अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र यसको सार पक्ष

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र यसको सार पक्ष

जहा शोषण हुन्छ त्यहाँ संघर्ष हुन्छ, जहा दमन हुन्छ त्यहाँ विद्रोह हुन्छ भने झैँ पितृसत्तात्मक विभेद विरुद्ध “समान श्रमको समान ज्याला” भन्ने मूल नारा बोकेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको छुट्टै हमत्व रहेको छ । “१११ औँ अन्तर्राष्ट्रिय महिला दिवस तथा ८ मार्च” उत्सवको रुपमा अनाउन थालेको १११ वर्ष वितेको छ । गत वर्ष फागुन २५ गते परेको थियो भने यो वर्ष फागुन २४ गते परेको छ । यसलाई महिला दिवस अथवा नारी दिवस भनेर संसारका महिलाहरुले आ–आफ्नो शब्दमा मनाउँदै आएको देखिन्छ । महिला र नारी शब्दमा विभाजन हुनु पनि राजनैतिक कारण हो, यो नेपाली भाषाको पर्यायवाची शब्द हो । जसले जुन शीर्षकमा मनाए पनि फरक पर्दैन । यो उत्सव दिनको कुरा गर्दा यसको स्थापित कर्ता जर्मनकी एक महिला क्लारा जेड्कीनको नामसँग जोडिएको पाइन्छ । उनी एक शिक्षित र खान्दानी परिवारमा जन्मिएकी थिइन् । आफ्नो पारिवारिक वातावरण भन्दा पनि पर रहेर एउटा महिलाको मुद्दालाई अगाडि सारेर विश्वसामु आफ्नो योगदानलाई प्रचार–प्रसार गर्न सक्षम महिलालाई हामीले आत्मसात गर्नुपर्छ । महिलामाथि हुने गरेका हिंसा, बलात्कार, शोषण र दमन हिजोदेखि नै यथावत थियो भन्ने कुरा यी नै इतिहासले स्पष्ट पार्दछन् । क्लारा अन्तर्राष्ट्रिय समाजवादी महिला नेता पनि थिइन् । उनले आफ्नो राजनीतिमा पनि निकै उतार चढाव भोगेकी थिइन् । अन्तर्राष्ट्रिय स्तरमै आफ्नो ठाउँबाट महिलामाथि हुने असमान व्यवहारले यो मुद्दालाई विश्वमा पुर्याउनु थियो । युरोपको सामन्ती आर्थिक क्रान्तिको पतन पछि पुँजीवादले श्रमिक महिलामाथि गरेको शोषण, दमन नै पहिलो थियो । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको पृष्ठभूमिलाई फर्केर हेर्दा ठूलो चुनौतिलाई कुल्चिदै अघि बढेको पाइन्छ । यीनै मुद्दा महिला अधिकारको लागि अभियानको मूलनारा बनेर यो अवस्थामा आइपुगेको छ ।

लेखक : दाना केसी

हाम्रा सामु आईपुगेको १११औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण महिलाहरुमा शुभ–कामना व्यक्त गर्दछु । समाजमा महिला मान्छेको स्थान नगनिने अवस्था, चरम शोषण, श्रमप्रतिको हेपाहा प्रवृत्ति जस्ता कुराले गर्दा शुरुमा सन् १८८९ मा पेरिसबाट शुरुभएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस न्यूओर्कको एक धागोको कारखानाबाट “समान श्रमको समान ज्याला” भन्ने मूल नारामा सन् १८९० मार्च ८का दिन नै महिलाहरुको आवाज बुलन्द गर्न आन्दोलन कै रुपमा एकजुट भई यो दिवसलाई मनाइएको पाईन्छ । नेपालमा यो दिन मनाउन थालेको १९१० देखि हो । खासगरी आम श्रमिक महिलाको दाँजोमा महिला श्रमिकले विशेष किसिकले सम्मान पाउनु पर्ने माग हो । त्यो समयदेखि नै विश्वमा ८ मार्चलाई महिलाकोहरुको लागि उत्सवको दिन मानिंदै आएको छ । अन्तर्राष्ट्रिय स्तरबाट सम्पूर्ण महिलाहरुको लागि उठेको वास्तविक र सह्रानीय अभियान कारुणिक हुनु आफ्नै ठाउँमा छ । यो अभियानलाई नेपालको राजनीति र नेपाली महिलाहरुको जनजीवनसँग जोडेर हेरौं । नेपाली महिलाहरुले वैधानिक रुपमा आफ्नो अधिकारको खोजनीति गर्दा–गर्दा लामोसमयसम्म पितृसत्तात्मक राज्य भएको कारण उचित तरिकाले प्राप्त गर्न असफल भएको पाईन्छ । थोरै भएका नीतिलाई पनि कार्यान्वयन गर्न नसकेको अवस्थाले महिलाको जीवनमा समस्या देखिएको हो । महिला मुक्तिकालागि जस्ले जहाँबाट आन्दोलन गरे पनि सारा संसारका महिलाहरुकोलागि हो । तर नेपालको सन्दर्भमा भन्दा खेरी त झन् अति दुःख लाग्दा घटनाहरुले दिन प्रतिदिन महिलाहरुको जीवन धरापमा परिरहेको छ । खस्कदो राजनैतिक वातावरण नै यसको पराकाष्ट हो । किनभने महिलाहरुको जीवनमा असाध्यै खेलवाड भैरहेकोछ । यो समाजमा यति घिनलाग्दो घटनाहरु हुँदा र त्यसको सत्य–तथ्य छानविन नहुँदा नेपाली चेलीहरु आफ्नो जीवन सुरुक्षामा खतरा मोलिरहेको अवस्था छ ।

यो समयमा हामी महिला जातिहरुको ५ वर्षका बच्चादेखि लिएर घरपरिवारसँग बसेकी बुहारी ससुरालगायत परिवारका सदस्यबाट, विद्यालय जाने आउने गर्दैगर्दाका बालिकाहरुले अस्मीता लुट्ने देखि लिएर हत्या हुँदैछ । यस्ता पाशविक, दर्दनाक घटना हुँदा सम्म नर पिचास बलात्कारी र हत्यारा वर्षौ दिनसम्म पनि पत्ता लाग्न नसकेका घटनाले सधै मुटु दुःखीरहन्छ । उदाहरणः निर्मला पन्तको हत्यारा आजसम्म पनि पत्ता लाग्न सकेको छैन । भागरथी जस्ता जवानी छोरीहरुले आफ्नै भाइ दाइ भनाउदाहरुबाट बालात्कृत भई मारिनुपर्छ, सुस्मिता जस्ता सतिसावित्री बुहारीले घरकै ससुराबाट मारिनुपर्दछ, साना साना बालिकाहरु धुलोमाटोमा खेल्दै गर्दा बलत्कारको सिकार भई मारिनु पर्दछ । सदियौँ देखि समाजको महिलाहरुमा हेरिने नजर अहिले सम्म पनि उस्तै रहेको पाइए पछि हाम्रा मुद्धा अनि मागहरु कुन ठाउँमा थन्कीए ?, हाम्रा अधिकार काहाँ दबिए ? महिला अधिकारका कुरा गर्दा राष्ट्रपति नै महिला भएको देश हाम्रो तर उहाँले यी मुद्धाहरुलाई प्राथमिकतामा राखेर महिला मुुक्तिकोलागि काम गरेको खैत ? हामीले काठमाडौँको इट्टाभट्टातिर मात्र किन हेर्ने हाम्रो गाउँ–शहरमा हेरौ पुरुषहरुसँग सँगै गर्व (पेट) मा र पिठ्युमा दुबैतिर बाच्चा बोकेर पुरुषसँग बाराबर परिश्रम गरेको देख्छौ । उहाँहरुलाई आफ्नो पारिश्रमिकको कुरा गर्ने हो भने पुरुषको तुलनामा ठ्याक्कै ५० प्रतिशतले कम हुन्छ । यी सबै कुराको हिसाब किताब गर्ने हो भने यसको जस अपजस दुबै राज्यलाई जान्छ । किनभने देश सञ्चालन गर्ने मेरुदण्ड राजनीति हो । यस्ता कुराहरुमा ख्याल गर्नुपर्दछ । त्यसकारण राज्य सञ्चालन गर्ने व्यक्ति–संस्था निष्पक्ष, स्वच्छ छवीसहितको दुरदर्शी हुनु पर्दछ । व्यक्ति स्वार्थी भए पछि कहिले पनि जनताको मुद्दालाई हेर्न भ्याउदैन । देशमा समस्या दिन प्रतिदिन चुलिँदै गएको छ ।

महिलाका मात्र नभएर हरेक स्थानमा समस्या नै समस्या भएको देखिन्छ । नेपाली जनता, नेपालको राज्य सत्ता, राजनीति र नेपालीहरुको वास्तविक जीवनको वर्णन गर्दा जो कोहिले पनि १० वर्षे जनयुद्धलाई भुल्नु हुदैन, किनकि नेपाली जनताको जीवन १० वर्षे जनयुद्ध लगायत १९ दिने जनआन्दोलनसँग जोडिएको छ । यी संघर्षहरुले ठूलो भूमिका खेलेकाछन् । क्रान्तिमा हाम्रा महिला दिदी, बहिनीहरुले हरेक क्षेत्रबाट सहयोग मात्र होइन त्याग, तपस्या र बलिदान गरेको अवस्था होे । बर्षौ पिच्छे अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनु र महिला उन्मुक्तिको आन्दोलनको दिनलाई स्मरण गर्नु मात्र होइन अन्यायमा परेका महिला दिदी बहिनीहरुलाई न्यायकालागि हामीले कम्तिमा पनि आवाजमा आवाज थपिदिऔँ । निर्मला, उनको बलत्कार र हत्याले न्याय पाएको छैन, २०७५ श्रावण १० गते घटेको घटना आज सम्म बलात्कारी हत्यारा अन्वन रहेकोछ । साना–साना छ वर्षका नानीहरुको त्यहि तरिकाले बलात्कार र हत्या भएकोछ । यो कस्तो अपराध हो ! जो बलात्कारी र हत्यारा हो ऊ चाँही छाती फुल्लाएर हिडेकोछ यता पीडितलाई सिरझुकाउनु पर्ने किन ? यहाँ यस्ता हृदय विदारक घटनाले महिलाहरुको जीवन र इज्यत जोगाउन अझ कठिन भएको आभाष भएको छ । अव यसकालागि राज्यले पनि यी घटना विरुद्ध सशक्त अभियान चलाउनु पर्दछ । होईन भने फेरी हाम्रा अधिकार त्यति कै ओइलाउने हुन कि भन्ने डर छ । पीडालाई लुकाएर बस्न बाध्य भएका नेपाली समाजका श्रमिक महिलाहरुलगायत सम्पूर्ण महिलाहरुको लागि म आफ्नो तर्फबाट आवाजमा आवाज थप्न चाहान्छु । यो समयमा सबैलाई विकृति र विसंगति तिर धकेल्दै छ ।

मानवमा मानवता हाराउँदै गएको २१ औँ शताव्दीको राजनीतिले हामीलाई अधिकार र स्वतन्त्रताको भाग छुट्याउनुको सट्टा आफ्नै सुरक्षाको ज्ञारेन्टी दिन नसकेको अवस्थामा राज्यलाई फेरि हाम्रा प्रत्येक कदमका आन्दोलनले थप पृष्ठपोषण दिनु पर्ने देखिएको छ । किनकि महिलाका हरेक किसिमका मुद्दाका सुनुवाईको सबैभन्दा महत्व राज्यले दिनु पर्दछ यहाँ श्रमको असमानता त छँदैछ, तर हत्या र बलात्कारले सिमा नाघेको अवस्थाले सम्पूर्ण महिला जातिको जीवन अवस्था खतरायुक्त भएकोछ । राज्यका कोटामा बसेका सम्पूर्ण महिलाहरुलाई पनि हाम्रा आवाजमा आवाज बुलन्द गर्न र भाषण मात्र होइन कार्यक्षेत्रमा पुगेर सम्पूर्ण श्रमिक दुःखी महिलाहरुको कथा व्यथा बुझ्न आवश्यछ । वर्तमान परिप्रेक्षमा महिलाहरुको जीवन सुरक्षाकालागि महिलाको सुरक्षाको ग्यारेन्टी, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने नारालाई आधार बनाएर यो मुद्दालाई पूरा गर्न तिर लाग्यो भने हाम्रा आन्दनेलनले केही राहत महशुस गर्नेछन् । अन्यथा हाम्रा हिजोका महिला उन्मुक्तिकालागि आवाज उठाएका क्रान्तिकारी महिलाहरु जो हुनुहुन्छ : मंगलादेवी सिंह, कामक्षा देवी, शान्ता श्रोष्ठ, योगमाया जास्ता होनहार हाम्रा अग्रजहरुको अपमान गरेको ठहर हुनेछ । अन्तमा : १११ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको सम्पूर्णमा शुभ–कामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :