नेपाल बन्द सफल पार्न नेकपा कञ्चनपुरको आह्वान

नेपाल बन्द सफल पार्न नेकपा कञ्चनपुरको आह्वान

काठमाडौँ : नेकपा कञ्चनपुरले पार्टीका केन्द्रीय सचिवालय सदस्य कञ्चनको रिहाइको माग गर्दै गिरुफ्तारीविरुद्ध यही माघ १० गतेका लागि आह्वान गरिएको नेपाल बन्द कार्यक्रम सफल पार्न आह्वान गरेको छ । जिल्ला सेक्रेटरी रविले जारी गरेको विज्ञप्तिमा सरकारी ज्यादतीको तीव्र निन्दा एवम् भत्र्सना पनि गरिएको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२०७७ साल पुस २९ गते दिउँसो ३ बजे हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य क. धर्मेन्द्र बास्तोला (कञ्चन) लाई सामाजिक दलाल फासिवादी केपी वली सरकारले बिनाकारण ललितपुरबाट गैरन्यायिक रूपमा गिरफ्तार गरेको छ । उहाँसँगै ब्युरो सदस्य क. विवेकलगायत नेता–कार्यकर्ताहरूलाई गरिएको गिरफ्तारीको घोर निन्दा एवम् भत्सर्ना गर्दछौँ । जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु ,कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यताको समेत धज्जी उडाउनु हो । यो निरङ्कुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति हो । यसखालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी, मानवअधिकारवादी, नागरिक समाज, आमनागरिकहरूलाई हामी विशेष अपिल गर्दछौँ । साथै हाम्रो पार्टीपङ्क्ति र श्रमजीवी जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न आह्वान गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘हामी केपी वली सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेताकार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात गर्न आग्रह गर्दछौँ । राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने बरु त्यसले एकपछि अर्काे उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य स्पष्ट गर्दछौँ । केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने चेतावनीसहित यही माघ १० गते आमहडतालसहित नेपाल बन्द कार्यक्रम भएकाले सहयोग गरिदिनुहुन सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, उद्योगी–व्यवसायी, बुद्धिजीवी, प्राध्यापक, मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकार, राष्ट्रसेवक कर्मचारी, शिक्षक, युवा विद्यार्थीलाई विशेष अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :