मकवानपुरमा सहिद सप्ताहको उद्घाटनसँगै ९ सदस्यीय कार्यसमिति गठन

काठमाडौँ : नेकपाको केन्द्रीय कार्यक्रम अनुसार मकवानपुर जिल्लाले सहिद सप्ताह कार्यक्रमको उद्घाटन गर्दै बागमती गाउँपालिकामा ९ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ ।

तत्कालीन समयमा माओवादीले वि.सं २०५२ फागुन १ गते जनयुद्धको घोषणा गरे लगत्तै फागुन १४ गते जनयुद्धका प्रथम सहिदको रुपमा दिलबहादुर रम्तेलले सहादत प्राप्त गरे भने फागुन २१ गते तत्कालीन झापा विद्रोहमा विभिन्न ५ सहिदहरूले सहादत प्राप्त गरेका थिए । यही ऐतिहासिक दिनलाई आधार मानेर फागुन १४ देखि २१ गतेको दिनलाई सहिद सप्ताहको रूपमा मनाउँदै आइरहेको छ ।

यही महत्वपूर्ण दिनलाई मध्यनजर गर्दै फागुन १४ गते नेकपा मकवानपुरले जिल्लाको पुर्वी भु–भाग बागमती गाउँपालिकामा सहिद सप्ताह कार्यक्रमको उद्घाटन गरेको छ । उक्त कार्यक्रमको सम्बोधन नेकपा मकवानपुर जिल्ला इन्चार्ज जमिनले गरेका थिए ।

सम्बोधनका क्रममा जमिनले हिजो सुखी नेपाली, समृद्ध नेपालको उज्ज्वल भविष्यको सपना बोकी देश र जनताका लागि सयौं, हजारौं कमरेडहरुले युद्धको रणमैदानमा रगत बगाएका थिए, आफ्नो ज्यानको बाजी थापेका थिए, बलिदान दिएका थिए र आज ती योद्धाहरूको रगतको मूल्य चुकाउने जिम्मा, सहिदहरुको अधुरो सपनालाई साकार बनाउने अभिभारा तपाईं हाम्रै काँधमा आएको बताए । उनले यसका लागि आम नेपाली एकजुट हुँदै, गोलबन्द हुँदै एकीकृत जनक्रान्तिको मार्गमा अघि बढ्न र दलाल संसदीय व्यवस्था खारेज गरी वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने महान् कार्यमा जुट्न आह्वान गरे ।

त्यसैगरी महान् जनयुद्ध र एकीकृत जनक्रान्तिमा सहिद हुनुभएका कमरेडहरुको सम्मानका साथ सम्बन्धित सहिद परिवारहरुसँग भेटघाट गर्ने, निराशाको आँधीले मडारिएको अनुहारमा नवीन आशाको विजारोपण गरी क्रान्तिमा पुनः प्रेरित गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशामा अग्रसर गराउने र सप्ताहको अन्तिम दिन सहिद परिवारलाई सम्मान गरी सहिद सप्ताह मनाउने तयारी गरेको कुरासमेत जानकारी गराए ।

सहिद सप्ताहको समुद्घाटन कार्यक्रमकै बीच बागमती गाउँपालिकामा ९ सदस्यीय कार्यसमिति पनि गठन गरेको छ भने उक्त कार्यसमितिको नेतृत्व लीलालाई दिइएको समाचारमा जनाइएको छ । बागमती गाउँपालिका सँगै मकवानपुर जिल्ला र समग्र पार्टीलाई मजबुत बनाउँदै लाने काममा नवगठित कार्य समितिले महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने आशा र विश्वासका साथ उक्त कार्य समितिलाई नेकपा मकवानपुरका तर्फबाट जिल्ला इन्चार्ज जमिनले बधाई तथा कार्य सफलताको शुभकामना समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :