जो बाइडेनले शपथ लिनासाथ उल्ट्याए ट्रम्पका कतिपय निर्णय, साम्राज्यवादी अन्तर्राष्ट्रिय नीति भने उस्तै

जो बाइडेनले शपथ लिनासाथ उल्ट्याए ट्रम्पका कतिपय निर्णय, साम्राज्यवादी अन्तर्राष्ट्रिय नीति भने उस्तै

काठमाडौँ : रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई विस्थापन गर्दै सत्तारोहण गरेका अमेरिकाका डेमोक्र्याट प्रशासक जो बाइडेनले राष्ट्रपतिको जिम्मेवारी लिनासाथ यसअघि ट्रम्पले लिएका डब्लूएचओ, जलवायुसम्बन्धी पेरिस सम्झौता, आप्रवासीलगायत कयौँ निर्णयहरू उल्ट्याएर आफ्नो उपस्थिति देखाएका छन् तर साम्राज्यावादको अन्तर्राष्ट्रिय दोहन र दमन नीति भने जस्ताको तस्तै छ ।

जो बाइडेनले कार्यकालको पहिलो दिनमै कार्यकारी आदेश जारी गर्दै डब्लूएचओमा फेरि फर्कने, जलवायुसम्बन्धी पेरिस सम्झौतामा कायमै रहने, आप्रवासी नीतिमा नरम रहने नीति सार्वजनिक गरेर आफ्नो प्रशासनको उपस्थिति देखाउँदा यसअघिका प्रशासक ट्रम्पले गरेका निर्णय र नीतिहरू उल्टिएका हुन् । सर्वसाधारणको जीवनमा प्रत्यक्ष रूपमा फरक नपारे पनि बाइडेनको नयाँ निर्णयले केही अर्थ राख्ने विश्लेषकहरू बताउँछन् ।

बीबीसीका अनुसार कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘ती आदेशहरूमार्फत राष्ट्रपति बाइडेनले ‘ट्रम्प प्रशासनले पुर्याएको क्षति उल्ट्याउने मात्र नभई देशलाई अघि बढाउनेछन् ।’

बाइडेनले कोरोना भाइरसको महामारीसँग जुध्ने आदेश पनि जारी गरेका छन् । त्यस आदेशमा चार लाखभन्दा बढी अमेरिकीको ज्यान लिइसकेको कोरोना भाइरस महामारीसँग लड्ने विभिन्न उपायहरूमध्ये विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने उल्लेख छ । भाइरसविज्ञ डा. एन्थोनी फाउचीले यसै साता हुने डब्लूएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने, कोरोनाको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने, सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने, आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्ने गरी १०० दिने मास्क चुनौती अभियान थाल्नेलगायत छन् ।

जो बाइडेनले सन् २०१५ मा हस्ताक्षर गरिएको पेरि जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने, वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले दशकौँदेखि विरोध गर्दै आएको विवादास्पद परियोजना किस्टोन एक्सएल पाइप लाइन निर्माण रद्द गर्ने आदेश पनि जारी गरेका छन् ।

बाइडेनले यसअघि ट्रम्पले आप्रवासनसम्बन्धी लगाएको नीति नरम पारेका छन् । उनले जारी गरेको कार्यकारी आदेशले आप्रवासन नीति अब नरम हुने विश्लेषण गरिएको छ ।

ट्रम्पले लागू गरेको मुस्लिम प्रतिबन्धअन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने आदेश गरिएको छ । त्यस्तै ट्रम्पले मेक्सिकोसँगको सिमाना बन्द गर्ने गरी सुरु गरेको पर्खाल निर्माणकार्य बन्द गर्ने आदेश गरिएको छ ।

स्मरणीय छ, अमेरिकाको प्रशासनको नेतृत्व जुन पार्टीले लिए पनि उसको अन्तर्राष्ट्रिय दोहन र दमनको साम्राज्यवादी नीति भने फेरिएको छैन ।

एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :