नेपाली जनता र देशलाई आधार बनाएर तीन बुँदे सहमति गरिएको हो : प्रकाण्ड

नेपाली जनता र देशलाई आधार बनाएर तीन बुँदे सहमति गरिएको हो : प्रकाण्ड

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले आफ्नो पार्टी र सरकार बीच भएको तीन बुँदे सहमति नेपाली जनता र आफ्नो देशलाई आधार बनाएर गरिएकाले यसले नेपालको राजनीतिक आन्दोलनमा पहिलो उचाइँको सहमति भएको बताएका छन् ।

सञ्चारमाध्यमसँगको विशेष कुराकानीमा उनले यो तीन बुँदे सहमति नेपाली जनता र यो राष्ट्रलाई मुक्ति गर्ने नयाँ राजनैतिक अभियानको सुरुवात भएको पनि बताएका छन् ।

अहिलेको राज्यव्यवस्था र शासन व्यवस्थाले नै राष्ट्र र जनताको जीवनमा अकल्पनीय संकट ल्याएको भन्दै उनले त्यसको नयाँ ढङ्गको निकासमा पहल गर्नको निम्ति यो किसिमको राजनीतिक सहमति, राजनीतिक नीति र राजनीतिक वातावरण जरुरी भएको निष्कर्षसहित आफूहरुले सहमति गरेको दाबी गरे ।

नेकपा सचिवालय सदस्य समेत रहेका प्रकाण्डले अहिले देशमा भएको समस्याको समाधान आफूहरुले भनेको वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र हल गर्ने पनि उल्लेख गरे ।

उनले भने, ‘अहिलेको समस्या र यसको निकासको निम्ति नेपाल कम्युनिस्ट पार्टीले भनेको वैज्ञानिक समाजवादद्वारा हल गर्ने कि संसदवादी दलहरुले चलाएको संसदीय व्यवस्थाले हल गर्छ भन्ने कुरा जनतालाई रोज्न दिउँ र जनताले जे फैसला गर्छ, त्यो हामी पनि मान्न तयार हुन्छौँ । यसैलाई हामीले देशका समस्यालाई वार्ता, संवाद, जनतासँगको सहकार्यद्वारा हल गर्ने भन्ने अहिलेको सहमतिको मर्म हो ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :