सहिद र घाइतेका सन्तानको अभिभावकत्व लिन्छौँ : प्रकाण्ड

सहिद र घाइतेका सन्तानको अभिभावकत्व लिन्छौँ : प्रकाण्ड

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले देश र जनताका पक्षमा लड्दालड्दै आफ्नो जीवनको बलिदान गर्ने सहिदहरूप्रति उच्च सम्मान गर्दै सहिदका परिवार र घाइतेका सन्तानहरूको अभिभावकत्व ग्रहण गर्ने भएको छ ।

नेकपाका प्रवक्ता प्रकाण्डले महान् जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्म देश, जनता र वर्गका लागि बलिदान गर्ने सहिदका परिवारको दायित्व आफ्नो पार्टीले लिने बताएका हुन् । शनिबार काठमाडौँमा एकीकृत जनक्रान्तिका सहिद परिवार तथा घाइतेहरूसँग कुरा गर्दै प्रकाण्डले आफ्नो पार्टीले देश र जनताका पक्षमा लड्दालड्दै सहिद भएकाहरूको उत्तरदायित्व आफ्नो पार्टीले लिने बताए । सहिद तथा घाइतेका परिवारसँगको छलफलमा प्रकाण्डले आफ्नो व्यक्तिगत स्वार्थका लागि क्रान्तिकारी आदर्श त्याग्ने कल्पनासमेत नगरेको बताए ।

भेटघाट कार्यक्रममा सहिदका परिवारहरूले क्रान्तिको प्रक्रियामा आफ्ना परिवारका सदस्यहरूले बलिदान गरेको भन्दै क्रान्तिलाई पूर्णतामा पुर्याएपछि मात्रै सहिद र घाइतेहरूको उच्च सम्मान हुने बताएका थिए । यस्तै घाइते योद्धाहरूले आफूले सक्नेजति क्रान्तिका पक्षमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफूहरू घाइते भएकोमा पछुतो नलागेको बरु क्रान्ति पूरा होस् भन्ने अपेक्षा गरेको बताए ।

कार्यक्रममा गत २०७६ जेठ १२ गते काठमाडौँमा भएको प्राविधिक दुर्घटनावस भएको विष्फोटका क्रममा सहिद भएका सहिद कृष्णप्रसाद भण्डारी, ‘निरन्तर’ की जीवन सङ्गीनी पूर्णमाया डंगोल, सहिद दिपेन्द्र विश्वकर्माकी जीवन सङ्गीनी विना, सहिद प्रज्वल शाहीकी बहिनी कलसा शाही र घाइतेहरु हरि खड्का, सुरेन्द्र महर्जन, महेन्द्र तामाङ आदिले आ–आफ्ना अनुभूति र पार्टीलाई सुझाव राख्दै गर्दा कार्यक्रम भावबिहल भएको थियो र सबै नेता कार्यकर्ताहरु र उपस्थित सबैका आँखा रसाएका थिए ।

छलफल कार्यक्रममा नेपाल कम्यु्निस्ट पार्टीका केन्द्रीय सदस्य एवम् उपत्यका ब्युरो इन्चार्ज मिलनले सहिद परिवार र घाइतेहरुका पिडामा एकाकार हुँदै जिम्मेवारी र व्यवहारिक समस्याहरुलाई पार्टीले उचित ढंगले सम्बोधन गर्ने बताए ।

उक्त कार्यक्रममा रातो खबर प्रकाशन गृहका निर्देशक वसन्त श्रेष्ठ , काठमाडौँ जिल्ला इन्चार्ज शरद रसाइलीको सहजीकरणमा जिल्ला सेक्रेटरी राजेन्द्रको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :