२६ औँ जनयुद्ध दिवस नवलपुर र पाल्पामा मनाइयो

२६ औँ जनयुद्ध दिवस नवलपुर र पाल्पामा मनाइयो

काठमाडौँ : दलाल सत्ताद्वारा प्रतिबन्धित जनप्रिय नेपाल कम्युनिस्ट पार्टी नवलपुरले ऐतिहासिक २६ औँ जनयुद्ध दिवस दर्जनौं नेता कार्यकर्ता र सयौँ स्थानीयको उपस्थितिमा कावासोती नगरमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा प्रहरी हिरासतबाट रिहा हुनुभएका जनपरिषद् नवलपुर जिल्ला प्रमुख विशाललाई अभिनन्दन गरिएको थियो ।

प्रमुख अतिथि ध्रुर्वले महान् जनयुद्धका बाँकी कार्यभार र महान सहिदहरुका अधुरा सपना पूरा गर्न एकीकृत जनक्रान्तिमा लामबद्ध भई दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरि वैज्ञानिक समाजवाद स्थापना गरे मात्र जनयुद्ध दिवस मनाउनुको सार्थकता हुने बताए । एक्काइसौं सताब्दीमा पनि नेपाली महिलाहरुलाई दलाल सत्ताले थिचोमिचो र अन्याय/अत्याचार थोपरिरहेकोले दिनहुँ बलात्कार, हत्या–हिंसा जस्ता जघन्य अपराध हुँदा पनि पीडितलाई न्याय दिलाउन नसकेको र वैज्ञानिक समाजवादमा मात्र मुक्ति सम्भव रहेको भन्दै अखिल नेपाल महिला संघ क्रान्तिकारी लुम्बिनी ब्युरो संयोजक ममताले आक्रोश व्यक्त गरिन् ।

महान जनयुद्ध, एकीकृत जनक्रान्ति लगायत सम्पूर्ण न्यायपूर्ण आन्दोलनका महान् सहिद, बेपत्ता घाइते/अपाङ्ग योद्धाहरुको अधुरो सपना जुनसुकै मुल्य चुकाउन परे पनि पूरा गरेरै छोड्ने भन्दै सेक्रेटरी शितलले कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा खुशियालीका साथ एक आपसमा अबिरयापन गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी नवलपुर जिल्ला इन्चार्ज ध्रुर्वको प्रमुख आतिथ्यता, अखिल नेपाल महिला संघ क्रान्तिकारी लुम्बिनी ब्युरो संयोजक ममताको आतिथ्यता रहेको थियो । यसैगरी जिल्ला सेक्रेटरी शितलको अध्यक्षता, गैंडाकोट सेक्रेटरी शैलेन्द्रको सञ्चालन रहेको कार्यक्रममा स्वागत मन्तव्य देवचुली नगर सेक्रेटरी संजयले राखेका थिए भने शुभकामना मन्तव्य युवा संगठन नेपाल नवलपुर जिल्ला अध्यक्ष अबिनाशले राखेका थिए ।

त्यसैगरी, नेपाल कम्युनिस्ट पार्टी पाल्पाले २६ औँ महान जनयुद्ध दिवसको अवसरमा शुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न गरेको छ । पाल्पामा आयोजित उक्त कार्यक्रममा जिल्ला पार्टीको विभिन्न तहका नेता, कार्यकर्ताहरूको उपस्थिति रहेको थियो भने सयौँ सङ्ख्यामा जनसहभागिता रहेको थियो ।

नेकपा पाल्पा इन्चार्ज प्रविणले जनयुद्ध दिवस मनाउनुको महत्वको बारेमा उल्लेख गर्दै आज नेपाली क्रान्तिले धक्का अवश्य खाएको छ तर क्रान्तिको प्रक्रिया नरोकिएको बताए । साथै एकीकृत जनक्रान्तिको दिशामा सम्पूर्णलाई गोलबद्ध हुन आह्वान समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :