जिल्ला इन्चार्ज फिल्टरलाई तत्काल बिनाशर्त रिहा गर : राजन

जिल्ला इन्चार्ज फिल्टरलाई तत्काल बिनाशर्त रिहा गर : राजन

म्याग्दी : नेपाल कम्युनिस्ट पार्टी धौलागिरी ब्युरोले पार्टीका मुस्ताङ जिल्ला इन्चार्ज फिल्टरलाई बिनाशर्त रिहा गर्न माग गरेको छ । ब्युरो इन्चार्ज राजनले शुक्रबार वक्तव्य जारी गर्दै जिल्ला इन्चार्ज फिल्टरलाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धिन पक्ष हुने चेतावनी दिएका छन् ।

राजनले वक्तव्यमा जिल्ला इन्चार्ज फिल्टरलाई राजनीतिक अभियानको सिलसिलामा म्याग्दीको मालिका गाउँपालिका–४ रूम गाउँबाट बिनाकारण गिरफ्तार गरेको भन्दै त्यस घटनाप्रति घोर आपत्ति एवम् खेद प्रकटसमेत गरेका छन् ।

वक्तव्यमा राजनले नागरिकका मौलिक अधिकार गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगार अलपत्र पारिएको भन्दै ‘अरूलाई अरू कामको पीर, घर ज्वाइँलाई खानकै पीर’ भनेझैं वली सरकार कम्युनिस्ट राजनीतिमा समर्पित नेता र कार्यकर्ताको गिरफ्तार, यातना र हुर्मत लिनमै बहादुरी ठानिरहेको बताएका छन् । उनले देश काण्डैकाण्डमा फसिरहेको भन्दै यो जनताको व्यवस्था नआउँदासम्म यो ब्रम्हलुट नरोकिने बताएका छन् ।

राजनले वक्तव्यमा भनेका छन्, ‘२०७७ फागुन १३ गते हाम्रो पार्टीका मुस्ताङ इन्चार्ज कमरेड फिल्टरलाई राजनीतिक अभियानको सिलसिलामा म्याग्दीको मालिका गाउँपालिका–४ रूम गाउँबाट बिनाकारण गिरफ्तार गरेको घटनाप्रति घोर आपत्ति एवम् खेद प्रकट गर्दछ । कम्युनिस्ट आन्दोलनमा समर्पित एक इमान्दार कमरेड फिल्टरको बिना शर्त रिहाइको माग गर्दछौं । अन्यथा त्यसबाट उत्पन्न परिस्थितिको जवाफदेही सम्बन्धित पक्ष हुनुपर्ने जानकारी गराउँदछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :