नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध दाङमा आज पनि प्रदर्शन

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध दाङमा आज पनि प्रदर्शन

तुल्सीपुर: नेपाल कम्युनिस्ट पार्टी तुल्सीपुर नगर समितिले बुधबार पनि पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताको गिरफ्तारीविरुद्ध प्रदर्शन गरेको छ ।

प्रदर्शनपछि आयोजित सभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी तुल्सीपुरका नगर इन्चार्ज नवीनले देश र जनताको प्रिय पार्टीका नेता–कार्यकर्तालाई अनावश्यक दुःख दिने कार्य सरकारले नरोके ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

जनयुद्धका मूल्य र मान्यतालाई बेचेर खाने, दलाली गर्ने, भ्रष्टाचारमा डुब्ने, जनताका विषयमा बोल्नेहरूलाई प्रतिबन्ध लगाउने केपी–बादल कम्पनीलाई ठूलो आन्दोलनको हुरीले बढार्नुपर्ने नवीनले बताए । उनले अबको आन्दोलन कोही व्यक्तिलाई प्रधानमन्त्री बनाउनका लागि नभएर यो दलाल पुँजीवादी व्यवस्थालाई हटाउन केन्द्रित हुने भएकाले सबै राजनीतिक दललाई एक भएर सङ्घर्षमा उत्रिन पनि आग्रह गरे । आन्दोलनको रक्षाका लागि नेपाल कम्युनिस्ट पार्टी कालकुट विष पिएर भए पनि लड्ने उनले बताए ।

नगर इन्चार्ज नवीनले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार माघ १० गतेका लागि घोषित नेपाल बन्द सानदार ढङ्गले सफल बनाउन आमजनसमुदायलाई अपिल पनि गरे । यसअघि पनि नेकपाले दाङका विभिन्न स्थानमा सरकारविरुद्ध प्रदर्शन गर्दै आएको छ ।

उक्त कार्यक्रमको सञ्चालन युवा नेता शरदले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :