नेकपा कञ्चनपुर जनजागरण अभियानमा

नेकपा कञ्चनपुर जनजागरण अभियानमा

महेन्द्रनगर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुर पार्टीको विचार, धारणा एकीकृत जनक्रान्तिको कार्यदिशालाई जनतामाँझ पुर्याउन निरन्तर जनजागरण अभियानमा जुटिरहेको छ । चैत ९ गतेबाट शुरु गरेको यो अभियान सोमबार ८ औँ दिनसम्म पुग्दासम्म १२ वटा जनसभा भइसकेको नेकपाले जनाएको छ । जनसभाहरू मार्फत जनतालाई जनजागृत गर्ने कार्य भइरहेको कञ्चनपुर जिल्ला इन्चार्ज रमेश नेपाली ‘जीवन’ ले बताएका छन् ।

कञ्चनपुर जिल्ला इन्चार्ज जीवनका अनुसार सरकार र पार्टीबीचको वार्ता प्रक्रिया अघि बढिसकेपछि पार्टीका क्रियाकलापलाई तिब्र रुपमा बढाइरहेको छ । पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने बताएका छन् । देशमा बढ्दै गएको भ्रष्टाचार, कालोबजारी, महंगी र दलालीको विरोध गर्दा सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको स्मरण गर्दै सरकारले प्रतिबन्ध हटाएपछि आफ्नो पार्टी वार्तामा आएर राजनीतिक समस्याको समाधान शान्तिपूर्ण रूपमा गर्न सहमत भएको उनले बताए । केही मान्छेहरू नेकपा सरकारमा जाँदैछ, केपी ओलीसँग पार्टी एकता गर्दैछ भनेर भ्रम सिर्जना गरिरहेको भन्दै त्यस्ता भ्रमपूर्ण अफवाहको भण्डाफोर गर्नुपर्ने बताए । उनले जोड दिँदै भने हाम्रो पार्टी संसदीय व्यवस्था मानेर सरकारमा कुनै पनि हालतमा जाँदैन । आफ्नो पार्टी देशको व्यवस्था छान्ने अधिकार जनतालाई दिनुपर्छ भन्ने पक्षमा रहेको बताए ।

जनजागरण अभियान मार्फत कञ्चनपुरका विभिन्न क्षेत्रहरूमा जनताका समस्या सुनुवाई र समाधान गर्न पहल गर्ने, विभिन्न जनवर्गीय संगठनहरूमा संगठित गर्ने कार्य गरिरहेको र अभियानकै बीचमा जिल्लाको जिल्ला बैठक, अगुवा कार्यकर्ता भेला, प्रशिक्षण, अखिल नेपाल महिला संघ, युवा संगठन, अखिल क्रान्तिकारी, राष्ट्रिय दलित मोर्चा लगायत आठ वटा नगर कमिटीका बैठक सम्पन्न भएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :