नेकपा र क्रान्तिकारी माओवादीबीचको छलफल ध्रुवीकरणमा केन्द्रित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीचको छलफल पार्टी एकता र ध्रुवीकरणका विषयमा केन्द्रित रहेको जानकारी नेकपाका प्रवक्ता प्रकाण्डले दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीको कार्यदलका तर्फबाट पार्टी प्रवक्ता प्रकाण्ड र केन्द्रीय सदस्य मिलन तथा नेकपा (क्रान्तिकारी माओवादी) को वार्ताटोलीबीच छलफल भएको थियो ।

दुई पार्टीबीचको बैठकमा कम्युनिस्ट आन्दोलनका कार्यभार, दुवै पार्टीले अङ्गीकार गरिरहेका सैद्धान्तिक, वैचारिक, राजनीतिक र सङ्गठनसँग सम्बन्धित धेरै विषयमा निकटता देखिएको र कतिपय विषयमा साझा बुझाइसहितको समझदारीसमेत कायम भएको तथा दुई पार्टीबीचको एकता र सहकार्यलाई अगाडि बढाउन आजको बैठक महत्वपूर्ण भएको पनि प्रकाण्डले बताएका छन् । उनले यस विषयमा कतिपय सैद्धान्तिक र राजनीतिक विषयमा दुवै पार्टीका प्रमुखसहित छलफल गरी ठोस सहमतिमा पुग्ने समझदारी भएको पनि बताए ।

प्रकाण्डका अनुसार बैठकमा संयुक्त रणनीतिक मोर्चाबारे मोर्चाको अवधारणा र सङ्गठनात्मक संरचना एवम् नेतृत्व प्रणालीलाई विकास गर्दै नयाँ उचाइमा क्रियाशील बनाउने सहमति भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीले आफ्नो आठौँ महाधिवेशनबाट अघि सारेको विचार, नीति, कार्यदिशा र कार्यक्रम सम्बन्धमा नेकपा (क्रान्तिकारी माओवादी) का तर्फबाट राखिएका जिज्ञासाबारे स्पष्ट पार्दै प्रवक्ता प्रकाण्डले क्रान्तिकारी आन्दोलनको विकास र नयाँ पहलकदमीका लागि एकता र ध्रुवीकरणको आवश्यकताबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :