नेकपा डोल्पाद्वारा जिल्ला वैठकका निर्णयहरु सार्वजनिक

नेकपा डोल्पाद्वारा जिल्ला वैठकका निर्णयहरु सार्वजनिक

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी डोल्पाले शुक्रबार एक प्रेस वक्तव्य प्रकासित गरी जिल्ला समितिको भर्खरै बसेको वैककबाट पारित निर्णयहरु सार्वजनिक गरेकोछ । जिल्ला समिति डोल्पाका इन्चार्ज/सेक्रेटरी कपिल पाण्डेद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा बलत्कार, भ्रष्टाचार, अनियमितता तथा पार्टीमाथि लगाइएको प्रतिबन्धप्रति विरोध जनाएको छ ।

जिल्ला इन्चार्ज/सेक्रेटरी कपिल पाण्डेको वक्तव्यमा भनिएको छ, ‘भर्खरै सम्पन्न हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी डोल्पाको वैठकले समसामयिक विषयमा लिएका निर्णयहरुको सार्वजनिक जानकारीको लागि यो प्रेस वक्तव्य जारी गरिएको छ । २०५२ सालमा उद्घोष गरिएको महान जनयुद्धले यहि फागुन १ गने आफ्ना २५ बर्ष पूरा गरेर २६ औं बर्षमा प्रवेष गरेको छ । यो ऐतिहासिक अवसरमा जनयुद्धका महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै राज्यद्वारा वेपत्ता योद्धाहरुको स्मरण गर्न चाहन्छौं । घाईते अपाङ्ग योद्धाहरुप्रति सम्मान व्यक्त गर्दछौं र सहिद तथा वेपत्ता योद्धाका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं । दश बर्षको गौरवमयि विगत र तेह्र बर्षको कष्टपूर्ण शान्ति यात्रा एवम् विगत दुई बर्ष देखिको प्रतिबन्धका चुनौतिपूर्ण दिनहरुलाई साक्षि राखेर आम जनतामा हाम्रो पार्टी यो स्पष्ट गर्न चाहन्छ कि जनयुद्धको विघटन गर्ने तत्वहरु समय क्रममा आज आफै विघटित बन्दै गैरहेकाछन् । जनयुद्धको बिघटनमाथि स्थापित कथित लोकतान्त्रिक गणतन्त्र त्यो केवल पुँजीवादी गणतन्त्र हो र त्यसले जनताका हक, हित र अधिकारलाई कुनै पनि हालतमा सुनिश्चित गर्न सक्दैन भन्ने तितो सत्य पनि नाङ्गोरुपले प्रमाणित भएको वास्तविकता वारे थप स्पष्ट गर्न चाहन्छौँ । संसदीय प्रणालीको आन्तरिक संकटकारुपमा व्यक्त संसद् विघटनको घटनालाई मध्यावधि चुनाव या संसदको पूनःस्थापना भन्ने यथास्थितिवादी विकल्पद्वारा जनतालाई भ्रम दिन भैरहेको प्रयत्न वारे देशभक्त, प्रगतिशिल, जनपक्षीय एवम् क्रान्तिकारी मित्रहरुमा किसान–मजदुर, उत्पिडित तह र तब्काका जनताको वास्तविक सत्ता वैज्ञानिक समाजवादको स्थापना गर्ने बाटोमा अघि बढ्न हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।’

कपिल पाण्डेको वक्तव्यमा अगाडि भनिएको छ, ‘पछिल्लो चरणमा देशव्यापी सामाजिक अपराधका घटनाहरु, विशेषतः महिलाहरुमाथिको बलात्कारका हिंस्रक अत्याचारहरु बढिरहेका छन् । मानवताको लागि यो एक घोर कलंकको विषय हो । त्यसैगरी अन्धविश्वास र रुढिवाद सृजित घटनाहरु पनि ज्यादतिपूर्ण तवरमा बढिरहेका छन् । यसप्रकारका अपराधजन्य घटनाहरुलाई नियन्त्रण तथा निर्मुल पार्न राज्य र समाजको उत्तिकै दायित्व रहने गर्दछ । हाम्रो पार्टी त्यसखाले अपराधपूर्ण कार्यको घोर भत्र्सना गर्दै अपराधमा संलग्न व्यक्तिहरु कडा सजायँको भागिदार हुनुपर्छ भन्ने कुरा स्पष्ट गर्न चाहन्छौँ र पार्टीको तर्फबाट पीडित पक्षलाई न्याय दिलाउन एवम् त्यसखाले अपराधहरुलाई नियन्त्रण गर्दै निर्मुल पार्न गरिने प्रयत्नहरुलाई कमि नगर्ने प्रतिवद्धता जाहेर गर्दछौँ । राज्यका विभिन्न निकायहरुमा बढिरहेको घुष, भ्रष्टाचार र कमिशनखोरी अर्को एक समाजिक–राजनैतिक अत्याचारको रुपमा फैलिइरहेको छ । अझ त राज्य नै भ्रष्टाचारीहरुको संरक्षक, राजनैतिक नेतृत्व र कथित जनप्रतिनिधिहरु नै भ्रष्टाचारका मतियार हुनु वर्तमान नेपाली राजनीतिको विडम्बनापूर्ण नियति बनेको छ । अतः भ्रष्टाचारको अत्य हरेक सभ्य समाजको पहिलो शर्त हो भन्ने कुरालाई सम्बन्धित सबैमा आग्रह गर्दै कथित जनप्रतिनिधि र ठेकेदारको दोहोरो जिम्मेवारीमा रहेको व्यक्तिहरुका स्क्याभेटरहरु जिल्लामा सञ्चालित कुनै पनि निर्माण कार्यमा प्रयोग नगर्न र नगराउन सम्बन्धित सबैमा चेतावनीपूर्ण जानकारी गराउछौँ ।’

वक्तव्यको अन्यमा भनिएको छ, ‘हाम्रो पार्टीको पुनर्गठनका समेत ६ बर्ष वितिसकेका छन् । विगत दश बर्षे महान् जनयुद्धको बेला होओस् या वर्तमानको प्रतिबन्धित संकटपूर्ण घडिमा होओस् डोल्पाली जनताको तर्फबाट प्राप्त सहयोगप्रति जिल्ला पार्टी हार्दिक सम्मान व्यक्त गर्दछ । सहिदहरुको सपना र जनताको अधिकार हाम्रो सदैव मार्गदर्शन रहिरहने छ । पार्टीको तर्फबाट कहि कतै हुन गएका कमजोरीप्रति क्षमा याचना गर्दै एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको बाटोमा अविराम लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :