गोयबल्सहरूका विरुद्ध

सञ्चारमाध्यम आवाजविहीनहरूको आवाज हो ।


तानाशाह शासक हिटलरको सञ्चारमन्त्री गोयबल्सको एउटा सूत्र थियो– सयपल्ट सत्यजस्तै गरी दोहो¥याऊ, असत्य पनि सत्य हो भन्ने भान पर्छ । वास्तवमै आज वर्गसमाजमा प्रतिक्रियावादी वर्गको स्वार्थरक्षाका लागि दलालहरूद्वारा सञ्चालित ठूला सञ्चारगृहहरूले जनताका आवाजहरू बन्द गराएका छन् र आफ्ना मालिकहरूको स्वार्थपूर्ति गर्ने गरी गोयबल्सलाई पनि फिक्का बनाइदिएका छन् ।
हिटलर र गोयबल्सहरू श्रमिक सर्वहारा वर्गका विरोधी विचारका प्रतिनिधि पात्रहरू हुन् । उनीहरू आफ्नो वर्गप्रति इमानदार भएकै कारण हिटलरजस्तो तानाशाहका विचारहरूलाई पनि जनपक्षीय भन्दै सयपल्ट दोहो¥याइरहेका थिए । आज हाम्रो समाजका हिटलर र गोयबल्सहरू जनताका आवाज बन्द गराइरहेका छन् र आफ्ना खोटा आवाज चर्कोचर्कोसँग फलाकिरहेका छन् । रातो खबरमाथिको निरन्तर आक्रमण नयाँ जामा लगाएका गोयबल्सहरूको घृणित हर्कत हो । गोयबल्स नकारात्मक बिम्ब थियो र उसले झूटको सहारा लिएको थियो । आज आफूलाई प्रजातन्त्र, लोकतन्त्र र न् यायका पक्षपाती भन्दै हिँड्ने गोयबल्सहरूले न्याय मारेका छन् र झूटलाई सत्यको पगरी गुथाइदिएर भ्रम छरेका छन् ।

आज सत्य र न्याय पनि किन्नुपर्ने अवस्था छ । सत्य प्राप्तिका लागि सञ्चालित वर्गसङ्घर्षमा उत्पीडित वर्गका हजारौँ–लाखौँ न्यायप्रेमीहरू लामबद्ध छन् र देश, जनता र वर्गका पक्षमा सम्झौताविहीन सङ्घर्ष सञ्चालन गररहेका छन् तर सत्ता, शक्ति र सञ्चारमाध्यममा पहँुच नहुनुको परिणामस्वरूप जनताले प्रदर्शन गरेका त्याग, शौर्य र बलिदानका गौरवगाथाहरू पनि ओझेलमा पर्ने गरेका छन् । जनताको आवाज ओझेलमा पर्नु भनेको अन्यायको राज बढ्नु हो । अँध्यारोको राज बढ्नु भनेको उज्यालोको भविष्य टाढिँदै जानु हो । न्याय र उज्यालोका पक्षपातीहरूले आँध्यारोको राज अन्त्य गर्न उज्यालोका पक्षमा सन्देश प्रवाह गरिरहनुपर्छ र उत्पीडितहरूले सञ्चालन गरेको सङ्घर्षका गाथा र सुस्केराहरूलाई सञ्चारका माध्यमबाट अभिव्यक्त गरिरहनुपर्छ । यसका लागि प्रभावकारी सञ्चारमाध्यम हुनु आवश्यक छ । यसले मात्र नयाँनयाँ गोयल्सहरूलाई पराजित गर्न सक्छ ।

सत्ता शोषकवर्गको हातमा रहेकै कारण महान् विचारक तथा योद्धाहरू कार्ल माक्र्स, लेनिन, माओ त्सेतुङलगायतले वैचारिक, राजनीतिकका साथै सञ्चार मोर्चासमेत समाल्नुभएको थियो । उहाँहरू पत्रकारसमेत हुनुहुन्थ्यो र सम्पादक पनि बन्नुभयो । सञ्चारमाध्यममा आबद्ध हुनु, व्यवस्थापकीय जिम्मेवारी पूरा गर्नु र सम्पादन मोर्चा समाल्नु एउटै उद्देश्यसँग सम्बन्धित पृथक महत्वका विषय हुन् । एउटा राम्रो स्तम्भ, लेख, समाचार, टिप्पणी र विश्लेषण लेख्न सहज छ तर निरन्तर, प्रतिकूलताहरूलाई अनुकूलतामा बदलेर सञ्चारमोर्चाको नेतृत्व गरिरहनु भीषण युद्धमा कमान्डरको भूमिका निर्वाह गर्नुजस्तै हो । सहज समयमा चमकधमकपूर्ण क्षेत्र देखेर सञ्चार क्षेत्रमा आकर्षित हुनेहरू धेरै हुन्छन् तर त्यसलाई वर्गसङ्घर्षको उद्देश्यसँगै लिएर निरन्तर लामबद्ध भइरहनु, नेतृत्व गरिरहनु र वर्गदुस्मनहरूसँग सम्झौताविहीन सङ्घर्ष लडिरहनु झनै चुनौतीपूर्ण विषय हो ।

एकीकृत जनक्रान्ति पूरा गर्ने मोर्चामा दृढ भएर उभिने क्रममा रातो खबरले दलाल सत्ताका विभिन्न निकायबाट खबरदारी सुन्नुपरेको र सहनु परेको छ तर हाम्रा लागि यो एउटा अवसर पनि हो, चुनैतीपूर्ण अवसर । बितेका अढाइ वर्षमा हामीले रातो खबरलाई माक्र्स नेतृत्वको जाइटुङ र लेनिन नेतृत्वका स्क्रा÷प्राब्दाको स्तरमा उठाउने र नयाँ सन्दर्भमा नयाँ जाइटुङ र स्क्रा/प्राब्दा बनाउने प्रयास गरेका छौँ । यही प्रयासस्वरूप रातो खबर प्रकाशनगृहले काठमाडौँमा बिहीबार छलफल कार्यक्रम आयोजना ग¥यो । नेकपाका स्थायी समिति सदस्य कमरेड सुदर्शन, पार्टी सल्लाहकार क. असारे काकादेखि लिएर गृहसँग आबद्ध व्यक्तित्वहरूले राखेका विचार अनि बहसमा सुझावका लागि तयार शुभचिन्तकहरूका धारणा सुन्दा हामी सही ठाउँमा छौँ र सही गन्तव्यमा यात्रा गरिरहेका छौँ भन्ने अनुभूति पनि भयो ।
कार्यक्रममा अतिथि तथा सहभागीहरूले माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओदेखि नेकपाका संस्थापक महासचिव पुष्पलाल र वर्तमान नेकपाका महासचिव विप्लवसम्म सबै पत्रकार, साहित्यकार र प्रायः श्रमजीवी वर्गबाट आएको स्रष्टा नेतृत्व रहेको विषय छलफलमा उठाउनुभयो । कमरेड सुदर्शनले वर्गसङ्घर्षमा सामेल पत्रकार सङ्गठक, प्रचारक, योद्धा र सङ्घर्षशील व्यक्तित्व हो भन्दा हामी जनपक्षीय पत्रकारहरूको छाती गर्वले ढक्क फुल्यो भने कमरेड असारे काकाले महासचिव कमरेड विप्लवले आफूले जस्तै पत्रिकाको हकर भएर वर्गसङ्घर्षलाई सघाएको इतिहास स्मरण गराउँदा आफूले पाएको जिम्मेवारी कम महत्वको छैन भन्ने बोध अझै उचाइबाट भयो ।

सञ्चारमाध्यम आवाजविहीनहरूको आवाज हो । आवाजविहीनहरूले आवाज गुन्जाउने माध्यम छापा, ध्वनि, विद्युत् तरङ्गलगायत धेरै विकास भइसकेका छन् । आजको युगलाई साइबरको युग र वर्गसङ्घर्षको नयाँ स्वरूपलाई साइबर वार भन्न थालिएको छ । त्यसैले रातो खबरले पनि केन्द्रीय प्रकाशनगृहका माध्यमबाट छापा र इन्टरनेट दुवै माध्यम प्रयोग गर्दै मोर्चा अघि बढाइरहेको छ । आफ्नो वर्गको पक्षपोषण गर्ने हतियारका रूपमा रहेको यो मोर्चालाई सफल बनाउन सबै जिम्मेवार निकायले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आवश्यक छ । यसका लागि समाचार बनेका घटनाबरे तत्काल सूचना उपलब्ध गराउँदा र लेख, रचना, सिर्जना र सङ्घर्षका विभिन्न पक्षसँग गाँसिएका विषय गृहमा तत्काल सम्प्रेषण गर्दा हाम्रो उद्देश्य सहज र सार्थक बन्छ ।

गोयबल्सले झूट्टा कुरा सम्प्रेषण गरेर श्रमजीवी वर्गको आन्दोलनलाई कमजोर पार्ने र आफ्नो तानाशाही शासन निष्कण्टक बनाउने षड्यन्त्र गरेको थियो । हामीले सत्य कुरालाई समयमै सम्प्रेषण ग¥यौँ भने यो समाजका सबैखाले गोयबल्सहरू असफल हुनेछन् र एकीकृत जनक्रान्ति सफलताको दिशामा तीव्र गतिमा अघि बढ्नेछ । दुस्मन वर्गले सर्वहारावर्गका विरुद्ध सञ्चालन गरेको एकीकृत हमलालाई कमजोर पार्न र समाप्त बनाउन हामीले पनि एकीकृत जनक्रान्ति तीव्र रूपले अघि बढाउनुपर्छ । यसका लागि जनसञ्चारलाई एकीकृत जनक्रान्तिको एउटा शक्तिशाली हतियार र मोर्चा बनाउनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :