राज्यप्रणालीको आमुल परिवर्तन जरुरी छ – नेता बास्तोला

राज्यप्रणालीको आमुल परिवर्तन जरुरी छ – नेता बास्तोला

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कन्चन’ले देशमा भएका विभिन्न खाले विकृति, विसङ्गती, राजनैतिक अस्थिरता र भ्रष्ट्राचार मौलाउनुको पछाडि राज्यप्रणाली नै जिम्मेवार रहेको भन्दै राज्यप्रणाली पूर्ण रुपले परिवर्तन हुनुपर्ने बताएका छन् । रातोखबर प्रकाशन गृृह प्रा.लि. र जनपत्रकार संगठन नेपालले ‘मानव अधिकारको रक्षा र सामाजिक उत्तर दायित्वका लागि जनपत्रकारिता’ नारासहित आजबाट शुरु गरेको आधारभूत पत्रकारिता तालिममा बोल्दै कन्चनले यस्तो बताएका हुन् ।

पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कन्चनले यो ब्यवस्थामा कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकाको बीचमा सन्तुलन नमिलेको बताए । उनले राज्यब्यवस्थाको परिवर्तनका लागि जनपत्रकारहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता तथा राष्ट्रिय जनअधिकार अभियान नेपालका अध्यक्ष एकराज भण्डारीले प्रेस स्वतन्त्रता नेपालको संविधानमा लेखिएपनि कार्यान्वयन नभएको भन्दै राज्यले प्रेस स्वतन्त्रतालाई बन्देज लगाएको बताए । संविधानमा मौलिक हकको ब्यवस्था गरिएको भएपनि राज्यले नै नागरिकको मौलिक अधिकार खोसेको र जसले राष्ट्रियताको कुरा उठाउँछ उसैलाई राजद्रोहको मुद्दा लगाएको भन्दै सत्तामा हुनेहरुले शक्तिको दूरुपयोग गरेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आर्चायले नेपालमा राज्यसत्ता बलियो भएको बेला प्रेसमाथि दमन हुने भन्दै राज्यले आफ्ना सबै क्रियाकलाप उजागर नहोस् भनेर संचारमाथि नियन्त्रण गर्न खोज्ने बताएका छन् ।

राजनीतिक विश्लेषक तथा बरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले जुुनसुकै राज्यले पनि प्रेसलाई बाँध्न खोज्ने भन्दै जनताको पक्षमा खडा हुने, माक्र्सवाद लेनिनवाद, र माओविचार मान्नेहरुलाई जनपक्षिय भन्नुपर्ने बताए । पत्रकारिता ब्यावसायिक हुने भनिएपनि पत्रकारिताले वर्गीय पक्षधरता लिने भन्दै वस्नेतले पत्रकारिताले उत्पीडित वर्गको आवाज बुलन्द गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले विचारको आधारमा कसैलाई भेदभाव गर्न नहुने भन्दै बैचारिक पक्षधरता राखेकै आधारमा जेल नेल हाल्न नहुने बताए । साथै उनले ठुला संचार माध्यमको मारमा साना संचार माध्यम परेको बताए ।

कार्यक्रमका अन्य अतिथिहरुमा नेपाल कम्युनिस्ट पार्टीका नेता लेखक तथा संस्कृतिकर्मी एवम् रातोखवर प्रकाशन गृहका पूर्व निर्देशक अनिल शर्मा, रातोखबर साप्ताहिककै पूर्व निर्देशक तथा लेखक बुद्धिजिवि गुणराज लोहनीको उपस्थिति रहेको थियो । रातोखबर प्रकाशन गृहका निर्देशक वसन्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनपत्रकार संगठनका केन्द्रीय संयोजक शेरबहादुर विकले स्वागत मन्तब्य राखेका थिए भने संचालन अम्बिका चन्दले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :