अवैध हतियार लिएर चन्दा उठाउँदै हिँडेका डिल्लीराज शर्मा ‘लय सहनी’ नेकपाको साधारण सदस्यबाटै निष्कासित

अवैध हतियार लिएर चन्दा उठाउँदै हिँडेका डिल्लीराज शर्मा ‘लय सहनी’ नेकपाको साधारण सदस्यबाटै निष्कासित

काठमाडौँ : नेकपा रुकुम पश्चिमले पार्टी जिल्ला समिति सदस्य एबम युवा सङ्गठन नेपाल रुकुम (पश्चिम) का अध्यक्ष डिल्लीराज शर्मा ‘लय सहनी’ लाई पार्टीविरोधी गतिविधि गरेको निष्कर्ष निकाल्दै पार्टी साधारण सदस्यसमेत नरहेने गरी निष्कासन गरेको छ । पार्टीका जिल्ला इन्चार्ज चन्द्रले विज्ञप्ति जारी गरी बिगत एकडेढ वर्षदेखि निरन्तर अवैध हतियार लिएर पार्टी नीतिविपरीत चन्दा उठाउँदै आएको, पार्टी विधि, प्रक्रिया, पद्धति, प्रणाली, अनुशासनविपरीत चल्दै आएको, आर्थिक अवचलन गर्दै आएको ,पार्टीका छलफल बैठकमा अनुपस्थित हुने गरेको, सहयोगी, शुभचिन्तकहरूलाई धम्क्याउने–थर्काउने गरेको, चरम गुटबन्दी गर्ने गरेको, सहयोद्धाहरूमा अनावश्यक अन्तरविरोध पैदा गर्ने गरेको, कार्यक्षेत्रभन्दा बाहिर गएर अराजक काम गर्ने गरेकोलगायत विषयमा उनलाई कारबाही गरिएको जनाएका छन् ।

चन्द्रले जारी गरेको विज्ञप्तिमा उपरोक्त अभियोगहरूमा पार्टीले तीनतीनपटक अनुशासनको कारबाही गरेको र रूपान्तरणका लागि पार्टीले निकै मद्दत गरे पनि डिल्लीराज शर्मा रूपान्तरण हुनुको सट्टा झन् अराजक बन्दै आर्थिक अपचलनमा सक्रिय रहेको, विभिन्न सङ्घसंस्था, सहयोगी व्यक्तित्वहरूलाई धम्क्याउने, थर्काउने र हातहतियार देखाई आतङ्कित पार्ने गरेको, कार्यक्षेत्रमा दुई महिनासम्म नखटी अवैध हातहतियार खरिद गरी आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गई हतियार प्रयोग गरेर ज्यान मार्ने धम्की दिँदै आर्थिक सङ्कलनमा सहभागी भएको पुष्टि हुन आएको र पार्टीको नीतिविपरीत सामाजिक अपराधमा संलग्न भएकाले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको उल्लेख छ ।

विज्ञप्तिमा गत पुस २०–२१ मा भएको पार्टीको राप्ती ब्युरोको बैठकले निज डिल्लीराज शर्मालाई पार्टी साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको र निज डिल्लीराज शर्माले अपचलन गरेको पैसा र पार्टी नीतिबिपरित प्रयोग गरेको अवैध हातहतियार कब्जा गर्ने निर्णय गरेपछि उनी पार्टी सम्पर्कबाट फरार भएपछि पार्टीले खोजी जारी राखेको जनाइएको छ ।

पार्टीको यो कदमबाट अत्तालिएर आफ्ना कर्तुतहरू ढाकछोप गर्न यही माघ ८ गते प्रेस नोटमार्फत विचेत हुँदै बहुलट्ठीपूर्ण बर्बराहट गर्दै हिँडेको र नेतृत्वमाथि कपोलकल्पित, मित्थ्या आरोप ओकल्दै पार्टीबाट स्वतन्त्र रहेको नाटक मञ्चन गरेको विषयमा कुनै सत्यता नरहेको चन्द्रको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :