नेपाल बन्द सफल पार्न नेकपा रोल्पाको आह्वान

नेपाल बन्द सफल पार्न नेकपा रोल्पाको आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले प्रेस विज्ञप्ति जारी गरी पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताहरूको सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले गरेको गैरन्यायिक गिरफ्तारीविरुद्ध पार्टी केन्द्रले घोषणा गरेको माघ १० गतेको नेपाल बन्दलगायत सङ्घर्षको कार्यक्रम सफल पार्न सहयोग गर्न रोल्पाबासीलाई आह्वान गरेको छ । पार्टी इन्चार्ज मानव र सेक्रेटरी विस्फोटले जारी गरेको विज्ञप्तिमा अर्को निर्णय नहोउन्जेलसम्मका लागि स्वेच्छिक आर्थिक सहयोग बन्द गरिएको पनि जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख क. धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत नेता–कार्यकर्ताहरूको सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले गरेको गैरन्यायिक गिरफ्तारीविरुद्ध पार्टी केन्द्रले घोषणा गरेको माघ १० गतेको नेपाल बन्दलगायत सङ्घर्षको कार्यक्रमलाई रोल्पामा पूर्ण रूपमा सहयोग गरी सफल पारिदिनुहुन शिक्षक, विद्यार्थी, कर्मचारी, पत्रकार, वकिल, बुद्धिजीवी, व्यापारी, यातायात व्यवसायीलगायत आमरोल्पालीहरूमा अनुरोध गरिन्छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तपाईंहरूले एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापनाका लागि गर्दै आएको स्वेच्छिक आर्थिक सहयोग अर्को निर्णय नहुँदासम्मका लागि रोल्पामा स्थगित गरिएको हुँदा आर्थिक सहयोग नदिन–नलिन यसै विज्ञप्तिमार्फत सम्बन्धित पक्षलाई सहर्ष जानकारी गर्दछौँ । हाम्रो पार्टीको नाम लिएर केही भिजिलन्तेहरूले आर्थिकलगायतको गतिविधि मच्चाएर पार्टीलाई बदनाम बनाइरहेको हुँदा त्यस्तालाई कडाभन्दा कडा कारबाही गर्न पार्टी सधैँ योग्य र तत्पर छ । साथै त्यस्ता गलत तत्वहरूवाट सचेत हुन सबैमा अपिल गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :