काठमाडौंमा कडा खालको स्वाइन फ्लु फेला / २ जनाको मृत्यु

काठमाडौं / साउन १२ : केही दिनयता काठमाडौंमा कडा खालको स्वाइन फ्लुको संक्रमण बढेको पाइएको छ । शिक्षण अस्पताल महाराजगञ्जका आइसियू विभाग प्रमुख डा. सुवास आचार्यका अनुसार फ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा २ जनाको मृत्यु भइसकेको केहीको उपचार भैरहेको छ । संक्रमणपछि ग्रान्डी इन्टरनेशनल अस्पतालमा उपचारका लागि आएका उनीहरुको थप उपचारका लागि शिक्षण अस्पताल पु¥याइएको थियो  । उनीहरुको उपचारकै क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो । ग्रान्डी अस्पतालमा मात्रै अहिले स्वाइन फ्लुका ४ जना बिरामीको आइसियूमा उपचार भइरहेको बताइन्छ । फ्लुका बिरामीका कारण राजधानीका विभिन्न अस्पतालका आइसियूमा बिरामी बढ्ने क्रममा छन् । शिक्षण अस्पताल महाराजगञ्जका आइसियू विभाग प्रमुख डा. सुवास आचार्यका अनुसार बिरामीमा कडा खालको फ्लुको संक्रमण देखिएको छ । जसका कारण उपचार गर्दागर्दै २ जनालाई जोगाउन नसकिएको बताए । आचार्यले स्वाइन फ्लु बिरुद्धको भ्याक्सिन लगाउन आग्रह गरेका छन् ।

स्वाइन फ्लुका लक्ष्यणहरुः खोकी लागिरहने, घाँटी खसखसाउने, लामो समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने देखिनेबित्तिकै जाँच गराउनुपर्ने उनको सुझाव छ । स्वाइन फ्लु सरुवा रोग एक व्यक्तिबाट अर्कोमा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन–पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लुको शंका लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन डा. आचार्य सुझाउँछन् । अहिले आइसियूमा भर्ना भएर उपचार गराइरहेका बिरामीहरुलाई भेट्न आउने परिवार र आफन्तजनलाई भेट्न दिन सकेसम्म निरुत्साहित गर्नुपर्ने उनको धारणा छ । ‘होसियारी नअपनाउँदा चाँडै फैलिने भएकाले आइसियूमा राखिएका बिरामीका आफन्तहरु भेट्न नगएकै वेश हुन्छ’, उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :