नेपाल बन्दको पूर्वसन्ध्यामा सहिद परिवारसहित दुईजना गिरफ्तार

बुटवल : नेकपाले आयोजना गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा माघ ९ गते अर्घाखाँचीबाट सहिद परिवारका एकजनासहित दुईजनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सहिद परिवारलाई भेटघाट गर्न जानेक्रममा माघ ९ गते साँझ ६ बजे भूमिकास्थान नगरपालिकाको वडा नं. १० धनचौरबाट सहिद परिवारका सदस्य वीरबहादुर विक र उनीसँगै साथी गएका धनबहादुर मुखियालाई प्रहरीले अनावश्यक र बिनाकारण गिरफ्तार गरेको जानकारी जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन नेपाल लुम्बिनी ब्युरो संयोजक जया पौडेलले दिएकी छिन् । विक जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन नेपाल कपिलवस्तुका संयोजक हुन् भने मुखिया समाजसेवी हुन् ।

ब्युरो संयोजक पौडेलले विक र मुखियालाई तत्काल रिहा गर्न माग गर्दै सहिद परिवार र सर्वसाधारणलाई समेत गिरफ्तार गर्नु दुःखद् र निन्दनीय रहेको बताइन् । उनले महान् जनयुद्ध र जनआन्दोलनमा सहिदहरुको उच्च योगदान रहेको भन्दै आज दलाल राज्यसत्ताले सहिद परिवार र श्रमजीवी जनतामाथि दमन गरिरहेको पनि बताइन् । पौडेलले विक र मुखियालाई बिनासर्त ससम्मान तत्काल रिहा गर्न माग गरेकी छिन् ।

विक र मुखियालाई जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :