पुँजीवादी व्यवस्थाले देशलाई आत्मनिर्भर हुन दिँदैन : भुजेल

२१ औँ जेल ब्रेक दिवस मनाइयो

पुँजीवादी व्यवस्थाले देशलाई आत्मनिर्भर हुन दिँदैन : भुजेल

पोखरा : नेकपाकी केन्द्रीय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज उमा भुजेलले देशको उत्पादन र अर्थप्रणालीलाई कङ्गाल बनाउँदै बिदेशी सामान ल्याएर देशमा कमिसन खाने र विदेशीको गुलाम बनाउने काम पुँजीवादी व्यवस्थाले गरेको बताएकी छिन् ।

पोखराको अर्घौंचोकस्थित नमस्ते पार्टीप्यालेसमा आयोजित २१ औँ जेल ब्रेक दिवसमा भुजेलले यो व्यवस्थाले देशको अर्थतन्त्रलगायत सम्पूर्ण क्षेत्रलाई आत्मनिर्भर हुन नदिने पनि बताइन् ।

जनयुद्धका क्रममा ऐतिहासिक गोरखा जेलब्रेकको नेतृत्व गरेकी भुजेलले आफ्नो अनुभूति, भावना र योगदानसहित जेल ब्रेक गर्दै खुला आकाशमा पार्टी कमरेडहरूसँग हातेमालो गरेको अवस्था चित्रण गर्दै उत्पीडित वर्गलाई मुक्त गरेर वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्ने प्रतिबद्धताका साथ सही बिचार र सिद्धान्त बोकी अघि बढ्ने क्रममा आफूहरूमा त्यो अठोट र साहस उत्पन्न भएको धारणा राखिन् ।

जनयुद्धमा जेल ब्रेकको पनि ठूलो भूमिका रहेको भन्दै भुजेलले आफ्ना सहकर्मीहरूप्रति कृतज्ञता पनि व्यक्त गरिन् ।

भुजेलले श्रमिक जनताको सपना लत्याउँदै दलाल पुँजीवादी व्यवस्थाले जनतामा दैनिक समस्या थोपरिरहेकाले यो व्यवस्थाले गरेका गतिविधि र समस्याको जड सबै जनताले बुझ्नुपर्ने बताइन् । उनले चुनावमा काङ्ग्रेस, एमालेलगायत पार्टीलाई जिताएर समस्याको समाधान नहुने र नेकपाका महासचिव बिप्लव नै यो व्यवस्थामा गए पनि किसान, मजदुर र देशको समस्या समाभधान नहुने धारणा राखिन् । उनले असल मानिस पनि त्यहाँ पुगेपछि खराब हुने प्रस्ट पारिन् ।

भुजेलले सत्तानजिकका दलालहरू विकास निर्माणको नाउँमा भ्रष्टाचारमा लिप्त रहेकाले अहिलेको व्यवस्था हुनेखानेको व्यवस्था रहेको चित्रण गरिन् । उनले किसान, मजदुर, दलित र सम्पूर्ण उत्पीडित वर्गले सरल जीवनयापन गर्ने व्यवस्थाको परिकल्पना गर्नुपर्ने बताइन् । उनले महिला, गरिब, किसान, मजदुरलाई अधिकार दिलाउन र विदेशी हस्तक्षेपको अन्त्य गर्दै हरेक नागरिकले आफ्नो भाग्य आफैँ बनाउने बाटोमा लाग्नुपर्नेमा जोड दिइन् ।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीद्वारा आयोजित उक्त कार्यक्रममा गोरखा जेल ब्रेकर भुजेल र सन्जु अर्याललाई सम्मान गरिएको थियो ।

ममता सुर्खेतीद्वारा सञ्चालित कार्यक्रममा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्धु चन्द, केन्द्रीय उपाध्यक्ष धिरेन्द्र उपाध्याय, सचिव उषा घर्तीका साथै गण्डक ब्युरोअन्तर्गतका जिल्लाका जिल्ला इन्चार्ज, सेक्रेटरी र विभिन्न जवस मोर्चाका ब्युरो सदस्य अतिथिका रूपमा सहभागी थिए । कार्यक्रम अनेमसङ्घ क्रान्तिकारी गण्डक संयोजक सोममाया विकको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :