीतिक एवम् फौजी कार्यदिशा, अन्तर्राष्ट्रिय पुँजीवादको वैज्ञानिक विश्लेषण, नेपाली समाजको दलाल पुँजीवादसँगको प्रमुख अन्तरविरोध र वैज्ञानिक दृष्टिबारे रहेका बुझाइहरूलाई छलफल, बहस र अध्ययनको प्रक्रियाद्वारा हल गर्ने उद्देश्यले नेपालका दुई क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीच संवाद भएको हो ।

दुई पार्टीबीच सोमबार भएको बैठकमा नेकपाका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले अघि सारेका दर्शनशास्त्रका क्षेत्रमा द्वन्द्ववादको एक प्रमुख नियम विपरीतहरूबीचको एकत्व र सङ्घर्षको नियमलाई थप विकसित गर्दै सजातीय र घुलनशीलबीचको एकताका रूपमा पार्टीलाई बुझिनुपर्ने, राजनीतिक अर्थशास्त्रका क्षेत्रमा आजको साम्राज्यवादलाई उत्तरसाम्राज्यवाद भन्नुका साथै समाजवादी उत्पादनप्रणालीमा पार्टीले अघि सारेका आर्थिक सिद्धान्तहरू, नेपाली क्रान्तिको आगामी कार्यदिशा वैज्ञानिक समाजवाद र सामरिक कार्यदिशा एकीकृत जनक्रान्तिको अपरिहार्यता, समाज रूपान्तरणमा कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वदायी भूमिका, क्रान्तिकारी आन्दोलनमा नेतृत्व निर्माण र विकास एवम् नेतृत्वको भूमिकासम्बन्धी मुख्य सैद्धान्तिक बहसहरूबारे आफ्नो व्याख्यात्मक धारणा राखेका थिए ।

यस्तै क्रान्तिकारी माओवादीका तर्फबाट सहभागी सीपी गजुरेलले आफ्नो पार्टीको नीति, सैद्धान्तिक पक्षहरूबारे बुझाइ र नेपाली क्रान्तिको कार्यदिशाबारे आफ्नो पार्टीको धारणा राखेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीले एकातिर १९३६ को समय र आजको विश्व–परिस्थितिमा व्यापक परिवर्तन आइरहेको तथा नौलो जनवादी कार्यक्रम लम्बिँदै जाँदा प्रतिक्रान्तिको पूर्वाधार बन्दै जाने चिनियाँ क्रान्तिको शिक्षालाई आत्मसात गर्दै नयाँ जनवादी क्रान्तिका कतिपय कार्यभार क्रान्तिकै प्रक्रियामा पूरा गर्दै नेपाली क्रान्तिको राजनीतिक कार्यक्रम सीधै वैज्ञानिक समाजवाद हुने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :