नेकपाको नेपाल बन्द सानदार ढङ्गले सफल, बन्दको देशभर असर

नेकपाको नेपाल बन्द सानदार ढङ्गले सफल, बन्दको देशभर असर

काठमाडौँ : आफ्नो पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध नेकपाले आजका लागि आह्वान गरेको नेपाल बन्द सानदार रूपले सफल भएको विभिन्न जिल्लास्थित हाम्रा संवाददाताहरूले जनाएका छन् । नेकपा स्रोतका अनुसार पार्टीका जिल्ला नेताहरूले प्रेस विज्ञप्ति जारी गर्दै ठाउँठाउँमा बन्द सफल भएको जनाएका हुन् ।

नेकपाका केन्द्रीय सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध नेकपाले आह्वान गरेको नेपाल बन्द लमजुङमा पूर्ण रूपमा सफल भएको नेकपा लमजुङले जनाएको छ । नेकपाका लमजुङ इन्चार्ज आक्रोश र सेक्रेटरी गौरवले शनिबार साँझ धन्यवाद विज्ञप्ति जारी गर्दै त्यहाँ बन्द पूर्ण रूपमा सफल भएको जानकारी गारएका छन् । विज्ञप्तिमा बन्द सफल बनाउन सहगोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिएको छ ।

यस्तै दाङमा पनि बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, व्यवसाय, कलकारखाना, उद्योग, शिक्षणसंस्था पूर्ण रूपमा ठप्प रहेका थिए भने जिल्लाका मुख्यमुख्य सहर तुल्सीपुर, घोराही, लमही, भालुबाङका बजारहरू प्रायः सुनसान देखिएका थिए । बन्दका क्रममा दाङको बन्द शान्तिपूर्ण रूपमा सफल भएको नेकपाले जनाएको छ ।

यसैबीच पाल्पा र रामेछापमा पनि नेपाल बन्द पूर्ण रूपले सफल भएको जनाइएको छ । पाल्पा जिल्लामा दिनभर सवारी साधन चलेनन् । बजार ठप्प रह्यो ।

रामेछापमा पनि बजारदेखि गाउँसम्म यातायातका साधन चलेनन् । अधिकांश बजार पनि दिनभर ठप्प रहे । मध्याह्नबाट प्रहरीले स्कर्टिङ गरी केही गाडी सेलेघाटसम्म पुर्याएको जानकारी आएको जिल्ला सेक्रेटरी विवेकले बताएका छन् ।

उता सिन्धुली जिल्लामा पनि नेपाल बन्द पूर्ण सफल भएको नेकपाले जनाएको छ । यसअघि नेकपा सिन्धुलीले पनि अन्य जिल्लामा झैँ नेपाल बन्दको पूर्वसन्ध्यामा मशाल जुलुस निकालेको थियो । जिल्लाका कमलाइमाई, दुधौली नगरपालिका, हरिहरपुरगढी, फिक्कल, गोलन्जोर, तीनपाटनलगायत गाउँपालिकामा पनि मशाल जुलुससहितको र्याली निकालिएको र एउटा र्यालीमा नेकपाका जिल्ला इन्चार्ज प्रगाढले सम्बोधन गरेको जनाइएको छ ।

यसैबीच जनकपुर ब्युरोअन्तर्गतका जिललाहरूमा पनि नेपाल बन्द सफल भएको नेकपाले जनाएको छ । बन्दको पूर्वसन्ध्यामा त्यस ब्युरोका विभिन्न ठाउँमा मशाल जुलुस निकालिएको थियो ।

यस्तै नेकपाले आज आयोजना गरेको नेपाल बन्दको प्रभाव धनुषा र महोत्तरीमा पनि राम्ररी परेको बताइएको छ । बन्द सफल बनाउन त्यहाँ शुक्रबार साँझ मशाल जुलुस निकालिएको थियो ।

धनुषा जिल्लाको मिथिला नगरपालिकामा आयोजित जुलुसमा सहभागीलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण शाहले फासिवादी सरकार र संसदीय व्यवस्थालाई अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना भएपछि मात्र श्रमिक–मधेसी जनताको मुक्ति हुने बताएका थिए । उनले जनताको बलबाट फासिवादी केपी वली सरकारलाई अपदस्त गर्नुपर्ने बताए । उनले राष्ट्रको ढुकुटी लुट्नका लागि संसद्वादीहरू सत्तामा गएर झगडा गरिरहेकाले यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद नै उपयुक्त विकल्प भएको बताए ।

यस्तै महोत्तरीको गौशालामा मधेसी राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा मशाल जुलुस निकालिएको थियो । मधेसी मुक्ति मोर्चाका तर्फबाट वर्तमानले जुलुसको नेतृत्व गरेका थिए । जुलुसमा एकीकृत जनक्रान्ति जिन्दावाद, फासिवादी केपी वली सरकार मुर्दावाद, सम्पूर्ण राजबन्दी रिहा गरलगायत नारा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :